Showing posts with label Travelogue. Show all posts
Showing posts with label Travelogue. Show all posts

Saturday, May 6, 2017

कति ठूलो धनकुटा

धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए ।
फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।' उताबाट स्वागत पनि भयो ।

काठमाडौं छाडेको भोलीपल्ट धनकुटा पुग्ने भइयो । धरानबाट माथी उक्लेपछि फोनमा सम्वाद भयो ।
तस्विरः रोशन परियार

हामी धनकुटा जान लागेका, धनकुटा बजार पो सानो छ त । धनकुटा त ठूलो पो रहेछ । हाम्रा लागि अनन्त धनकुटा बस्छन् । तर धनकुटाको कुन कुनामा भन्ने कहिल्यै सोचिएन । विदा परेर घर गएका रहेछन् । कार्यस्थल पाख्रीबास । हामी जाने धनकुटा बजार । भेट कसरी जुर्ने?

Monday, April 25, 2016

कल्लेरी डाँडामा घाम लाग्यो घमाइलो


कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग

"धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले  प्रस्ताव राखे । बाइकमा भन्ने सुन्ने बित्तिकै विना कुनै हिचकिचाहट हुन्छ भन्ने जवाफ पनि दिएँ । तर शुक्रबारसम्म पनि थाहा थिएन धादिङको कुन ठाउँ के का लागि जाने भनेर ।

जानु पर्ने ठाउँ रहेछ कल्लेरी । आदमघाटबाट झोलुङ्गे पुल तरेर लगभग १० किमी कच्ची बाटोमा फनफनी घुम्दै कल्लेरी पुगिने रहेछ ।

अनि कार्यक्रम रहेछ,  रङ्गकर्मीहरूले सहयोग जुटाएर बनाएको सामुदायिक भवनको उद्घाटन सँगै साङ्गितिक कार्यक्रम तथा नाटक मञ्चन ।

साथीहरूको साथ, कल्लेरीको प्राकृति, भौगोलिक सुन्दरता सँगै स्थानीयको साथले त्यहाँको कार्यक्रम एकदमै रमाइलो भयो । त्यो रमाइलो तस्वीरमा मज्जाले देखिन्छ ।

प्रमुख अतिथिका साथ रङ्गकर्मीहरू
बायाँबाट क्रमशः जिवेश रायमाझी, प्रविण खतिवडा, सपना चौधरी, प्रभास, गुञ्जन दिक्षित, कालीप्रसाद बासकोटा, लक्ष्मी बर्देवा, केदार श्रेष्ठ, मणिराम पोखरेल, रेणुका कार्की, लोकेन्द्र लेखक, परिक्षा लामिछाने, सञ्जिव खतिवडा, राज शाह, दिलिप रानाभाट, सागर लामिछाने

Sunday, June 15, 2014

ककनी टू नगरकोटः ऐतिहासिक टुइट पदयात्रा

अर्जेन्टिनामय भक्तपुर !
नम्रता र कविता
साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । तर विश्वकप नहेरी रातभरि सुतिसकेपछि शनिवार दिनभरि के गर्ने भन्ने प्रश्नले गिँज्याइरहँदा हाइकिङ जाने नै निर्णय गरियो । शनिवार बिहान ६.११ बजे विजय (@bzaydhital) ले फोन गर्दा उठिसकेको थिएँ । सल्लाघारी चोकमा चाँगु जाने गाडी चढ्नका लागि पहिले नै विजय र मेदिनी(@kbtdhal) पुगिसकेका रहेछन् ।
त्यहाँ कुर्दाकुर्दै अर्का पुराना साथी राजु (@dah_raj) पनि भेटिए । गाडी कुर्नु भन्दा अगाडी हिँड्नु उपयुक्त हुने प्रस्तावमा समर्थन जुटेपछि हामी चार अघि लाग्यौं । भक्तपुरको प्राचिन आर्किटेक्ट र विश्वकपको ज्वरो सँगै झुन्डिएका विभिन्न देशका झन्डाहरू हेर्दै डेकोचा पुगियो । चाँगु जाने गाडी चढ्ने बित्तिकै थप तीन टुइटे सिजन (@cjan_05), नम्रता (@wakil_sahiba) र सामना (@samanagotame) भेटिए । बस उकालो लाग्दै जाँदा बस भित्र रमाइलो पनि बढ्दै थियो । महिला सिटमा पुरुष बस्नु र राजुले सिट नपाउँदा चित्त दुखेको थियो, धन्न अपाङ्ग सिट खाली भयो र बस्न पाए । अँ साँच्ची राजुको पुरानो हेन्डल rara_dd का कारण अझै पनि धेरैले उनलाइ राजुदिदी भनेर चिन्छन् । त्यो कुरा लिएर जिस्काउँदा राजु जहिलेपनि हाँसेर रिस दबाउँछन् ।


