Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

Sunday, April 19, 2020

जन्मिना साथ मरेको एक कृषक

- लक्ष्मण गिरी
(तिलौराकोट, कपिलवस्तु


+२ पढ्ने ताकाको कुरा हो। क्यालेन्डरमा वि.स. २०५९ चैत्र थियो । १० कक्षासम्म कृषि पढेको थिएँ । सामान्य धान, गहुँ लगाउन भन्दा बेमौसमी तरकारी खेती गरे फाईदा हुन्छ भन्ने सोचेर घरकै वरिपरि ४ कठ्ठा खेतमा तरकारी खेती गर्न सुरिएँ । अलिअलि अनुभव, सीप, ज्ञान थियो तर पैसा थिएन । के गर्ने?

Sunday, January 28, 2018

गुनासो

"नयाँ आउने सरहरू लाइनमा बस्नुस्, लाइन् नमिच्नुस् त"
"यसका लागि नि लाइन बस्न पर्ने हो?"
"हिजो अपरेसन गरेकाहरू लाइनमा बस्न पर्दैन"
"बहिनी एकछिन है, म यहीँ छु"
"टोइलेट कता हो"
 बिसौं मान्छेहरूको भीडमा सयथरि कुराकानी । म भने एकोहोरो मोबाइलमा टुइटर हेरिबसको थेँ ।

"ओइ!"
टाढा कतै सम्बोधन भएको थियो, टाउको एक्कासी उतैतिर घुम्यो । कानले हैन, मनले आवाज चिन्यो । हो उही हो ।
भर्याङ छेउमा उभिएर हाँसिरहेकी थिइन् । मस्त मोटाइछे । कपाल लामो भएछ, रङ्गीन भएछ । तर चिनेँ ।

मैले उसको स्वरूप चिन्ने हैन रहेछ । मेरो मनले उसको उपस्थिती अनुभूति गर्ने रहेछ ।

"के हेरिराख्या? लभ पर्ला फेरि" पहिले पनि मैले एकोहोरो हेरिरहँदा यस्तै भन्थी ।

Sunday, September 25, 2016

हाकिम (कथा)

बाह्रखरी.कममा प्रकाशित, २०७३ श्रावण २२ शनिबार



बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक शिष्टता भनेको चाकरी हो भन्ने ऊसको मान्यता हो ।

Thursday, September 10, 2015

सोफाको लक्जरी

बिहान ६.३० बजे कक्षामा पुगिसक्नुपर्ने । अल्छीको काल म, अनि सँगै कक्षा लिने साथी पनि उस्तै । कक्षा शुरू भएको दोश्रो दिन मै दुवै मिलेर एकैचोटी निर्णय गरेका थियौं, बिहान नपढ्ने । साँझ ५.३० मा कक्षा शुरु हुन्छ, कार्यालय समय पछि ठिक्क हुने । घाटा एउटै । हरेक दिन हुने साथीहरूको रमाइलो जमघट छुट्ने भयो । तर केही दिन न हो भन्ने कुराले आफैलाई आस्वस्त पारेर हामी कक्षा लिँदै थियौं ।

आज कक्षा नहुने अरे भनेर हिजो थाहा पाउँदा खुब खुशी लागेको थियो । झटपट साथीहरूलाइ टुइटरमा डिएम गरियो । भोली ४ बजे आराधना क्याफे बागबजारमा भेटौं भनेर । सबैको सहमती पनि भएको थियो । आफ्नो ३.३० मै फुर्सद भइसकेको थियो । त्यै बेला ठ्याक्कै डाक्टर साहेबले फोन गरे । "यता त बबाल पानी पर्या छ, म त भिजेँ है । आज आइन्न ब्रो । "
अब पानी सँग भिडेर आउनुस् भनेर कर गर्नु भएन । तत्काल जुलु महाराजलाई फोन लगाइयो तर जवाफ उस्तै
"दाइ ठूलो पानी आउन लाग्याछ, आउन्न म त" । अब बाँकी ३ जना रहे । उनीहरू त आउलान् भनेर आश थियो ।

Tuesday, January 21, 2014

लमी (कथा)

चिसो सिरेटो, धुम्म आकाश, अनि आकाशबाट सिमलका रूवा जस्ता स-साना हिउँका थुङ्गाहरूको बर्सात... समय एकदम मनमोहक थियो । म भने माथि आकाशतिर हेर्दै  मुख खोलेर ती चिसा हिउँका थुङ्गाहरू आफू भित्र विलिन गर्ने कोशिश गर्दै थिएँ । कति सफल भएँ, कति असफल भएँ...तर अनुहार भरि चिसो हिउँको स्पर्श र छालाको ताप पाएर पग्लिएको हिउँको चिसोपनाले भित्रसम्मै ठिहिर्याइरहेको थियो । तर अचानक बादल झनै कालो भयो, टाढा कतै साइरन बजेको जस्तो सुनियो । त्यो साइरनको आवाज बेग्लै प्रकारको थियो । त्यो आवाज झन झनै नजिक नजिक आउँदै गयो र स्पष्ट हुँदै गयो । अचम्म !! त्यो साईरनको आवाज त मोबाइल फोनको घन्टी जस्तो पो रहेछ । अझै ध्यान दिएर सुनेँ, मोबाइलमा भाइबरको रिङ्गटोन जस्तै आवाज..दुरुस्त !!

