Showing posts with label डायरी. Show all posts
Showing posts with label डायरी. Show all posts

Friday, February 9, 2018

मेरो मन तँ पत्थर बन्

"चिया चिसो भो"
सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ ।

बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थाहा, छोरो भर्खरै निँदाएको हो ।
आजकाल निँद्रा हराएको छ । रातभर के के खेल्छ दिमागमा । मलाई आफैंप्रति बडो फूर्ति थियो कि जत्ति सुकै तनाव भएपनि निदाउन सक्छु । हुन पनि जस्तो सुकै तनावपूर्ण अवस्थामा पनि निदाउँथे र आनन्द हुन्थ्यो । तर आजकाल के भएको छ? निद्रा गायब छ । एक शेर लेखिएको थियो गफैगफमा ।

'तिमी आएपछि यी भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथाहरू साँचेर'

भित्ताहरू अब चैं साँच्चिकै बोल्लान् ।

Tuesday, December 19, 2017

सपनाका कुरा

फोटो र ब्लगको कुनै सम्बन्ध छैन
अस्ती देखेको सपनाका कुरा गर्छु ।

ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ । मेरो पछाडी एउटा भव्य भवन पनि थियो । अनुजको कलेजको भवन हुनुपर्छ । त्यो अनुजकै कलेज हो भनेर भन्न चैं सक्दिन किनकी मैले उसको कलेज देखेको छैन । त्यो ठाउँ अमेरिकै हो भनेर ठोकुवा पनि गर्दिन, किनकी अमेरिका पनि मैले देखेको छैन । मैले चिनेको अनुज र अभि हो र उनिहरू अहिले अमेरिकामा छन् । 
अनुजको डेट जानुपर्ने भएकोले म घर फर्किने सुरसारमा थिएँ । ठ्याक्क कलेज पारी ठूलो फ्लाइओभर थियो । म घर जाने बाटो त्यही फ्लाइओभर हुँदै जानुपर्ने थियो । अनि मेरो घर चैं त्यो कलेज भवनबाट नजिकै देखिने गाउँमा थियो । यसो बिचार गरियो । फ्लाइओभर उक्लिएर गाडी चढ्नु भन्दा लखर लखर हिँडेर घरजाँदा बेस हुन्छ । समस्या के भने घर र कलेज बीचमा खेतै खेत छ । म हिँड्न रूचाउन्न, सबैलाई थाहा छ । तर सपनामा भने हिँड्न तम्सिएँ । 

Monday, October 2, 2017

त्यैँ लाउँला चोखो पियार - ५

दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो ।

काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै उडिसक्या छैन । आज पानी परेपछि भएको हिलोले भोली बिहान धुलाम्य बनाउने चैं पक्का छ ।

सदा झैं दशैं मनाइएन । नमनाउने खासै केही कारण छैन । बच्चै देखि मनाइएन,  ठूलो भएपछि झन् मनाउने कारण पनि चाहिएन । मामाघरमा दक्षिणा दिने चलन छैन । पैसा नआउने दशैं बच्चालाई के स्वाद? अँ मासु टन्नै खान पाइन्थ्यो । तर नेवारको घरमा मासु नभएको अवसर विरलै हुन्थ्यो ।

Monday, February 10, 2014

केही मिठो बात गर

कुनै गीत किन रुच्छ?
गायकको मोहक स्वर?
मन्त्रमुग्ध पार्ने संगीत?
गीतको समय,सन्दर्भ?
शब्दहरूको मार्मिकता र सान्दर्भिकता?