Saturday, March 23, 2013

I Miss Gali ~ आई मिस गाली !

देश छोडेको लगभग एक महिना पुगेछ । आफू मस्तराम मान्छे, जहाँ पुगेपनि रमाउन सक्ने भएकाले रमाइएकै छ । फेरी संसार पहिले जस्तो ठूलो रहेन । मात्र केही घन्टाको समयान्तरले पारेको अप्ठेरो बाहेक भेटघाट, गफगाफमा खासै समस्या परेको छैन । फेसबुक, टुइटर, स्काइप, भाइबर, काकाओ, व्हाट्स एप लगायत विभिन्न माध्यमहरूबाट कुरा गर्न मनलागेका मान्छेहरू भेटिएकै छन्, गफ हाँकिएकै छ । यतापनि चिनाजान बढेपछि जिन्दगी सजिलो भएको छ । सबै सँग रमाइलो  गरिन्छ र सँधै खुशी रहने मान्छेको रूपमा चिनिएको छु । कसैले रमाइलो गरेकोमा चित्त दुखाएका छैनन् । 

तर केही कुरा साँच्चिकै मिस हुन्छन् । यो भाषा र संस्कृति नमिल्ने ठाउँमा मलाई सबैभन्दा मिस हुने कुरा चाँही 'गाली' हो । ब्लगमा छाडा नलेखुँ भनेको तर विषयवस्तु नै त्यही भएपछि म विप बिना नै सबैकुरा भन्छु । चित्त नबुझाउन पाउनु हुन्न कसैले । 

बाटोमा एक्कासी पुरानो साथी भेटियो भने के भन्नुहुन्छ? हाम्रो त सबैभन्दा पहिलो जाने सम्वाद नै
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "

Wednesday, August 29, 2012

त्रिशुली किनार हुइँकिदाँ -४

त्रिशुली किनार हुइँकिदाँ -१
त्रिशुली किनार हुँइकिदाँ - २
त्रिशुली किनार हुँइकिँदाँ - ३ 

भन्दा अगाडी....

लगभग वेत्रावति पुग्नै लाग्दा एउटा एपाचे बाइकले बाटो छेकुँला झै गरी आयो । तिनजना एउटा बाइकमा, भर्खरका केटाहरू...शंका लाग्यो कतै केही गर्ने त होइनन् भनेर । आफ्नो भने नराम्रो बानी छ, बाटोमा साइड दिएन भने ओभरटेक गरी अगाडी पुगेपछि बाटो छेक्दै जिस्काउने । शायद केटाहरूलाइ कुनै ठाउँमा त्यस्तै गरियो कि...विपिनले फोटो खिँच्दै थिए, केटो नजिकै आएर केही भन्दै थियो । हेलमेटले पुरै अनुहार ढाकिएकोले उसले बोलेको केही पनि सुनिएन । म झ्याप्पै रोकिएँ, अनि बल्ल उसले भनेको सुनियो । उसको कुरा सुनेपछि एकचोटी त हाँसो नै उठ्यो आफू प्रति..बेकारमा नानाभातीँ सोचेकोमा । ति भाईहरू घुम्न निस्केका रहेछन्, अगाडी प्रहरीको चेकजाँच हुँदो रहेछ । पुल पारीसम्म लिफ्ट दिन भनेका रहेछन् । अब आफू कहाँ छु, थाहा छैन, कहाँ पुगेर बस्ने हो पनि थाहै छैन के भन्नु? ल बस न त भनेर लिएर हिँडियो उसलाई पनि । तर लगभग २०० मिटर गुडेपछि नै हाम्रो गन्तव्य पुगिसकेका थियौं । अर्थात वेत्रावती बजार पुगियो...