झल्यास्स आँखा खुल्यो... सपना पो देखेको रहेछु । कोठाको एसी बन्द रहेछ । राती यही सेन्ट्रल कन्ट्रोल्ड एसीको तातो हावाले मलाई गर्मी गराएको झोंकमा बन्द गरेर सुतेको थिएँ । अझै चिसो चाहिएर कोठाको झ्याल पनि खुल्लै छोडेको रहेछु । कति बेला देखि हिउँ पर्न शुरु गरेछ, थाहै भएन । त्यही चिसोले कक्रिएर सपनामा सुद्धा हिउँ परेको देख्दै रहेछु ।

Tuesday, July 30, 2013

मिसाइल त्रास (कथा)

तस्वीर साभारः नेपाल साप्ताहिक
साँझको बेला हल्का हिउँ जस्तो आकाशबाट झर्दै थियो। हिउँ हो वा पानी हो, मैले ठम्याउन सकिनँ। सब-वे भित्र एसीको तातो हावाबाट एक्कासि खुलामा आउँदा अत्यन्त चिसो महसुस भयो। चिसोले ठिहिर्‍याएर हात पाइन्टको खल्तीभित्र हालेँ। अप्रिलको सुरुआतमा यो अचम्मको मौसम थियो। हिजोसम्म कलेजमा प्रोफेसरले 'स्प्रिङ् लाग्यो, अब मौसम न्यानो हुन्छ, जताततै स्प्रिङ् फूलहरू देखिनेछ' भन्दै थिए त। क्यामेरा लिएर घुम्ने बेला आयो भनेर म फुरुङ्ग परेको थिएँ। तर, यो चिसोपनले अर्कै मोड ल्याउँदै छ।

Sunday, May 26, 2013

ठगलाई ठग्दा

"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है "
कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहेछ ।
विहान ७ बजेदेखि बसको साँघुरो सिटमा एकोहोरो बसाई, खानीखोला देखि शुरु भएको एकोहोरो जाम, उकालोमा इञ्ची इञ्ची गर्दै सरेको बसको पट्यार लाग्दो घच्घच्याईले मस्त निदाईएछ । सिटमा सँगै बसेको साथी पनि कता ओर्लिसकेछ थाहै भएन । चावहिलसम्म जाने भन्दै थियो, सँगै जाउँला भनेर सोचेको थिएँ । अब एक्लै जानु पर्ने भयो ।हुन त नजिकै त हो बसुन्धरा भनेको । फेरी बस पनि पाइएला भन्ने आशा जाग्यो ।कलंकी मै आधाउधी बस खाली भयो । स्वयम्भू पुग्दा त बसमा बसकाो स्टाफ बाहेक जम्मा  ४ जनामात्र बाँकी रह्यौँ ।एउटै परिवार थियो बाकी तीनजना, त्यो पनि म्हेपी जाने रहेछन् । भन्नाले, म मात्र बाँकी रहेँ ।

बसपार्क बाहिरै ओर्लिएँ ।
बस रोक्ने ठाउँमा हेरेँ, लहरै ट्याक्सीहरू रहेछन् । ट्याक्सीहरू भित्र बत्ती नबलेको देख्दा लाग्दै थियो सबै ड्राइभर सुतिरहेछन् । २० मिनेट कुरेँ, बाटोमा फाट्ट फुट्ट बाइक बाहेक केही पनि आएन । अब ट्याक्सी चढ्नुको विकल्प रहेन ।

Saturday, December 1, 2012

छोट्याईएको एउटा लामो प्रेमकथा

एकादेशमा...
एउटा केटा थियो
एउटी केटी थिई
केटाको कोही थिएन
केटीको दाई थियो
..

..
..
..
..
..
..
..
कथा सक्काईयो ।

Tuesday, November 27, 2012

धुँवागफ - जाँडवार्ता





फेसबुकमा साथीले एउटा भिडियो शेयर गरेको रहेछ । कुनै देशमा बालबालिका प्रयोग गरेर धूमपान गर्ने व्यक्तिहरू माझ चेतना फैलाउने गज्जबको तरिका अपनाइएको रहेछ । मैले पनि केही साथीहरूलाई मेसेज मार्फत त्यो भिडियोको लिंक दिएँ ।
Best Video Against Smoking

हेरिसकेपछि एकजना महिला साथीको जवाफ तुरुन्त आयो

"हेरेँ"
"कस्तो प्रभावकारी हुन्छ है? हाम्रो तिर पनि यसो गर्न पाए त..."
"हो त्त... मलाई पनि अहिल्यै छोडूँ छोडूँ भयो"

म एकछिन अवाक् भएँ । नपत्याउँदो मान्छेबाट चुरोट पिउने गरेको कुरो आयो ।
 जिस्किएको होला भन्ठानेँ

"हाहाहा..छोड्नलाई पहिले शुरु त गर"
"होइन, म खान्छु.."
म अझै जिस्किँदै थिएँ "हाहा..अरूले पिउँछन्, तिमी खाँदी रै'छौ"
"हाहाहा..होइन हौ, म कहिले काँही पिउँछु, प्रोफेसनल नै त होइन नि"
"तिमी अहिलेसम्म तेश्रो केटी हौ, म चुरोट खान्छु भनेर गफ दिने"
"हाहाहा..म साँच्चिकै खान्छु नि
मलाई एकदम रहर लाग्छ....
अमिर खानको धोबीघाट हेरेपछि चस्का लागेको
तीन चारचोटी खाएँ, अनि बानी पर्ला भनेर खाइन...
कहिले काँही खान्छु "

