Wednesday, December 31, 2014

नयाँ वर्ष (कविता)

क्यालेन्डर चिथोरेर भित्तामा हेर
फेरी एउटा बिहानी उदाएको छ
फरक दिनको उस्तै बिहानी हो
या फरक दिनको नयाँ कहानी हो

सिरक भित्रैबाट हात तन्काएर
झ्यालका पर्दा उघारी पूर्वी आकाश हेरेँ
कुहिरोमा निस्सासिँदै सूर्य लुकेकै छ

क्यालेन्डरको बिहानीले न्यानो नहुने रहेछ ।

Tuesday, December 30, 2014

भाउ (कविता)

बोलाए हुन्थ्यो त
म हाजिर हुन्थे सेवामा
सम्झनै गरे हुन्थ्यो त
मुस्कुराउँदै आउँथे यादमा
तिम्रो र मेरो ईच्छा एकै भएपछि
गुनासो के रह्यो तिम्रो?

साथीहरू एक कप चियामा
मेरो घन्टौ समय किनिदिन्छन्
तिमी भने भन्छौ,
मेरो भाउ बढेको छ

Sunday, December 28, 2014

उज्यालो (कविता)

घामलाई अँगालेर कालो पछ्यौरी ओढेको
उ त्यो आकाशमा हेर  त
कति साना-साना ताराहरू छन्
राख्नेले एउटा एउटा गरेर
कति जतनले
समय लगाएर राखेको होला
यी नभएको भए
यो रात अझै कालो हुन्थ्यो होला है?

हामी पनि हाम्रा स-साना तिना क्षण
यादहरूमा टिपौं है
एकान्तमा यी याद टिल्पिलाउँदा
अलि आराम मिल्ने थियो


Popular Posts