Thursday, May 10, 2012

बन्दः एक नजर

आजको बन्दमा जसरी भएपनि अफिस जाने जाँगर चल्यो । तर अफिस पनि कम्ती टाढा छैन, भक्तपुर सल्लाघारी देखि महाराजगञ्जसम्म १५ किलोमिटर भन्दा बढीको दुरी पैदल तय गर्नु पर्ने बाध्यता थियो । तैपनि क्यामेरा बोकेर हिँडे , बाटोमा देखिएका दृश्यहरू कैद गर्दै । लगभग ५ घन्टाको सल्लाघारी-कोटेश्वर-बानेशवर-मैतिदेवि-ज्ञानेश्वर-नक्साल-महाराजगञ्ज यात्राका क्रममा देखिएका केही दृश्यहरु

बन्द भन्ने थाहा हुँदा हुँदै किन आएको, फोड्दिउँ?
स्थानः सल्लाघारी

फुटपाथमा बाइक डोर्याउदाँ नि मौन ट्राफिक र प्रहरी दस्ता
स्थानः सल्लाघारी चोक

Sunday, May 6, 2012

त्रिशुली किनार हुँइकिँदाँ - ३





केही बेर रोमाकान्तको कोठामा विश्राम गरेपछि वासुदेवलाई चैं काठमाडौं फिर्ने छट्पटी हुन थाल्यो । माईक्रोको टिकटको व्यवस्था पनि भयो फोनबाट तापनि उनको मन थामिएन । माइक्रोस्टप सम्म नै पुगौं भन्न थाले । वासुदेवको अनुहार सँधै चिन्तित देखिन्छ । अब यो साँच्चिकै चिन्ता हो या उनको अनुहार नै त्यस्तो हो, त्यो त मैले भेउ पाउन सकिन । तर यो कुरा निस्कदाँ सबै हाँसे एकचोटी , सँगै बासुदेव पनि हाँस्न बाध्य भए । 

वासुदेव र धोलकलाई गाडी चढाएर हामी भने नुवाकोट दरबार तिर उक्ल्यौं । विदुरबाट ५ किमी उकालो लागेपछि दरबार पुगिँदो रहेछ । सालको जंगल विचैविचबाट घुमाउरो पक्की बाटो उकालो लागियो । मौसम पनि रमाईलो नै थियो, सालका बोटमा भर्खरै पलाएका हरिया पातहरूले मनमा ताजापन भर्दै थियो । अलि माथी पुगेपछि एउटा चौतारोमा रोकिँयौ हामी । त्यो ठाउँबाट विदुर न.पा. भित्रका लगभग सबै फाँटहरू देखिन्थ्यो । 



चारैतिर हरियाली थियो, स्वयम्भूको डाँडा चढेर काठमाडौको दृश्य हेरेको याद आयो । यस्तै जंगल देखिन्छ त्यहाँबाट पनि तर कुरूप सिमेन्टीको जंगल । यो चौतारोबाट देखिने जंगलको हरियाली भने मनमोहक थियो । 








Friday, May 4, 2012

त्रिशुली किनार हुँइकिदाँ - २

त्रिशुली किनार हुइँकिदाँ -१ बाट अगाडी


अघि बढ्नु अघि रोमाले फेरी सम्झाए, घुमाउरो बाटो छ अलि सावधान भएर चलाउनु । ३० -४० को स्पीड मात्र नि...खोइ किन यिनलाइ मेरो बाइक कुदाइ देखि डर लाग्या हो? मलाइ याद भएन । कुनै दिन सँगै डुलाएँ कि काठमाडूँमा सातो जाने गरी? सिधा बाटो, त्रिशुली किनारै किनार बाटो अघि बढ्यो । खुला बाटो, गाडी कम..तापनि विस्तारै गुडेँ म । यताउति हेर्दै विस्तारै..अचम्म के लाग्यो भने, यताका वासिन्दाले गज्जबले बाइक हुँइक्याउँदा रैछन् । हेल्मेट पनि लाउन नपर्ने, डर पनि नलाग्ने । 

