थाहा छ उसको फोन लाग्दैन, तापनि प्रत्येक घन्टा एकचोटी प्रयास गर्नु मेरो काम नै भएको छ केही दिन देखि । उ जागिरको सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूको भ्रमणमा निस्केको पनि लगभग एक महिना नै भइसक्यो । सम्पर्क माध्यम मात्र यही एक फोन । भन्थे दूरीले माया बढाउँछ, हो रहेछ । कतै कुनै ठाउँमा पुग्दा फोन लाग्छ, केही बेर कुरा गर्यो कि काटिन्छ । लागि हाल्दा पनि आवाज टुक्रिएर आउँछ । राम्ररी कुरा गर्ने भनेको केही मिनेट मात्र त हो । अनि यी केही मिनेट अमूल्य भएका छन् मेरो लागि । समय कति मूल्यवान छ बुझाउने भईन् उसले ।
अचम्म भयो अहिले चैँ, एक चोटीमै फोन लाग्यो । अनि एकै घन्टीमै फोन पनि उठ्यो । शायद कुरा गर्ने व्यग्रता उता झन बढी थियो । हेलोको जवाबमा सदा झै प्रश्न तेर्सियो उताबाट "कहाँ छस्?" यसपछिको प्रश्न पक्कै पनि "को सँग छस्?" हुनुपर्ने तर शायद अर्कै हतारोमा थिइन् । फोन काटिने डर पो हो शायद..
"सुन् न म त आज साँझ लुम्बिनी पो पुग्दैछु आज"... म अचम्भित भएँ । कता थिइन्, कता पो पुग्न लागिन्, अत्तो पत्तो नहुने ।
"अनि भोली साँझसम्म काठमाडौं पुगिसक्छु नि"....म खुशीले मेचबाट जुरूक्कै उठेँ ।
"के गर्न जान लागेको लुम्बिनी नि?" मेरो सोझो प्रश्न थियो ।
"के गर्न जानु नि लाटा..घुम्न जान लागेको नि" हाँस्दै भनिन् उसले ।
"ए ठिक छ नि, घुम मजाले । हामी पहिले जाँदा त राम्ररी घुम्न पाएनौं है".
एकछिन उताबाट केही आवाज आएन, मैले उनिलाई बोलाएँ..तर जवाफ आएन..
अनि........झल्झल्ती आँखा अगाडी आयो त्यो हाम्रो लुम्बिनी भ्रमण ।
=================
सेतो जापानिज गुम्बा अगाडी बाइक रोकेर बसेका थियौं हामी । अरू साथीहरू बाइक थन्काएर साइकल चलाउने रहर पुरा गर्न हिँडिसकेका थिए । हामी भने बाईकमा नै घुम्ने भनेर अलग्गिएका थियौं । साथीहरूको भिडबाट अलग्गिने एउटा राम्रो बहाना थियो यो । यो भ्रमणको विशेषता के थियो भने हामी त्यती बेलासम्म झगडा गरेका थिएनौं । हुन त हाम्रो झगडा नपरेको दिन, समय, बेला हुँदैन । हाम्रो कुरा शुरू हुने बित्तिकै झगडा शुरू हुन्छ, पहिले पहिले त साथीहरू डराउँथे हाम्रो झगडा पर्ला कि भनेर । मध्यस्थता गर्न सदैव एकजना तयार हुन्थ्यो..तर विस्तारै थाहा पाए उनिहरूले नि, हाम्रो पारा यस्तै हो भनेर । न छुटिएर वारपार हुन सक्ने, न नजिक भई एक ढिक्का हुन सक्ने । हाम्रो माया भनेकै हाम्रो ठाकठुक थियो । अब विना ठाकठुकको दुइ दिन शायद दुवैलाई उकुसमुकुस हुँदै थियो ।
फोटो खिँच्ने सुरसार गरेँ अनि मैले क्यामेरा निकालेँ
"हिन जाउँ उता फोटो खिँचु तेरो मेरो"
तर उनले आनाकानी गरिन । फोटो खिँच्न भने जो केटी पनि हुरूक्कै हुन्छन्, उ पनि हुन्थी तर आज के भयो ?
फेरी बोलाएँ "आइज न होई, फोटो नखिँच्ने तेरो?"
अक्मकाउँदै बोली उ "यस्तो अवस्था छ हेर न..न लुगाको ढंग छ, न कपाल कोरीया छ, न अनुहार ठिक छ..बाईकको हावाले बेहाल बनाको छ मलाई क्या...नखिँचु न है, पछि आउँला नि बरू"
मेरो कन्सिरी तात्यो अब चै...पछि आउने? हैन पानी पँधरो हो र? कि नगरकोट हो लुम्बिनी? छिनछिनमा आउन भ्याउने होइन । बल्ल तल्ल मौका जुराएर आएका छौ ।
"हैन, जे जस्तो देखिएनी के भो र, तँ तँ नै रहन्छेस्, म म नै रहन्छु?"
सनक उता पनि चढेछ
"खिँच्दिन भनेसी खिँच्दिन नि, के किचकिच गरिरा? आफै खिँच्नु नि यो माग्ने पारामा फोटो"
अब भने रिसको बाँध टुट्यो । तर गर्नु चै के? हातमा भएको सामान फालुँ?? हातमा बल्ल तल्ल किनेको सोनीको प्रिय साइबरसट क्यामेरा थियो, मन थामियो । तर रिस थामिएको थिएन । क्यामेरा खल्तीमा घुसारेँ...अनि यताउति हेरेँ । तल भुँइमा धुलो देखियो
"ए माग्ने पारा यस्तो हो? म माग्ने भएँ है तेरो लागी?"
"अनि के त? अनुहार हेर त अनुहार... फोहोर टिप्ने खाते जस्तो देखिएको छ, अझै फोटो खिँच्नु पर्ने तलाईँ?" उताबाट झन ठूलो डाइलग आयो ।
मलाई रिस खपी नसक्नु भयो, माग्ने र खातेसँग तुलना गरिदैँ थियो मेरो स्वरूपलाई
झुकेर भुइँको धूलो हातभरी उठाएँ र अनुहारमा बेस्मारी दलेँ..अनि अझै टाउकोमा नि धूलो छरेँ..
अनि कुर्लिएँ " ल माग्ने हैन, हेर...यस्तो हुन्छन् माग्ने...खाते हैन, यस्तै होलान् नि हैन"
मेरो अनपेक्षित रिस र व्यवहारले उसलाई अवाक् बनाएको थियो। उ अकमक्क परी मलाई हेरी रहेकी थिई । ...
===========
उताबाट अझै बोली आएको थिएन ।
"ओई!!! के भयो? बोल् न
"अँ ! पहिले लुम्बिनी जाँदाको याद आयो नि" उता पनि शायद यस्तै फ्ल्यास्ब्याक चल्दै रहेछ
"अनि मलाई के ल्याई दिँदै छस् त लुम्बिनीबाट" मैले अलि मूड हल्का बनाउन खोजेँ
"अँ ल्याई दिन्छु केही केही....शान्तिका दूत भगवान बुद्धको पवित्र भूमीबाट तेरो लागि एक मुठ्ठी माटो ल्याईदिन्छु ।"
ल..उता पनि ठ्याक्कै उही घटना प्लेब्याक हुँदै रहेछ
उ भन्दै गई "त्यो धूलो फेरी छर्किनु आफु माथी अनि सँधै शान्त रहनु..म सँग कहिले नरिसाउनु ल..अनि हामी कहिले झगडा नगर्ने..माया मात्र गरिरहने ल??"
म केही बोल्न सकिन...
No comments:
Post a Comment