Friday, July 6, 2012

तिमी को हौ? तिमी के हौ? (कविता) - विक्रम सुब्बा


कविताः तिमी को हौ? तिमी के हौ?
कवि विक्रम सुब्बा, तस्विर साभारः जोतारे धाइबा 
- विक्रम सुब्बा


तिमीलाई पहिलो चोटि देखेपछि
मेरा हराएका घाम जून भेटे जस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन्..


मेरो सपना पनि हराएको थियो,
हेर्दै लाँदा त्यो पनि तिमीमा भेटे जस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो ..
मेरो आफ्नो फैलावट हो


मेरो संगीत हराएको थियो,
अचानक एक दिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो


त्यसै गरी
मेरो खुशी पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रा ओठहरुमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मेरो मुस्कान हो

अब म के भनौं
अब म के सोचौँ
तिमी मेरो अमूल्य सम्पतिको थुप्रो हौ?
कि मेरो सानो देशको मेरो सानो झुप्रो हौ?
भन...भन...
तिमी को हौ? तिमी के हौ?

=================

कवि विक्रम सुब्बाको यो कविता त्यती बेला मन परेको थियो, जति बेला म कविता भनेपछि एक कोस पर भाग्थें । यस्तो छोयो मनमा कि अहिलेसम्म गढेर बसेको छ ।


No comments:

Post a Comment

Popular Posts