Sunday, May 27, 2012

अखण्डता vs संघियता

शिर्षकमा नजानु होला, यो शिर्षकले हाम्रो राष्ट्रको  जल्दो बल्दो विषयलाइ सम्बोधन गरेको छैन । यो त म निरिह जनताको एउटा सानो दुःखको सानो कथा हो  ।
मेरो ज्यूबाजे र  हजुरबाले तराइको एउटा जिल्लाको एउटा गा.वि.स.को लगभग एउटा सिंगै वडा नै आर्जेका थिए । साम, दाम, दण्ड, भेद के के प्रयोग गरी कसरी आर्जे मलाइ थाहा भएन । तर हजुरबाको मुखबाट जग्गा आर्जेको गौरवगाथा चै खुब सुन्न पाइन्थ्यो । कसरी आफ्नो जग्गा जमिन तीन गाउँ फैलाएको भन्ने कुरामा खुब गर्व गर्थे हजुरबा । 

मेरो बुवाले अन्तरजातिय विवाह गरेका कारण हजुरबा र बुवाको सम्बन्ध राम्रो रहेन । आमा र बुवा घर जानु भएको कहिले रूचाउनु भएन वहाँले । म नाती भएकोले होला मलाइ चै माया गर्नुहुन्थ्यो । बुवाले पनि बाँचुन्जेल घरबाट केही लिनु भएन । बुवा र आमा  एक्लैको बलबुतामा परिवार चलाउनु भयो, हामीलाइ हुर्काउनु भयो । 



बुवा बित्नु भएपछि भने अंशको कुरा आयो । बाजेले अंश दिनै मान्नु भएन, मैले पनि माग्न गइन खासै आवश्यकता पनि परेको थिएन । त्यसपछि हजुरबा पनि बित्नु भयो । परिवारमा अलि आर्थिक संकट पनि छाउन थालेपछि चै मलाइ मेरो पुश्तैनी हकअधिकार पाउनु पर्छ भन्ने चेतना जागृत भएर आयो । म मेरो एकसूत्रिय माग राखेर काकाकहाँ पुगेँ । मेरो माग ठाडै अस्विकार गरी विखण्डनकारीको दर्जा दिए तिनले । यत्रो वर्ष त्यो जग्गा र घरका लागि केही नगरेको, अनि बुढा मरेपछि भाग खान आएको भनि ठाडो आरोप लाग्यो । मैले ठाडो प्रतिवाद गरेँ, घरमा बस्न नदिएर, हकअधिकार र कर्तव्य केही पनि नतोकेको हुनाले घरपरिवारका लागि योगदान दिन नपाएको गुनासो गरेँ, तर काका मान्नु भएन । 

Saturday, May 26, 2012

मुस्कानको साघुँ (गजल - ७२)



विछोडमा बाटो छेक्न दुई धारा आसुँ थियो
तरि जाउ भनि फेरी मुस्कानको साघुँ थियो

आसुँ भन्दा याद प्यारा आँखा भरि सजि रहे
याद पनि आसुँ सँग सँगै बगी जानु थियो

अधर त मौन थिए नाम फेरी उही गुन्ज्यो
धड्कनको पुकारमा कहाँ मेरो काबु थियो


समयको घेरा तोडी डुब्दै थियो घाम पनि
विछोडको त्यो मौसममा कुनै कालो जादू थियो

भिड माझ खुबै खोजेँ मलाई घाउ दिनेहरू
शत्रु आफ्नो भेट भयो जब ऐना सामु थियो

Sunday, May 20, 2012

स्वतन्त्र (कविता)

जय शम्भो....बन्द धेरै भो.....शान्ति कम भो!!

Photo Courtesy : Omlal Akayla

एउटा मान्छे बनेर
जिन्दगीको सफरमा हिँडेकोलाइ
रोक्ने कोशिश गर्दै गर
कहिले विचारको झन्डा बोकेर
कहिले मागको तगारो तेर्स्याएर
अनि कहिले कानमा
नाराको चर्को आवाज चर्काएर
तर्साउने कोशिश गर्दै गर

मेरो सोच स्वछन्द छ, उडारहन्छु
मेरो पाइला स्वतन्त्र छ, चालिरहन्छु
म स्वतन्त्र छु 
अघि बढिरहन्छु

Wednesday, May 16, 2012

(No) बन्द

बन्दको दिन
कार्यालयभित्रको एउटा कोठाको दृश्य

एकजना व्यक्ती मोबाइलमा नम्बर डायल गर्दै
९..८..५...६...०...३..१..८,८,८
"टुँट ..टुँट..टिँट, टुँट टिँट...टिँट..टुँट, टुँट टुँउउउउट"

"तपाइँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ...कृपया"

"ह्या....यो एनटिसीकि दिदी... मोरो बाहुन बाजेको फोन पनि आज व्यस्त नभए कहिले हुन्थ्यो, यो बाहुनलाइ छोडेर क्षत्रीलाइ फोन लाउन पर्यो, नम्बर पो कति हो...ए.."

९..८..४..६...४...२..१..९,२,०

"टुँट ..टुँट..टिँट, टुँट टिँट...टिँट..टुँट, टुँट टुँउउउउट"
ट्रुँट ट्रुँट...
'ए लाग्यो लाग्यो...यो चाँही बेरोजगार रैछ'

उता फोन उठ्छ

'हलो'

'हलो...हजुर यो क्षत्री समाज नेपालको फोन होइन'

'हो'

'ए ए..हजुर चै को बोल्नु भएको होला?'

'म अधक्षे बोल्दैछु'

'ए .. हजुरको शुभनाम के होला?'

' के थियो भन्नु न...म अलि हतारमा छु'

'ए.. ए.. एउटा सूचना थियो..त्यो भन्दा पहिले आज मेरो जिवन अलिकति कष्टकर बनाउन प्रयास गर्नु भएकोमा तपाइँहरुको घोर भत्सर्ना गर्न चाहन्छु'

'हँ...के भन्नु भो , हाम्रो माग पुरा गराउन बन्द गर्नै पर्ने बाध्यता गरायो नि सरकारले । देश टुक्रा टुक्रा पार्ने षडयन्त्र विरुद्ध...'

'ए अदक्षेज्यू, मैले तपाइँको भाषण सुन्न फोन गरेको होइन...त्यो बानेश्वर चोकमा उभिएर गर्नु होला...'

(रिसाएर)'अनि...के ...??'

(कुरा काट्दै) 'तपाइँ एकछिन चुप्प लागेर मेरो कुरा सुन्नुस्... म आज विहान ९ बजे भक्तपुर देखि कोटेश्वर, बानेश्वर, रत्नपार्क हुँदै बाइक हुँइक्याउँदै तपाइँको बन्दको ठाडो अवहेलना गर्दै महाराजगन्जमा रहेको मेरो कार्यालयमा काम गर्न पुगेकोछु । अब साँझ ५ बजे फेरी यही बाटो हुँदै घर फर्कनेछु । तपाइँको माग सही हो या गलत मलाइ थाहा छैन । तर यत्ती बुझ्नुस् मैले तपाइँले घोषणा गर्नुभएको बन्द ठाडै अवज्ञा गरेकोछु... अब के गर्न सक्नुहुन्छ...गर्नुस्...'


फोन काट्दै ...'टुइँट'




टेलिफोन नम्बर श्रोत

एक हप्ता अगाडी भएको बन्दका केही दृश्यहरू

Popular Posts