हामी नेपालीको धेरैजसो घुमघाम धार्मिकस्थलमा गएर टुंगिन्छ । बाटोमा देविघाट पर्दो रहेछ । अब यहाँ नरोकिइ अगाडी जाने कुरै भएन । तादी खोला र त्रिशुलीको दोभानमा अवस्थित देविथान प्रशिद्ध नै छ हिन्दू धर्मावलम्वी माझ । 

Monday, April 30, 2012

त्रिशुली किनार हुइँकिदाँ -१




नयाँ बाइक किने देखि एउटै भूत चढेको छ, यात्राको । साथी विपिन सँग एउटा सल्लाह भएको थियो मौका मिल्ने बित्तिकै हिँडिहाल्ने । शुक्रवार जाने अनि आइतवार विहान फर्किने । शुक्रवार आउन लागेको होस सुद्धा थिएन आफूलाइ भने, बुधवार  सोधे विपिनले यसपाली कहाँ जाने भनेर । कहाँ जाने त आफूलाइ पनि थाहा थिएन, कता भन्नु । उनलाई नै जिम्मा दिइयो । नुवाकोट जाउँ भन्ने उनको प्रस्ताव आयो । तर शुक्रवार साँझ नै हाकिम साबको छोराको विहे भोज थियो, भुसुक्कै विर्सिएछ । त्यो झनै छुटाउन नहुने ।
शुक्रवार साँझ सम्म पनि जाने नजाने आफैं दोधारमा थिएँ । तर विपिनलाई भने जसरी पनि जानै पर्छ भनेर कर गर्दै थिएँ । विहानै ६ बजे उठ्ने, अनि साँझ ९ बजेसम्म काठमाडौं फर्किसक्ने योजना बन्यो ।

शनिवार विहान निद्रा खुल्दा ७ बजिसकेको रहेछ । मोबाइल हेरेँ, विपिनको फोन आइसकेको रहेछ । हतार हतार क्यामेरा झोलामा हाल्न खोजेँ, तर क्यामेरामा ब्याट्री एकदम कम रहेछ । अब चार्ज गर्नै पर्यो । चार्जमा राखेर चिया पर्खन थालेँ । अरू बेला विहान उठ्न नपाउँदै चिया खुवाउने घरका मान्छेहरू आजको दिन चै ढिलो गर्दैथिएँ ।

यताउति गर्दा ८ बजिसकेको थियो । विपिनलाइ फोन गरेँ, सुकेधारा भेट्ने कुरा तय भयो । हतार हतार लुगा फेर्न थालेँ, दिदी टुप्लुक्क आइ पुग्नु भयो । वहाँलाइ पनि कमलादी सम्म छोडी दिनु पर्ने भयो । रिसै उठ्छ कैले त, हतार भएकै बेलामा किन काम पर्छ मान्छेहरूलाइ । कमलादी घुमिवरी सुकेधारा पुग्दा ९ बजिसकेको थियो । अब विदुरसम्म जान कुन बाटो जाने भन्ने तय गर्नु थियो । मेरो दिमागमा जाँदा गल्छी हुँदै जाने र फर्किँदा ककनी हुँदै आउने भन्ने थियो । विपिनको सहमती भयो यसमा । यसपछि हाम्रो आतिथ्यता गर्ने साथीलाइ खबर गर्यौं ।


