Sunday, May 6, 2012

त्रिशुली किनार हुँइकिँदाँ - ३





केही बेर रोमाकान्तको कोठामा विश्राम गरेपछि वासुदेवलाई चैं काठमाडौं फिर्ने छट्पटी हुन थाल्यो । माईक्रोको टिकटको व्यवस्था पनि भयो फोनबाट तापनि उनको मन थामिएन । माइक्रोस्टप सम्म नै पुगौं भन्न थाले । वासुदेवको अनुहार सँधै चिन्तित देखिन्छ । अब यो साँच्चिकै चिन्ता हो या उनको अनुहार नै त्यस्तो हो, त्यो त मैले भेउ पाउन सकिन । तर यो कुरा निस्कदाँ सबै हाँसे एकचोटी , सँगै बासुदेव पनि हाँस्न बाध्य भए । 

वासुदेव र धोलकलाई गाडी चढाएर हामी भने नुवाकोट दरबार तिर उक्ल्यौं । विदुरबाट ५ किमी उकालो लागेपछि दरबार पुगिँदो रहेछ । सालको जंगल विचैविचबाट घुमाउरो पक्की बाटो उकालो लागियो । मौसम पनि रमाईलो नै थियो, सालका बोटमा भर्खरै पलाएका हरिया पातहरूले मनमा ताजापन भर्दै थियो । अलि माथी पुगेपछि एउटा चौतारोमा रोकिँयौ हामी । त्यो ठाउँबाट विदुर न.पा. भित्रका लगभग सबै फाँटहरू देखिन्थ्यो । 



चारैतिर हरियाली थियो, स्वयम्भूको डाँडा चढेर काठमाडौको दृश्य हेरेको याद आयो । यस्तै जंगल देखिन्छ त्यहाँबाट पनि तर कुरूप सिमेन्टीको जंगल । यो चौतारोबाट देखिने जंगलको हरियाली भने मनमोहक थियो । 








डाँडामाथि साततले दरबार शानले उभिएको थियो । अपेक्षा गरेभन्दा दरबारको अवस्था राम्रो थियो ।  त्यो बेला यस्तो संरचना निर्माण गर्न कति दुःख भएको थियो, यो मेरो कल्पना भन्दा परको कुरा हो । राजसी ठाट र सुःखका लागि माटो, काठ र ईँटाको यो संरचना भित्र कति परिश्रम र सीप पोखिएको छ यो अनुमान लगाउने कुरा मात्र हो । ..


पृथ्वीनारायण शाहले प्रयोग गर्ने खाट र सन्दूक

माथि उक्लिँदै जादाँ चौथो तलाको एउटा कोठामा पृथ्विनारायण शाहको खाट देखियो । खाट साधारण नै थियो । 

सोही तल्लामा बार्दली पनि रहेछ, रमाईलो कुरा के भने सोही बार्दली हुँदै राजाका रानीहरूका दुइटा खोपीमा पुग्न सकिने रहेछ । दुईटा रानीका लागि बनाईएको दुइटा खोपीमा एउटा रानीलाई थाहै नदिई राजा सुटुक्क अर्को रानीकोमा पुग्ने सक्ने व्यवस्था मिलाएका रहेछन् । दुइ जोइका पोइ कुना बसी रोइ भन्थे, तर राजाले दुइ रानीको व्यवस्थापनका लागि राम्रै व्यवस्था गरेका रहेछन्  ।





पाचौं तलामा राजाको वैठक कोठा थियो, जहाँ भारदारहरूको भेला हुने, राजाले सुनुवाइ गर्ने गर्दा रहेछन् । छैठौं तला भने अँध्यारो पारिएको रहेछ । रोमाकान्तका अनुसार यो कोठामा राजद्रोह गर्नेहरूलाइ सजाय दिने काम हुँदो रहेछ । 'तिमी जस्ता चौधरी यो तला भन्दा माथी जान पाउँदैनौ , हामी जस्तो बाहुन चै यो भन्दा माथी जाने हो' भन्दै थिए रोमाकान्त । खासमा छैठौं तलाबाट माथी जाने ढोका अलि होचो थियो, झुकेर जानु पर्ने । मृत्युदण्ड दिनुपर्ने लाई यही ढोकामा झुकेको बेला टाउको छिनाल्ने गरिन्थ्यो अरे । अनि बाहुनलाई चै त्यो माथीको तल्लामा कालकोठरीमा कोच्चिने चलन रहेछ ।  