मलाई चै अब चिन्ता लाग्यो "धत् उल्लू केटी ! चुरोटले केही राम्रो गर्दैन"
"थाहा छ"
"बरु नशा लिनै मन भए गाँजा तान...त्यसले केही साइड इफेक्ट गर्दैन"
"भो..गाँजाको त गन्धै मन पर्दैन"
"ए, त्यस्तो नशा लिन मन लागे, दारु खाउ हेहेहे"
"हेहेहे दारु त खान्छु, :P
तर त्यस्तो मात्ने गरी होइन, मार्फा मेरो फेभरेट हो"

म फेरी जिस्किने मूडमा आए
"नमात्तिने भए के खानु त? पिरो नहुने खुर्सानी टोके जस्तो"
"हाहाहा..खाएर मात्तियो भने त सबै सिक्रेट पर्दाफाश हुन्छ नि, त्यै भएर"
"धत्, नमात्तिने भए खानु बेकार छ"

उनले बचाउ गर्दै भनिन्

"एक गिलास खायो भने झुम्म हुन्छ
अर्को एक गिलास थप्यो भने फिलिलि....
अरु थप्यो भने त वाक्वाक्... बेइज्जत अरुका अगाडी...
खाएको दिन त केही हुँदैन...
तर भोली देखि कसरी मुख देखाउनू अरुका अगाडी"

मेरो तर्फबाट सामान्य सुझाव गयो  "घरमा बसेर खानु नि"
उनको रमाईलो स्पष्टिकरण थियो "ल के कुरा गर्नु, जातले पाएको नि"

मलाई भने यो कुरो पचेन "ल्या..जातको बहाना फेरी?? म पनि त आधा नेवार हुँ, खान्न क्यारे कहिले पनि"

उनको अर्को स्पष्टिकरण आयो "म खासमा एकदम सोझो मान्छे हुँ,
चुरोट चाँही धोबीघाटमा आमिर खानले खाएको देखेर खाएको
रक्सी चाँहि साथीहरूको उक्साहटमा .... फेरी आफूलाई उक्साउनै हुन्न"

मेरो हाँसो छुट्यो "हाहाहा... सोझो मान्छे अरे... यस्तालाई सोझो होइन कमजोर भन्छन् "
"हो भन्या....."
"खै, मलाई अहिलेसम्म कोइ माईका लालले मलाई दारू पिलाउन सकेका छैनन्"
"मलाई त कसैले एक्सट्रिम नउक्साएसम्म खान्न"
"मेरो त गर्लफ्रेन्डले नि सकिन...कोशिश गरेकी थिई, उल्टै गालामा खाईन् दनक्... :P"
"हाहाहा...अलि अलि पनि नखाने मान्छे त के काम हौ??"
मेरो दिमाग घुम्यो फेरी "ए..त्यसो भए म काम नलाग्ने मान्छे है??"
"मैले त्यसो भन्न खोज्या होइन"
"अनि के त? जड्याहाहरूको कुरा नै जड्याहा, धरमराउँदो"
"धत्, त्यसो नभन्नू.. म जड्याहा होइन । मान्छेले जड्याहा नै भन्न थाले अब"
"ल ल... जड्यहा होइन............... पार्ट टाइम जड्याहा"
"होइन क्या, पार्ट टाइम पनि होइन...कहिले काँही...
कहिलेकाँही को नि कहिलेssssssssssss काँहीssssssssssss"
"खुप..."
"म कन्सियस छु, टेस्ट गर्ने मात्र हो, त्यस्तो झल्लू हुने गरी खा'को छैन.....खाँदिन"
"त्यै त म भन्छु..झल्लु नै नभएपछि खानुको के मजा?"
"धत्, हुन्न .. झल्लू भएपछि आफूलाई होइन अरुलाइ मज्जा हुन्छ"
"खै होला, मलाई के थाहा र?? :P"
"मलाई थाहा छ...अरु झल्लू हुँदा मजा लुट्या छु "
"ल....भो अब सकाउँ कुरा, अब यो सबै कुरा समेटेर एउटा ब्लगपोस्ट तयार गर्छु"
"के रे?? लाssssssssss मान्छेले उल्ल्याई उल्लयाई सबै कुरा ओकाले त :("

"हाहाहा...ब्लगपोस्टको टाइटल के राखुँ?? जाँडवार्ता?? :P"
"जे सुकै राख्नू............"


Friday, November 2, 2012

बिहे नगर्ने? (कथा)




उ घरको एकमात्र छोरो, अनि सबैको प्यारो । उमेरले भर्खरै २५ बसन्त काटेको र स्थायी जागिरे भई कमाईधमाई पनि राम्रै भएको । घरको मान्छेको एउटै चिन्ता, उसको जिन्दगी एउटा बाटोमा लागिसकेको थियो मात्र यो बाटोमा साथ दिने एउटा सहयात्रीको कमी थियो । घर परिवारका सबैजना उसको बिहे गर्न आतुर थिए, उसले भने किन हो बिहे गर्ने इच्छा नै देखाएन । हरेक चोटी बिहेको कुरा उठ्दा आलटाल गर्थ्यो । कहिले हाँसेर उडाउँथ्यो, कहिले भने झर्किएर टार्थ्यो । परिवारको सबैको एउटै शंका के रह्यो भने पक्कै उसको प्रेमिका छ । घरका मान्छेका तर्फबाट जासुसी पनि भयो तर पक्का कुरा थाहा भएन । उसले साथी पनि चिनाएका दुई तीन युवतीमाथि शंका गरियो तर ती मध्ये प्रेमिका को हो भन्ने विश्वस्त हुन कोही पनि सकेनन् ।