कलंकी कटेपछि नै बाईको ब्रेक थिच्न गाह्रो परेको महशुस भयो । विहान देखिको खाली पेटले ताकत हराएको हो कि ब्रेक नै बिग्रको हो छुट्टयाउन सकिएन । तर शिघ्र नै आफ्नो ईन्धन भर्नुपर्ने अवस्थाको ज्ञात चै भयो । बाइकको ट्यांकी पनि आधा मात्र भरिएको थियो । कलंकी अगाडी पुगेपछि एउटा पम्पमा पेट्रोल बाँड्न लाग्या रैछ । तर बत्ती नआएसम्म नदिने भए, १० मिनेट कुर्न पनि गाह्रो पर्यो मलाई, अगाडी पाइहालिन्छ किन कुर्नु आखिर? तर दुर्भाग्य अगाडी कतै पेट्रोल पाइएन । नौबिसेसमम पुग्दा पनि समस्या यही थियो, बत्ती नभएसम्म पेट्रोल नपाईने । नौबिसे पुगेर हल्का खाजा खाँदै थियौ, रोमाकान्तको फोन आईहाल्यो "कता छौ" भन्दै । अब साथी हामीलाई कुर्दाकुर्दै आत्तीए होलान् भनेर गफ लगाईयो, गल्छी पुगियो भनेर । तर आफ्नो झुटोमा आफै फसियो । साथीहरू त गल्छी पुगेर हामीलाइ कुर्दै रहेछन् । बतास झै कुदियो अनि त । ब्रेक बिग्रेको चिन्ता पनि रहेन ।  पछाडी बसेका विपिनलाई शायद डर पनि लाग्यो होला त्यती बेला । रोमाकान्तले पहिले नै भनेका रहेछन् "सबिनको कुदाइ हो, गल्छी पुग्न बेर लाग्दैन" अब साथीको कुरा राख्न भएपनि कुदाउन त पर्यो नि...खुला बाटोमा २०० सिसीको एभेन्जर कुदाइयो मज्जाले ।

Tuesday, March 27, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं- ३

बाटो नपाई, कुलेखानी काठमाडौं- १  तथा
बाटो नपाई, कुलेखानी काठमाडौं- २ बाट अगाडी


टन्न खाएपछि ज्यानले एउटै कुरा खोज्छ...निद्रा । धेरैलाइ भाते  निद्राले थिचिसकेको थियो । फाल्गुनको मौसम न धेरै चिसो न गर्मी..घाममा मस्तले पल्टेर सुत्न पाए हुने जस्तो लाग्दै थियो । होटल भन्दा लगभग एक किमीको दूरीमा रहेको खुला चौर याद आयो, पछिल्लो पटक आउँदा खुब रमाइलो गरिया थियो त्यहाँ । उतै जाने सल्लाह भयो । आखिर पुगियो त्यही ठाउँमा...पुगेपछि म चै अकमक्क भएँ । पहिला भन्दा निक्कै फरक थियो त्यो ठाउँ । सिमेन्टको बन्दरगाह जस्तो Ramp बनेको रहेछ । पहिले त्यहाँ पुग्दा त केही पनि थिएन । यति छोटो समयमा कसरी बन्यो अजिब लाग्दै थियो । खासमा जलाशयको पानी घटेको अवस्था रहेछ । पहिले पानी भरिँदा त्यो Ramp नदेखिएको रहेछ  । 


इन्द्रसरोवरलाइ हेरिरहेँ... एकछिन त नजर हटेन त्यो सुन्दर दृश्यबाट । आहा !! क्या गजब.. निलो पानीमाथी बतासले स्पर्श गर्दा तरंगीत छालहरू शर्माएर किनार तिर लाग्दै थिए । मानौ इन्द्रसरोवरमा पानी र बतासको रमाइलो जुहारी चल्दैछ ।



Friday, March 16, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं- २

बाटो नपाई, कुलेखानी काठमाडौं-१ बाट क्रमशः

सिस्नुको फोटो खिँच्दै थियौ, फोन आयो साथीहरूको । शायद हामी कतै हराएको होकी भन्ने चिन्ता हुँदै थियो उनिहरूलाइ । "के हो तिमीहरूको चाला कता गायब?" उतापट्टी लक्की थिए
'के हुनु नि, यहाँ गज्जबको ठाउँमा छन्, तिमीहरू आएनौ क्यार...अनि के चिन्ता गरिरा? दुवैजना केटा पो छम् त..हराए नि के चिन्ता?' जितेन्द्रले जवाफ फर्काए