आजकल गीत सुन्दा दिमागमा यस्तै यस्तै कुराहरू खेल्छन्  । साँच्चै भन्नुपर्दा हरेक गीत मनपराइनुमा विभिन्न कारणहरू हुन्छन् । एउटै कारण हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । केही गीत सुन्ने बित्तिकै मनपर्छन्, केही दिन मै वाक्क लागछन् । केही गीत भने मनपर्न समय लाग्छ तर मनपरेपछि कहिले पनि वाक्क लाग्दैन । यस्तै केही गीत मध्य कालीप्रसाद रिजालको गीत "केही मिठो बात गर" पनि पर्छ ।

Friday, February 7, 2014

Punctuality

बल्लतल्ल राती अबेर थेसिस प्रस्तावना सक्काइयो । फेब्रुअरी १८ मा अहिलेसम्मको प्रस्तुतीकरण गर्नुपर्ने मिति तोकिएको छ तर आफूले सिन्कोसम्म भाँचिएको छैन । दिमागमा धेरै कुरा छन् तर त्यसलाई चट्ट मिलाएर तार्किक क्रमवद्धतामा उन्न सकिएको छैन । तर जे होस् केही त काम देखाउनु पर्यो, नत्र प्राध्यापक महोदयले हुर्मत लिन्छन् । ईमेलमा प्रस्तावना सँगै भेटघाटको समय पनि मागियो ।  साथै शुक्रवार यो प्रस्तावना स्वीकृत गर्ने अन्तिम दिन हो भनेर समेत सम्झाइयो ।

६ बजे सुतेको मान्छे १० बजे नै निद्रा खुल्यो, अर्धचेतन दिमागले पहिलो काम ईमेल हेर्नुपर्छ भन्यो । छेवैमा रहेको ल्यापटप खोलियो र ईमेल हेरियो । एउटा मात्र नयाँ ईमेल रहेछ त्यो पनि प्रोफेसरको नै ।
ईमेलमा छोटो सन्देश थियो । "Proposal seems ok. Drop by my office at 11.30 AM" ।

Tuesday, June 1, 2010

सरी Sorry

महिनाको २० गते पुगेपछि मलाई लाग्छ म त क्षमाको भण्डार हुँ । जँहा जे गरेपनि, जसलाई बोले पनि सरी मागेर हैरान । अनि म पनि दानवीर कर्णभन्दा कम कँहा छु र? दिइ हाल्छु माफी ।

मलाई सबैभन्दा मिठो लाग्ने माफी मगाई एउटा महिलाको छ । हुन त म वहाँलाई चिन्दिन । दैनिक कुराकानी हुन्छ तर परिचय गर्न पाएको छैन । वँहा नेपाल टेलिकममा काम गर्नु हुन्छ । मैले प्रत्येक पटक फोन गर्ने प्रयास गर्दा कति मिठो आवाजमा बोल्छिन.."माफ गर्नुहोला, तपाईको ब्यालेन्स रकम कम भईसकेको छ..." आहा..कति मिठो भाषामा मेरो गरिबीलाई घोच्छिन तै पनि म त दानवीर....

बालुवाटारको नेपाल राष्ट्र बैंक अगाडीको एटिएम, मेरो प्यारो छ । बाटोमा पनि पर्छ र राष्ट्रिय ढुकुटी अगाडी भएकोले त्यसप्रति विश्वास पनि लाग्छ अलि बढी । तर महिनाको अन्त्यतिर उ पनि ठुस्किन्छे म सँग । कार्ड घुसायो, सबै प्रकिया पुर्यायो, अन्तमा उ पनि भन्छे..."Sorry, Your account balance is Low" अब यँहा पनि माफी दिन परिहाल्यो ।

मेरी प्राणप्रिय, जसलाई संसारले मेरो गर्लफ्रेन्ड भन्छ । तर म चाँही साथीमात्र भन्न रूचाउँछु । अब सम्बन्धमा पनि महिला पुरूष भनेर किटेर भनिराख्न पर्छ र?
कति हार्दिकताका साथ म भेटघाटको प्रस्ताव राख्छु, अनि भन्छु, बाइकमा तेल छैन..आज यसो काठमान्डौको बाटो नापौं न है...उताबाट जवाफ आउँछ...
"सरी है, हेर न मेरो कस्तो खुट्टा दुखिराछ । अनि घरमा काम पनि छ । आज नभेटुँ न है...सरी ल..नरिसाउ न है"
सबै भन्दा प्यारो मान्छेले माफी माग्दा नदिने कोही छ होला? म पनि अपवाद हैन । :P

Wednesday, April 21, 2010

Popular Posts