घरपरिवार बिहे गर्न बारम्बार प्रस्ताव राख्ने, उ भने बारम्बार प्रस्ताव सार्ने । द्वन्द्व चलि नै रह्यो र उत्सर्ग तिर बढ्दै थियो । यस्तै एकदिन घरका मान्छेले घेराबन्दी गरे उसलाई ।


"हैन बिहे नगर्ने?"
उसले कुरा टार्न खोज्यो " अँ.. गर्ने "

"गर्ने भए गरिहाल् न त, पढाई सकियो, जागिर पक्का भयो, उमेर ढल्किँदो छ, केलाई कुरिराछस् त"
"केहीलाई पनि कुरेको होइन, मलाई बिहे गरुँ जस्तो लाग्यो भने भनिहाल्छु नि तपाईँहरूलाई .. कति किचकिच गर्न सक्नु भएको होला के तपाईँहरू"
"हैन..बहाना नपार त...कि तैलें मन पराएको मान्छे छ भने भन्, हामी हेरि कुरा ..."
उसले बिचमै कुरा काट्यो "त्यस्तो कहीँ कोही छैन, यो लभसभको चक्करमा चैं म छैन"
"अनि त्यसो भए हामीले हेरेको केटी मध्ये एउटा छान् न त..."

Friday, October 26, 2012

Addiction: लत

'डिँगडँग्' '
डिँगडँग्'

तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दूमा पुगिसकेको थियो । त्यो ताप जम्मै मानौं उ डोरबेलको स्वीचमा पोख्दै थियो र लगातार थिच्या थिच्यै थियो । अफिसमा काम भ्याई नभ्याई थियो । खाजासम्म खाने फुर्सद थिएन । बल्ल तल्ल ६ बजे हाकिम निस्किएपछि अफिस छोड्ने मौका पाएको थियो । घर पुग्ने हतारमा बाटोमा ट्राफिक सिग्नल वेवास्ता गर्दा झन्डै कार्वाहीमा परेको थियो । अनि घर पुग्नै लाग्दा टोल नै झलमल्ल देख्दा खुशी पनि भएको थियो । आज जाने बित्तिकै आमाले खाजा खुवाउने छिन् अनि  आरामले किचेनमा पाक्दै गरेको खानाको सुगन्ध लिँदै क्रिकेट हेर्न पाइनेछ सोच्दै ढोकासामु पुगेको थियो । तर ढोका खोलिनमा भएको विलम्बले गर्दा उसको सबै उत्साह मरेर भोक र रिसले दिमागमा राज गर्दै थियो । उ लगातार डोरबेल थिच्दै थियो, त्यतिकैमा भित्रबाट ढोका खुल्यो । 

'कस्तो केटा छ यो? एकछिन पर्खन सक्दैन, के पागल जस्तो घन्टी बजाई रा?'

आमाको मुखबाट गाली खानु पर्दा उसको रिसमा झन् पेट्रोल थप्पियो र उ दनक्क बल्यो
'ढोका खोल्न यत्ति बेर लाग्छ? तरिका हुन्छ नि यार.... मान्छे काँ के मूडमा आएको छ, घर बाहिर उभ्याइदिने??'

छोरोको रिस देखेर आमाले केही बोलिनन् । बोल्ने कुरा पनि भएन । प्रदीप सरासर आफ्नो कोठमा पस्यो, झोला ओछ्यानमा फाल्यो र सकेसम्म बल लगाएर ढ्याम्म ढोका लगाएर ओछ्यानमा पल्टियो । रिस अझै उम्लिँदै थियो भित्रभित्रै । 

'यी आईमाईहरूको काम छैन, दिनभरी गफ गर्यो, टिभी हेर्यो , आराम फर्मायो । मान्छे याँ दिनभरी गधा झै जोतिन्छन्, के थाहा यिनीहरूलाई? थाकेर आउँदा ढोकामा उभ्भिनु पर्दा कस्तो हुन्छ के थाहा??'
रिसको तीव्र घोडाले तानेर प्रदीपको दिमाग कुद्न थाल्यो । आमाको नराम्रो बानी जति जम्मै केलाउन भ्याई सकेको थियो उसले यो समयमा । सोच्दा सोच्दै उसको पेट बटारिएर आयो ।
'आमाले यति बेर सम्म त खाजा बनाई सकिन् होलीन् । तर कस्ती बूढी भने.. सोध्न पनि सोधिन के खाने भनेर? अब उही पाउरोटी ल्याउने त होली नि..तर पाउरोटी त मैले बिहान ल्याएकै छैन, बुढीले आफै केही ल्याउने हैन । पक्कै फुल चिउरा खुवाउने भइन्... कि त्यही कुकीज र चिया हो आजको भाग...'