अनि हामी फर्कियौं, उता कफि तयार भइसकेको थियो ।  साथीहरूले चुस्की लिँदै थिए । साथीहरूलाइ हाम्रो भन्दा पनि क्यामेराको प्रतिक्षा बढी रहेछ । पुग्ने बित्तिकै फोटो लिने क्रम शुरू भयो । शोक पनि अजिब अजिबका हुन्छन् मान्छेका, फोटो लिने पनि अजिबकै शोक हुन्छ । मान्छेलाइ राम्रो देखिनै पर्ने फोटोमा, कालो चश्मा, टोपी आदीको अत्याधिक प्रयोग भयो फोटो लिने क्रममा । फोटो लिने क्रममा साथी सितेश मज्जाले हाँसे । कालीले प्वाक्क भनिहाले...'हाँस्दा पनि कस्तो देखिएको...दाँतैमा हानु जस्तो' सबै गलल हाँसे ।
----

उकालो सकिएपछि ओह्रालोको पालो आउँछ, अब क्रम ओह्रालो लाग्ने थियो । हामी तीनवटा बाइक सवारी छजना । संयोग वा दुर्भाग्य के भन्ने, तिनैजना बाइक चलाउने चै दुब्लापातला, पछाडी बस्ने सवार चै तुलनात्मक रूपमा मोटा । मेरो भागमा परे ७५ केजी तौल भएका जितेन्द्र । ओह्रालो लाग्ने बित्तिकै म भने तिनवटै बाइकको अगाडी लागेँ । अगाडी लाग्नुको दुइटा फाइदा थियो, एक त आफ्नो गतिमा छिट्टो कुदाउन पाइने, दोश्रो धूलो खान नपर्ने । ओह्रालो धेरै बेर त थिएन, लगभग १५ मिनेटको बाटो पछि नै समथर बाटो आयो, तर यत्तिजेन्लमा मेरो हालत अलि खराब भइसकेको थियो । पछाडीबाट मोटोघाटो मान्छेले ठेल्दा त म बाइकको ट्यांकीमा नै पुगेँ, भने जितेन्द्र चै बाइकको अगाडी सिटमा, कहीले समथर बाटो आउला भनि हतार हुँदै थियो मलाइ । मैले चढेको सिबिजीको सिट त अलि 'Driver Friendly' थियो तर काली र लक्की चढेको पल्सर र सितेश र प्रबलको स्टनरमा के हालत भयो होला म अनुमान लगाउन सक्छु..बिचराहरू च्याप्पिए होलान्....

अगाडी सिधा बाटो देखेर मैले सँगसँगै पुगेका कालीलाइ भने..'रेस लाउनी हो?'
कालीको सिधा जवाफ आयो 'अँ रेस लाउने...तिमीनै लाउ आफै सँग'
बाटो त माथीबाट हेर्दा पो सिधा, राम्रो रहेछ । त्यहाँ पुग्दा पो थाहा भयो, कमै गाडी चल्ने बाटोमा ससाना ढुंगा थिए, जसमा तिव्र गति लिनु भनेको खतरा नै थियो। तथापी कुदियो अगाडी.. खाली बाटोमा विस्तारै चलाउन जानिएकै जो छैन । जाँदा जाँदै धेरै अगाडी पुगियो, पछाडीका साथीहरूको अत्तो पत्तो देखिएन । ठाउँठाउँमा साथीहरूलाइ कुर्दै अगाडी बढियो ।
आफू बाइक हाँक्ने भएपछि क्यामेरा जितेन्द्रलाइ जिम्मा लगाएको थिएँ, प्रोफेसनल क्यामेरा Manual mode मा नसिकेसम्म सकिँदैन । यही भएर पनि धेरै पलहरू miss भए..तथापि जितेन्द्रले क्यामेरा चलाउन सिकेरै छाडे ।


हुइकिँदै जाँदा एक्कासी पक्की बाटो देखियो । हामी दुवैलाइ थाहा थिएन बाटो कहाँ निर पुग्छ भनेर, दोबाटोमा पुगेर दोधारै भयो दायाँ लागने कि बायाँ लाग्ने भनेर, धन्न त्यहाँ दिशानिर्देशका लागि लेखिएको थियो । साथीहरूलाइ झुक्याउँ न भनेर काठमाडौं जाने तर्फ मोडिएँ म, ठ्याक्क त्यहीबेला काली आइपुगे...