सातौ तल्ला चाहीँ अलि साँघुरो, भर्याङ्ग उक्लने बित्तिकै एउटा बोर्डमा नजर पर्यो । त्यो बोर्डमा सो दरबारको चारैतिरको झ्यालबाट देखिने ठाउँहरूको बारे लेखिएको थियो । साथै त्यहाँ पुग्ने मानिसले त्यो बोर्डमा थप सूचना थप्न भ्याइ सकेका थिए । आफ्नो हुने, हुन नसकेका जोडीको सूचनाहरू टन्नै लेखिएका थिए त्यसमा ।





यो उच्चतम तलामा साँघुरो ठाउँबाट चारैतिरबाट हावाका लागि झ्यालहरू रहेका थिए । पहिले मान्छे भेला गर्न यही ठाउँबाट विगुल बजाइन्थ्यो अरे, हावाले भने दरबारको माथिल्लो भागमा झुन्ड्याइएका धातुका पाताहरू बजाएर डरलाग्दो वातावरण श्रृजना गरिरहेको थियो । यो ठाउँमा बसेर चारैतिर अवलोकन गर्दा चै खुब मजा लाग्यो मलाइ 


पश्चिम तर्फको दृश्य

दक्षिणतिरको दृश्य

उत्तर तर्फको दृश्य


दरबारबाट ओर्लिएपछि रोमाकान्तले वेत्रावति जाने प्रस्ताव राखे । यहाँ सम्म पुगे पछि रसुवा पनि छुनै पर्यो । त्यही दिन काठमाडौ फर्किनै पर्ने थियो तर समय पनि थियो हामीसँग । रोमाको छोरालाई घरमा छोड्न चै आपदै पर्यो । बच्चा बाउलाई छोड्दै नछोड्ने । रोएर हैरान, मलाई मेरो भान्जो याद आयो । उ पनि बाइक भनेपछि भुतुक्कै हुन्छ, विहानै मलाइ उठाउँछ "मामा, बाइक, हुँइ.." भन्दै । कहिलेकाँही त लाग्छ, मेरो बाइक नहुने हो त भान्जोले मलाई चिन्न पनि नचिन्दो हो । तेल भर्ने बहाना गरी बल्ल तल्ल उम्कियौ ।














विपिनलाई रोमाले आफ्नो बाईकमा राखे "ब्रिफिङ्ग गर्नु छ" भन्दै । वेत्रावति सम्मको १५ किमीको यात्रा एक्लै पर्ने भइयो भन्ने बुझियो अनि । हामी फेरी लम्कियौं वेत्रावति तिर, बाटोमा एउटा अजङ्गको ढुंगा देखियो, मलाई देखाउँदै रोमाले फोटो खिँच्न जाउँ भन्दै थिएँ । तर ढुंगाको आकार देख्दा चै आँट आएन त्यसमा उक्लिन । बाटोमा त्रिशुलीको विद्युत परियोजनाको बाँध, पानी पटाउन बनाइएको कुलो र ठूल्ठुला पाइपहरू हेर्दै अगाडी लागियो । 







लगभग वेत्रावति पुग्नै लाग्दा एउटा एपाचे बाइकले बाटो छेकुँला झै गरी आयो । तिनजना एउटा बाइकमा, भर्खरका केटाहरू...शंका लाग्यो कतै केही गर्ने त होइनन् भनेर । आफ्नो भने नराम्रो बानी छ, बाटोमा साइड दिएन भने ओभरटेक गरी अगाडी पुगेपछि बाटो छेक्दै जिस्काउने । शायद केटाहरूलाइ कुनै ठाउँमा त्यस्तै गरियो कि...विपिनले फोटो खिँच्दै थिए, केटो नजिकै आएर केही भन्दै थियो । हेलमेटले पुरै अनुहार ढाकिएकोले उसले बोलेको केही पनि सुनिएन । म झ्याप्पै रोकिएँ, अनि बल्ल उसले भनेको सुनियो । उसको कुरा सुनेपछि एकचोटी त हाँसो नै उठ्यो आफू प्रति..बेकारमा नानाभातीँ सोचेकोमा । ति भाईहरू घुम्न निस्केका रहेछन्, अगाडी प्रहरीको चेकजाँच हुँदो रहेछ । पुल पारीसम्म लिफ्ट दिन भनेका रहेछन् । अब आफू कहाँ छु, थाहा छैन, कहाँ पुगेर बस्ने हो पनि थाहै छैन के भन्नु? ल बस न त भनेर लिएर हिँडियो उसलाई पनि । तर लगभग २०० मिटर गुडेपछि नै हाम्रो गन्तव्य पुगिसकेका थियौं । अर्थात वेत्रावती बजार पुगियो...

क्रमशः त्रिशुली किनार हुइँकिदाँ -४


No comments:

Post a Comment

Popular Posts