मुर्मुरिँदै सोच्दै थियो उ, भित्र पेट आन्दोलनको उत्सर्गमा पुगेको थियो । खपी नसक्नु भएपछि प्रदीप उठ्यो, ढोका खोल्यो र भान्छा तिर लाग्यो । भान्छामा बत्ति सुद्धा बलेको रहेनछ । सँगैको कोठाबाट टिभीको आवाज आउँदै थियो । उ ढोका खोलेर भित्र पस्यो । भित्र आमै एकटक टिभीको स्क्रिनमा हेरीरहेकी थिइन् । प्रदीप एकछिन उभिइरह्यो । केही बेर पछि आमाले उ उभिइरहेको थाहा पाइन् ।
'ए बाबु, लुगा फेरिस्? अबको ब्रेकमा तलाईँ चिया पकाइदिउँला भनेको.. तँ भने लुगा पनि नफेरी बस्या छस्..जा, लुगा फेर म चिया पकाइदिन्छु...'


Friday, October 19, 2012

क्यामेरा (कथा)

"तिमी पनि म सँगै हुने भइदिए कति रमाईलो हुन्थ्यो है मन?" कुराको प्रसङ्ग एक्कासी मोड्दै माया बोलिन्
मन एकटक मायालाई हेरि रहेको थियो, मात्र  "अँ..." भन्यो
"तर पिर नगर, म सँधै तिम्रो मन भित्र हुन्छु नि है मन"
मायाको यो मायालु बोलीले भित्रै सम्म छोयो मनलाई, मात्र मुसुक्क हाँस्यो अनि सुस्तरी भन्यो "लाटी.."
माया भने आफ्नै कल्पनाको उडानमा थिई
"म युरोपको विभिन्न देशमा पुग्नेछु, अनि त्यहाँ देखिएका रमाईला राम्रा दृश्यहरू यो आँखा भरी कैद गरी ल्याउनेछु, अनि म फर्किएपछि हामी दुवै एकपटक फेरी जाउँला ती ठाउँहरूमा "

मायाको यो अस्वाभाविक कल्पनाको उडान देखि देखि मन मख्ख पर्दै थियो । मन र मायाको जोडीमा मन अलि भावुक र काल्पनिक पाराको हो भने माया भने अलि यथार्थपरक थिइन् । वर्षौं सम्म समाजिक क्षेत्रमा काम गरेको अनुभव संगाली सकेकी मायाको एकपटक  सीमा काटेर विदेशको घुमाई गर्ने रहर भन्ने बल्ल तल्ल पुरा हुँदै थियो । पासपोर्टमा भिसाको ठप्पा लाग्ने बित्तिकै मानौं मायाको पखेटा पलाएका थिए । खुट्टा भूँईँमा थिएन ।  बगैंचामा डुल्ने पुतली झै माया रंगिबिरगीं तरंग छर्दै डुल्दै थिइन् भने त्यो पुतली समाउन पछि पछि कुद्ने बालक झै मन बनेको थियो । उ झनै खुशी थियो ।

"लाटी... ती दृश्यहरू कैद गर्न मनका आँखा चाहिन्छ र? एउटा क्यामेरा लिएर जानु नि?"
एक्कासी मायाको अनुहार उत्रियो "क्यामेरा?...क्यामेरा त म सँग छैन नि मन । के गर्नु?"

Thursday, October 18, 2012

एक दिनः तीन घटना

घटना १ - दुर्घटना वा षडयन्त्र 

छिमेककी आन्टी एकाबिहानै घरमा आईपुगिन् । आमा चिया लिएर कोठामा पस्नु मात्र भएको थियो । मभने सुत्या जस्तो गरी ओछ्यानमै गुट्मुटिएको थिएँ । आन्टी हत्तपत्त आउँदिनन्, आए पछि पक्कै पनि केही ठूलो कुरा (उनका लागि) लिएर आउँछिन् । मलाई भने ति आन्टीका कुरा उत्पात उल्टापुल्टा लाग्छन् । नकारात्मक बाहेक केही सोच्नै नसक्ने । आन्टीको हस्याङ्गफस्याङ्ग र आतुरी हेर्दा आज पनि पक्कै केही उल्का भएको छ भन्ने लाग्दै थियो ।  आमाले ढोका खोलेपछि भित्र पस्ने बित्तिकै वहाँको मुख पनि खुलिहाल्यो ।
"थाहा छ मेरी बुहारीले तातो पानी जिउ माथी खन्याई नि"
मेरो नलाग्या निद्रा पनि उड्यो, जुरुक्क उठेँ । आमाले सोध्नुभयो "ओहो ! कसरी नि? अनि धेरै पोल्यो त? हस्पिटल लग्यो?"

आन्टीले मुख बंग्याउँदै भनिन् "ह्या..के को हस्पिटल लानु, हातमा अलिकति परेको छ । पानी उमाल्दै थिई ताप्केमा, पल्टाइ नि तेस्ले, ठिकै छ अहिले त । गोल्भेडाँ पिसेर लगाई आफै.."
आमालाई अझै पनि ति भाउजूको माया लाग्दै थियो "हैन त्यति गरेर हुन्छ त? क्लिनिक सम्म त लैजानु पर्ने कि?"
आन्टी झर्किइन् "तेस्लाई के डाक्टरकाँ लानु? दसैंमा घरको काम गर्नु पर्ला भनि जानीजानी घोप्टाएकी तेस्ले"
मलाई खपिनसक्नु भयो "काँ आन्टी, कसैले जानीजानी ति उम्लेको पानी आफ्नो जिउमा खन्याउँछ, नचाहिने कुरा..."
आन्टीले मतिर फर्किएर आँखा मुख नचाउँदै भनिन् "तिमी जस्ता फुच्चेहरूलाइ के थाहा? आईमाइहरूले के के गर्छन् भनेर, अस्ती प्रतिज्ञाले पनि यस्तै त गरेकी थिई"
म तिर्मिराएँ..को प्रतिज्ञा??
यसो आमा तिर हेरेँ, आमैले कुरो बुझिन् अनि ति आन्टी झै आँखा मुख नचाउँदै बोलिन्
"त्यो क्या स्टारपलसमा आउँछ नि 'प्रतिज्ञा....', त्यसकी हिरोइन् क्या..."