'कता जान लागेको? त्यता गए त काठमाडौं पुगिन्छ...'

'अनि के त्त..घरबाट फोन आयो, हामी फर्किन लागेको' हास्दै भन्यौ हामीले । हाँसेर भनेकोले होला कसैले पत्याएन हामीलाइ...


त्यहाँबाट लगभग ३ किमी यात्रा पश्चात हामी कुलेखानी पुग्यौं । बाइकबाट झर्ने बित्तिकै सबैको एउटै कुरामा मत मिल्यो ... भात खानेमा । त्यही रहेको होटेलमा खाना खाने जुर्यो । खाना सँगै चुस्की नलिने कुरै भएन । यहाँ पनि संयोग कस्तो मिल्यो भने बाइक हाँक्ने तिनैजना नपिउने परे भने सवारी चै मजाले पिउने । अब यात्रा सुरक्षित हुने त भइहाल्यो । ढुक्क भए साथीहरू, साथीहरूले बोतलबाट गिलासमा खन्याउँदा आफू भने रित्तो गिलास जुधाउनु पर्ने बाध्यता पर्यो, किन रित्तो गिलास जुधाउनु भनेर मैले पनि बोत्तल उठाएँ...



'चियर्स.....' सबैले एकस्वरमा गिलास ठोक्काए.. मैले भने रित्तो बोत्तल । अब चियर्स गरेपछि घुट्को नलाइ टेबलमा फिर्ता राख्न नमिल्ने, त्यही बोत्तल घोप्टाएँ मुखमा....बोत्तलमा रहेको केही थोपा सोमरस मुखमा पर्यो,.. भोड्काको तितो स्वाद फैलियो मेरो मुख भरि.....
क्रमशः.....

Sunday, March 11, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं-१

कुलेखानी जलविद्युत आयोजनाको जलभण्डार अर्थात इन्द्रसरोवर निर्माण भएको दशकौं भइसक्यो । यत्रो वर्ष त्यहाँ पुगिएन तर यो वर्षको संयोग कस्तो पर्यो भने केही महिना भित्र नै तीन चोटी इन्द्रसरोवरको चिसो पानी छुने मौका पाइयो । साथी लक्की खतिवडा एक महिने छुट्टीमा फर्किएको बेला कतै लामो यात्रामा जानु पर्छ भनेर केही समय अगाडी देखि नै कालीप्रसाद दाइले भन्दै हुनुहुन्थ्यो, तर कता जाने भन्ने निर्णयमा हामी पुगिसकेका थिएनौ । अस्तव्यस्त जिवनशैलीबाट धेरैसमय निकाल्न सकिने पनि अवस्था थिएन, तसर्थ कतै नजिकै एकदिने यात्रामा जाने सोच बन्यो । शहरको भिडभाडबाट टाढा पनि हुने, अलि रोमाञ्चक पनि हुने भएकोले कुलेखानीसम्मको बाइक यात्रा हाम्रो रोजाइमा पर्यो ।


