Sunday, May 9, 2021

मलाई बिहे मनपर्दैन

मलाई बिहे मनपर्दैन । 
 
मैले यो भन्दा खेरि संसार रिसाओस् मतलब भएन, मेरी श्रीमति रिसाउनु भएन । खासमा मलाई बिहे मन नपरेको हैन । मन नपरेको भए बिहे गर्ने नै थिइन । बडो दुःख गरेर, हतार गरेर गरेको पो त । खासमा मलाई बिहेमा हुने जमघट मनपर्दैन । हैन, हैन । जमघट मननपरेको पनि हैन । बिहेको तडक भडक मन नपरेको हो । हाम्रो समाजले उत्सवका रूपमा मनाउने दुइ युवाको मिलनमा देखाउनैका लागि गरिने तामझाम मनपरेको । मेरो यो मननपराई बाँकी संसार छाडम्, मेरै आफ्नै श्रीमतीलाई पनि मन पर्दैन होला । 
 
२०७६ फागुन ३० गते बिहे गरिएको थियो । अलि पछि बिहेभोज गरुँला जस्तो लागेको थियो । तर कोरोनाले देशलाई छपक्कै छोपेपछि त्यो पनि जुरेन । केही समय रोल्पामा क्वारेन्टाइन लागू गर्दै बित्यो । केही समय काठमाडौंमा लकडाउन मनाउँदै बित्यो । अर्को महिना, अर्को साल भन्दै एक वर्ष बित्यो । स्थिति सामान्य भइसके जस्तो लागेको थियो, एक्कासी नयाँ भेरिएन्ट आइपुग्यो । पुरानो कोरोनाले हाम्रो जीवनशैली नै नयाँ बनाइ दिएको थियो, नयाँ कोरोनाले त्यही नयाँ कै बानी लगाउनू भन्ने आदेश दिएको छ। 
 
यत्रतत्र बिरामी छन् । अलि छेउ मै शुक्रराज अस्पताल छ । संसारले टेकु अस्पताल भनेर चिन्छ । हरेक दिन पाँच छ चोटी कर्कश आवाजमा एम्बुलेन्सको आवाज सुन्न पर्छ । हिजो भर्खर थाहा भयो, त्यो साइरन शववाहनको रहेछ । आफन्त, साथी बिरामी परेर आफू पनि बारम्बार त्यही अस्पताल जानु परेको छ । अक्सिजनको कमी भइसकेको छैन, शय्या र आइसियुका लागि पालो कुर्न पर्छ भन्ने चैं थाहा भयो । आइसियुमा कोही मरेपछि अर्कोले पालो पाउने रहेछन् । कसैको मृत्यु, कसैको जीवन जोगाउने अवसर बनिरहेको छ। 
 
साथीहरूको परिवार पनि बिरामी छन् । धेरैजसोलाई कोरोना सर्नुको कारण भनेको बिहे भोज नै हो भन्ने निर्क्यौल छ । एकजना त डाक्टरै हुन् । कोरोना सङ्क्रमण रोकथाममै काम गर्ने गर्छन् । उहाँकै श्रीमती सङ्क्रमित हुनुहुन्छ । बिहे भोज खान जानु भएको रहेछ । अर्को साथीको घरमै बिहे थियो । वर र वधू दुवै पक्षका परिवार बिरामी छन् रे ।
कार्यालयमा पिसिआर परिक्षण गराउनेहरूको लाम छ । त्यो लाम लागेका मध्य लगभग आधाउधि कोरोना सङ्क्रमित भनेर प्रमाणित हुन्छन् । कतिपय अति बिरामी परेर आएकै पनि हुन्छन् । जोखिम सबैभन्दा बढी यहीँ छ । साथीहरू बारम्बार सम्झाउँछन्, यसरी भीडमा नजानु है, फेसशिल्ड लाउनुस्, ग्लब्स खै? बरू गाउन नै लाएर बस्नुस् । धेरैजसो समय यादै हुन्न । आज साथीले फेसशिल्ड हातैमा ल्याएर राखिदिइन् । मैले उनलाई भगवान मानेँ । तेरो जीवन जोगा है भनेर सम्झाउने भगवानै हुन् । ड्युटी अवधि भर पिपिई, मास्कमा बसेका सहकर्मीहरूको आँखाले मात्र चिन्दो रहेछु । उनिहरूले फेसबुकमा राखेको फोटो हेर्दा ट्वाँ पर्छु । दिउँसो देखेको अनुहार र यो अनुहार एकै मान्छेको हो र भनेर । 
 
जिन्दगी चलिराख्या छ । यो चलि नै रहने छ ।
 
अस्पतालमा काम गर्नेलाई पनि विस्तारै मृत्यु सामान्य लाग्दै जाला । समाजमा पनि "ए त्यो पनि कोरोनाले थला परेछ" भन्ने बानी पर्ला । बिहेवारी पनि चलि नै रहला । भोजभतेर पनि बन्द कहाँ हुने हो र? सरकारको एकजना मन्त्रीले भेला नगर्नू है भनिरहँदा अर्का ठूला मन्त्रीले एउटा सिमेन्टको ठाँडो उद्घाटनमा भेला आयोजना गरिरहेकै देखिएकै हो । सरकारले केही गरेन भनेर उफ्रिने प्रतिपक्षका पनि जिल्ला भेलाको फुर्ति नदेखिएको कहाँ छ र?
मलाई जमघट मनपर्दैन । अरूलाई मनपर्न पाउँछ ।
 
मलाई जमघट मनपर्दैन । तर म आफै दैनिक ३०० जनाको जमघट व्यवस्थापनमा आफ्नो रूचीले खटिरहेछु ।
मलाई बिहे मनपर्दैन । अरूले त मनपराउन पाउन्छन् नि ।

No comments:

Post a Comment

Popular Posts