घटना २ - सेक्सी गजल

रत्नपार्क तिर तुफान शान्त 'नेपाल' र म मुकुन्दे दाईको भाषण सुन्न भनि लाग्दै थियौं ।

Monday, September 17, 2012

ला !! बर्बाद हुन्छ..

वर्षौं देखि विदेश बसेर काम गर्दै गरेको छोरो चेतेले एकदिन घरमा फोन गरेछ । फोन चेतेको बाउले उठाए छन् ।

चेतेः बा !! म घर फर्किँदैछु ।

बाः हो र? ल राम्रो भयो । तर तेरो त छुट्टी मिल्दैन भन्थिस्, एक्कासी घर आउँछु भन्दैछस् त

चेतेः होइन बा, म नफर्कि भएन । .... म धेरै बाँच्दिन अब

बाः ला..के कुरा गर्छस? त्यस्तो कुरा नगर.... के भयो र तलाईँ?

चेतेः .... बा! मलाई एड्स भएको छ ।

बाः राम राम!! के सुन्न पर्यो...

चेतेः हो बा, मलाई एड्स लागिसक्यो । अब म धेरै दिन बाँच्दिन, जति दिन बाँच्छु घरमै बिताउन चाहन्छु ।

बाः हुन्न हुन्न केटा...तँ यता आउनु हुन्न । तँ यता आइस भने बर्बाद हुन्छ....

चेतेः किन र बा?

बाः तँ यता आइस भने पुरा गाउँ बर्बाद हुन्छ छोरा, तँ यता आउनु हुन्न...

चेतेः गाउँ बर्बाद?? कसरी हुन्छ र?

बाः अब सुन कुरो? तँ यता आइस भने तैलें यो रोग तेरो स्वास्नीलाई सार्छस् ।
तेरो स्वास्नीलाई रोग लाग्यो भने तेरो साथीलाई सर्छ ।
तेरो साथीलाई रोग सर्यो भने हाम्रा घराँ काम गर्नी नोकर्नीलाई सर्छ ।
अनि त्यो नक्कलीलाई रोग सरेसी मलाई नि सर्छ...
अब मलाई सरेसी त पुरै गाउँलाई सर्छ...
हुन्न बाबु हुन्न, तँ यता आउनै हुन्न....


(मैले यो ठट्टाकाण्ड साप्ताहिकबाट सारेको, साप्ताहिकले कहाँबाट सार्यो मलाई थाहा भएन है )

Tuesday, September 11, 2012

अन्तरवार्ता (भाग ३)

यो घटनाको वर्णन शुरू गर्नु भन्दा पहिले अघिल्लो भागहरूको वेलिविस्तार पनि पढ्नु होला । अन्यथा खल्लो लाग्नेछ ।
अन्तरवार्ता भाग १
अन्तरवार्ता भाग २

अघिल्लो घटनाबाटै क्रमशः
====================

केटीको मोबाइलमा मेसेज टोन आउँछ, पढ्छे, हतार हतार जवाफ टाइप गर्छे । केटो यसो नदेखे झै गर्दै केटीको मोबाइल चियाउन खोज्छ, सक्दैन । अलि घाँटी तन्काउँछ फेरी देख्दैन..यता उता हेर्या जस्तो गर्छ ।

केटी(आँखा तर्दै) ओ सर, के हेर्या तेसरी घाँटी तन्काइ तन्काइ, प्राइवेसी भन्ने नि केही चिज हुन्छ नि
केटोः केही होइन...यसो के लेख्यौ भनेर हेर्या नि हेहेहे
केटी (रिसाउँदै):  जे पायो त्यै हैन है...अर्काको कसलाइ के लेख्या हुन्छ किन हेर्न पर्यो । हामीले तपाइँको केही सोधिखोजी गर्या छम्? हजुर कुन कुन मेडमलाई गफ लडाउनु हुन्छ कैले सोध्छम्? हजुरको गर्लफ्रेन्ड नै होलिन् को को, हामीले कैले पत्ता लाउँछम् हँ? फेरी किन अरूको चै बढ्ता सोधीखोजी हँ??
केटो अवाक् हुन्छ, बोल्नलाई केही शब्द पाउँदैन ।
केटीः ल म हिँडे, काम पर्यो ।
केटोः .... पख न एकछिन
केटीः मेरो काम पर्यो क्या...ल बाई । बिल तिर्ने तिम्रै पालो हो है आज...
 केटी उठ्छे र ओर्लिने भर्याङ्ग तिर लाग्छे ।

*****

केटी रेस्टुरेन्ट बाहिर पुगेकी मात्र हुन्छ, उसको फोन बज्छ । यस्सो हेर्छे, उठाउँदिन । एक घन्टी सकिने बित्तिकै फेरी पनि फोन आउँछ, घन्टी टुट्न लागेको मात्रै हुन्छ उठाउँछे ।