जाने त भनियो तर जाने के मा? भन्ने समस्या पर्यो हाम्रो अगाडी । केही  दिन अगाडीमात्रै कालीदाइको बाइक हराएको र मेरो पनि बाइक बेचिएकोमा सवारीसाधनको जोहो गर्नु पर्ने थियो । चारजनाका लागि दुइवटा अलि बढी ताकत भएको बाइक खोज्नुपर्ने भयो । साथी महेशलाइ फोन गरेँ, यही दिन उसको काम परेको रहेछ तथापी अर्को बाइक पाउने भएपछि दिन मञ्जुर भएँ । फेरी नजिकै रहेका साथी उज्जवललाइ अनुरोध गरेँ, उसले पनि सहर्ष बाइक दिन तयार भए..अनि लाग्यो साथी भनेका साथी हुन् । एकचोटी भन्दा सहयोगका लागि तयार हुन्छन्  । मलाइ त्यही भएर पनि यो जिन्दगीका रेडिमेड नातागोता भन्दा आफैले रोजेका नाताहरू बढी रूच्छन् ।
शनिवार विहानै कालीदाइ आफ्नो थोत्रो प्यासनप्लस पुटुटु पार्दै भक्तपुर आइपुगे । अनि भक्तपुरबाट दुइजना दुइवटा बाइक लिएर लाग्यौ कोटेश्वर तिर ।  समयमा निस्कने बानी कसैको हुँदैन, हामीले पनि जितेन्द्रबाट समयमा पुग्ने अपेक्षा चै गरेका थिएनौं । त्यही भएर निस्कनु अघि नै फोन गरेर गफ दियौं, हामी कोटेश्वर पुगिसक्यौं भनेर । शायद त्यो गफले असर गरेर होला त्यहाँ पुग्दा साथीहरू लक्की र जितेन्द्र पहिले नै पुगिसकेका थिएँ । अब आउने पालो रह्यो, साथी शितेशको.. हाम्रो पल्सर र सिबिजीको अगाडी उनको फुच्चे स्टनर पक्कै पनि ढिलो हुने नै भयो । वहाँ पनि एकछिन मै आइ पुगे । उनिसँगै अर्का अपिरिचत साथी प्रबल पनि थिए ।

कुलेखानी जाने  त जाने तर कताबाट जाने? फर्पिङ्ग माथिल्लो बाटो, दक्षिणकाली तल्लो बाटो वा थानकोटको विकटबाटो?? मैले जानेका यी तिनवटा बाटो थियो । कालीदाइले अर्को छोटोबाटो छ भन्दै थिए तर देखिएको चै थिएन । हामी बेग्ला बेग्लै आफ्नै तालमा हुँइकियौं कलंकीबाट पश्चिमतर्फ, मातातिर्थ हुँदै जाने भन्ने सम्म थाहा थियो तर कहाँबाट वायाँ लाग्ने हो थाहा थिएन । सतुंगलस्थित नेपाल टेलिकमको स्याटलाइट स्टेसन कटेपछि पो थाहा पाइयो धेरै अगाडी पुगियो भनेर...लक्कीको फोन आयो, हामी गुर्जुधारा फर्किनु पर्ने रहेछ । झन् साथी शितेश त थानकोट चेकपोस्ट नै पुगिसकेका रहेछन् ।


----xxx----

पक्की बाटो छोडेपछि नै बाटोको खल्ड्याङ्ग खुल्डुगं शुरू भइ सकेको थियो । हामीले उक्लनु पर्ने डाँडामा भर्खरै खोपिएको बाटो स्पष्ट देखिइ राखेको थियो  । एउटा रोमाञ्चक यात्राको उत्सुकता बढ्दै गइरहेको थियो । बाटो नयाँ भएकोले पनि होला खासै बिग्रिएको थिएन । तर पनि चुनौतिपूर्ण नै थियो । ससाना ढुंगा, धूलो, माटो, अप्ठेरो मोडहरूका बिच माथी उक्लिदै थियौ हामी । लगभग १५ मिनेटको यात्रा पछि अलि उँचाइमा पुग्यौ । 


उत्तर तर्फ हेर्दा नै मन लोभियो । सेता हिमालको क्रम यस्तो लाग्दैथ्यो मानौ प्रकृति हाँस्दै हामीलाइ स्वागत गर्न लाम लागेकी छ । तल पट्टी काठमाडौ उपत्यकाको उराठ लाग्दो खाल्डो देखिन्थ्यो ।  कतै केही नमिलेको तर सबै कुरा भएको सहर । जसरी बालकले आफूले चाहेको जति जम्मे खेलौना पाउँछ तर पाउने बित्तिकै कोठाभरी छरपस्ट छर्छ, त्यस्तै दृश्य देखिन्थ्यो यो काठमाडौं सहरको । 
साथीहरूले फोटो खिँच्ने रहर गरे, तर मलाइ थाहा थियो डाँडाको टुप्पो पुगेपछि यो भन्दा पनि मनमोहक दृश्य देखिनेछ  ।

Popular Posts