Sunday, January 28, 2018

गुनासो

"नयाँ आउने सरहरू लाइनमा बस्नुस्, लाइन् नमिच्नुस् त"
"यसका लागि नि लाइन बस्न पर्ने हो?"
"हिजो अपरेसन गरेकाहरू लाइनमा बस्न पर्दैन"
"बहिनी एकछिन है, म यहीँ छु"
"टोइलेट कता हो"
 बिसौं मान्छेहरूको भीडमा सयथरि कुराकानी । म भने एकोहोरो मोबाइलमा टुइटर हेरिबसको थेँ ।

"ओइ!"
टाढा कतै सम्बोधन भएको थियो, टाउको एक्कासी उतैतिर घुम्यो । कानले हैन, मनले आवाज चिन्यो । हो उही हो ।
भर्याङ छेउमा उभिएर हाँसिरहेकी थिइन् । मस्त मोटाइछे । कपाल लामो भएछ, रङ्गीन भएछ । तर चिनेँ ।

मैले उसको स्वरूप चिन्ने हैन रहेछ । मेरो मनले उसको उपस्थिती अनुभूति गर्ने रहेछ ।

"के हेरिराख्या? लभ पर्ला फेरि" पहिले पनि मैले एकोहोरो हेरिरहँदा यस्तै भन्थी ।


"बिहे भएकी सँग मेरो लभ पर्दैन मेडम" मैले झुटो बोलेँ । एउटै मान्छेसँग लभ फेरिफेरी पर्दैन त ।

"तलाइँ नचिनेको हो र?" उ मज्जाले हाँसी ।

"अनि के छ त? बिहे गरिस्"

"तँ जस्तो हो र?" उसलाइ त्यो प्रश्नको उत्तर चाहिएकै थिएन । मैले उल्टो कुरो गरेँ ।

खै किन गुनासो पालेर बसेको छु म? उसको जिन्दगी, उसको निर्णय । मलाई उसँग जिन्दगी गुजार्नु पनि थिएन, न त अपेक्षाहरू थिए । बिहे भएपछि साथीहरू साथी रहन्नन् भनेको सुनेको थिएँ, बिहे हुने भएपछि नै साथीहरू साथी रहेनन् । मित्रताको गहिराइ मैले नाप्न सकेनछु ।

आफूजस्तो अरू हुन्नन् । अरू आफूजस्तो हुन्छन् भनेर अपेक्षा राख्नु पनि हुन्न । र आफूजस्तो अरू भएनन् भनेर गुनासो पनि राख्नु हुन्न ।

"सानु!"
भर्याङतलतिरबाट आएको आवाजतिर उसको ध्यान मोडियो ।
परिचित अनुहार तर अपरिचित एउटा व्यक्ति भर्याङबाट माथि उक्लिँदै थियो ।

"म गएँ है" उसको उत्तरपनि नसुनि म फर्किएँ ।

म हिँडे कि त्यहाँबाट भागेँ? मलाई थाहा छैन ।

संसार गोलो छ, विपरित दिशातिर लागेको दुई मान्छेहरू एकदिन आमुन्ने सामुन्ने हुनपर्ने हुन्छ । भेट फेरि हुनेछ ।

शायद त्यो भेटमा गुनासो रहने छैन । नरहोस् पनि ।

जिन्दगीमा हिँडीरहनु पर्छ ।

No comments:

Post a Comment

Popular Posts