केटीः हजुर..
फोनको अर्को तिर कुनै केटो हुन्छ (यो फरक केटो हो है, अर्थात केटो नं. २)

केटोः के हो? मेसेज रिप्लाई पनि छैन, फोन् पनि उठ्दैन त ।

केटी (अलि झर्किँदै) रिप्लाई गरेको छु त, अनि भन्ने बित्तिकै फोन उठाउन पाइन्छ र सँधै । म गाडीमा थिएँ, याँ मान्छेको हात हल्लाउनै नमिल्ने गरी भिड थियो गाडीमा

केटोः ए ए, अनि कता छौ ।

केटी (यसो दायाँ बायाँ हेर्दै)ः कता हुनु नि, घर जान लागेको बाटोमा छु । गाडीमा थिएँ भनिन, उल्टै शंका गर्नुहुन्छ के तपाईँ त..

Tuesday, August 14, 2012

तपाइँ नै भन्नुस् न

हिजो साँझ एउटा साथी कहाँ पुगेको , खाना बनाउने तरखर हुँदै रहेछ बुढाबुढीको
प्रस्तुत छ उनिहरू विचको सम्वाद जस्ताको तस्तै


लोग्नेः आज खानामा के बनाउँछौ त बुढी
स्वास्नीः तपाइँ भन्नुस् न के बनाउने? म त्यही बनाउँला

लोग्नेः उही दालभात तरकारी बनाउन न त
स्वास्नीः ह्या..कति त्यही मात्र खानु

लोग्नेः त्यसो भए आज रोटी बनाउन त
स्वास्नीः अनि बच्चाहरूलाई के खुवाउनु नि?

लोग्नेः अँ..पराठा बनाउ न त
स्वास्नीः अलि हेभी हुँदैन?

लोग्नेः म चिकेन लिएर आउँछु नि त त्यसो भए
स्वास्नीः भो..आज सोमवार, मासु खानु हुन्न

लोग्नेः रेस्टुरेन्टबाट लिएर आउँछु नि त
स्वास्नीः कति बाहिरको मात्र खानु?

लोग्ने (झर्किँदै)ः त्यसो भए वाइवाइ उमालेर खुवाउ आज
स्वास्नीः हुँदैन...त्यसले पेट भर्छ त? अनि त्यो हाइजेनिक पनि त हुन्न


लोग्ने (रिसाउँदै)  ए मेरी हजुरआमा...त्यसो भए के बनाउँछौ, बनाउ यार..
स्वास्नीः तपाइँ भन्नु न के बनाउने??

Friday, August 10, 2012

अन्तरवार्ता (भाग २)

यो कथा शुरू गर्नु भन्दा अगाडीको भाग RECAP (अन्तरवार्ता (भाग १)) गरि हालुँ, अन्यथा केही नबुझिएला :)


(अघिल्लो भागको केटो पात्र फेरी दोहोरिएको छ, तर केटी पात्र भने बेग्लै हो)

व्यस्त सडक भरी गाडीहरूको ओहोर दोहोर छ । पाँच तल्ले भवनको छतमा रहेको रेस्टुरेन्टमा एक जोडी टेबलमा बसेका छन् । चियाको चुस्की सँगै शायद मिठो गफगाफ चल्दैछ । मन्द मन्द मुस्कान छरिएको छ दुवैको मुहारमा, अनि बेला बेलामा मज्जाले हाँस्छन् दुवैजना । मानौं, संसारको सबै पीरहरूबाट मुक्त छन् र यो क्षण उनीहरूको खुशी चरमसीमामा छ ।



अचानक कुरा गर्दा गर्दै केटोले खल्ती छाम्छ । फोन आएको रहेछ, भाइब्रेसन मोडमा रहेकोलेरिंङ्गटोन सुनिएन ।

केटाः  एकछिन है त (भन्दै उठेर अलि पर कुनातिर लाग्छ)

केटीको अनुहार खुम्चिन्छ, तर केटो फोनतिर कुरा गर्दै टाढिन्छ ।


केटो प्रसन्न मुद्रामा फोनमा वार्ता गर्दैछ, उ बोल्ने भन्दा बढी सुन्ने काम बढी गर्दैछ फोनमा । केटी एकतमास केटोले फोनमा कुरा गरिरहेको हेर्दैछे । उसको अनुहारमा तनाव छ, शायद फोनको उतापट्टी बोल्ने मान्छेको कल्पना गर्दैछे । कुराकानी छिट्टै सक्कियो र केटो उही मुस्कान अनुहारमा पोत्दै टेबलतिर फर्कियो ।

केटीः क्या हो सर, कुरा त साह्रै मिठो थियो जस्तो छ नि उतातिरबाट..
केटोः ए..अँ...साथी थियो
केटीः मैले को थियो भनेर सोधेँ र, स्पष्टीकरण दिनलाई??

Sunday, July 15, 2012

हरियो चुरा (कथा)

आज अचम्म भयो ।
साँच्चिकै हुनु नसक्ने काम भयो ।
सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुगीसकेकी रहिछ । मनले टाढाबाटै मायाको अनुहार नियाल्यो, कतै कुर्न परेकोमा रिस त छैन भनी । मायाको अनुहारमा मिठो मुस्कान थियो । मन ढुक्क भयो अनि हतार हतार पाइला चाल्यो माया तिर । 
नजिक पुग्यो अनि मुस्कुराउँदै बोलायो मायालाई  । मनलाई देखेर मायाको मुस्कान झनै उज्यालो भएर आयो । अँगालो नै हालुँला झै गरी हुत्तिदै आई मनको नजिक अनि गालामा विस्तारै प्याट्ट हान्दै भनिन् 

"कति कुराएको हँ? "
मनले केही बोलेन, उ एकटक हेरिरह्यो मायाको अनुहारमा । मायाको अनुहारमा आज विशेष चमक छ, यस्तो खुशी दुर्लभ हुन्छ मायाको आँखामा । आज पक्कै केही विशेष हुनुपर्छ ।
अचानक मायाको  आवाजले उसको तन्द्रा टुट्यो
"हैन कसरी हेरेको के? लाजै लाग्ने गरी... हिन भित्र क्याफेमा बसुँ..मलाई भोक लागेको छ "

=***=

क्याफेको एककुनामा रहेको सोफामा बस्ने बित्तिकै मायाले मनको हात च्याप्प समाई हाली । सामान्यतया भिडभाडमा नजिक बस्न पनि संकोच मान्ने मायालाई आज अप्ठेरो पनि लागेन । उसले आफ्नो दायाँ हात मनको काखमा राख्दै भनि
"मन हेर त मेरो हातमा...."
मनले मायाको हातमा आँखा पुर्यायो । मायाको हत्केला मेहँदीका रंगीन बुट्टाले कुँदिएका रहेछन् । मनका नजर एकछिन त्यहीँ अडिए । कालिगढले बडो जतन र मेहनतका साथ मन्दिरमा रहेको काठमा कुँदेका उत्कृष्टतम बुट्टा जस्ता कतै सिधा कतै घुमाउरा रेखाहरू मायाको हातमा बडो जतनका साथ कुँदिएका थिए । मनले ती बु्ट्टाहरूमा केही भेटाउन खोज्यो, प्रस्ट भएन उ । फूल जस्तो, फल जस्तो, विरुवा जस्तो, लहरा जस्तो..अल्मलियो मन ती बुट्टाहरुमा...

Thursday, July 12, 2012

अन्तरवार्ता (कथा)

==============================


"जानम देख लो मिट गइ दूरियाँ..मै यहाँ हुँ, यहाँ हुँ, यहाँ हूँ यहाँ...."
केटोको मोबाइलमा हिन्दी फिल्मको एउटा रोमान्टिक गीतको रिंगटोन बज्छ
केटोले यसो नम्बर हेर्छ, हत्त न पत्त फोन उठाउँछ
"हेलो"
उताबाट केटीको आवाज "फोन उठाउन यत्ती बेर लाग्छ?"
"हेहेहे, रिंगटोन सुनेको नि"
"कता हो? "
यता उता हेर्दै " म 'फलाना' ठाउँमा"

Wednesday, April 18, 2012

लुम्बिनीको धूलो


थाहा छ उसको फोन लाग्दैन, तापनि प्रत्येक घन्टा एकचोटी प्रयास गर्नु मेरो काम नै भएको छ केही दिन देखि । उ जागिरको सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूको भ्रमणमा निस्केको पनि लगभग एक महिना नै भइसक्यो ।  सम्पर्क माध्यम मात्र यही एक फोन । भन्थे दूरीले माया बढाउँछ, हो रहेछ । कतै कुनै ठाउँमा पुग्दा फोन लाग्छ, केही बेर कुरा गर्यो कि काटिन्छ  । लागि हाल्दा पनि आवाज टुक्रिएर आउँछ । राम्ररी कुरा गर्ने भनेको केही मिनेट मात्र त हो । अनि यी केही मिनेट अमूल्य भएका छन् मेरो लागि । समय कति मूल्यवान छ बुझाउने भईन् उसले ।

अचम्म भयो अहिले चैँ, एक चोटीमै फोन लाग्यो । अनि एकै घन्टीमै फोन पनि उठ्यो । शायद कुरा गर्ने व्यग्रता उता झन बढी थियो । हेलोको जवाबमा सदा झै प्रश्न तेर्सियो उताबाट "कहाँ छस्?" यसपछिको प्रश्न पक्कै पनि "को सँग छस्?" हुनुपर्ने तर शायद अर्कै हतारोमा थिइन् । फोन काटिने डर पो हो शायद..
"सुन् न म त आज साँझ लुम्बिनी पो पुग्दैछु आज"... म अचम्भित भएँ । कता थिइन्, कता पो पुग्न लागिन्, अत्तो पत्तो नहुने ।
"अनि भोली साँझसम्म काठमाडौं पुगिसक्छु नि"....म खुशीले मेचबाट जुरूक्कै उठेँ ।
"के गर्न जान लागेको लुम्बिनी नि?" मेरो सोझो प्रश्न थियो ।
"के गर्न जानु नि लाटा..घुम्न जान लागेको नि" हाँस्दै भनिन् उसले ।
"ए ठिक छ नि, घुम मजाले । हामी पहिले जाँदा त राम्ररी घुम्न पाएनौं है".
एकछिन उताबाट केही आवाज आएन, मैले उनिलाई बोलाएँ..तर जवाफ आएन..
अनि........झल्झल्ती आँखा अगाडी आयो त्यो हाम्रो लुम्बिनी भ्रमण ।

=================


Popular Posts