अब के? व्हाट् नेक्स्ट?
समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ ।
जिन्दगीमा अगाडी बढ्नुलाई अलि बढी नै क्याजुली लिईएछ । सानै छँदा यसले भविष्यमा केही गर्छ भनेर गुरू, दाइ, दिदी, काका, अङ्कल, अण्टी, छिमेकी, ज्योतिष लगायत समाजका अग्रजहरूले चढाएकै थिए । जिन्दगीमा पक्कै पनि केही गरिन्छ भनेर मख्ख पर्दै अगाडी बढियो ।
पढ्नु भनेको रहर थियो । उत्सुक दिमाग, जे भेट्यो त्यही पढ्यो । अवलोकन गर्न जाँगर थियो । बाटोमा जहिले पनि माथी, दाया बाया हेरेर हिँड्ने गरिन्थ्यो । आमाले बाटो हेरेर हिँड भनेर धेरै भन्नु हुन्थ्यो । तर भुँइ हेरेर कहिल्यै हिँडिएन । चिउँडोमा अनेकौ पत्र पत्र खत साक्षी छन् । पढियो, जाँच पास गरियो, कहिले फस्ट भइयो, कहिले ड्रप गरियो । जागिर खाइयो, लेखेरै बढुवा भइयो । यसले केही गरिसक्यो भन्ने समाजका अग्रजहरूले अझ्झै यसले केही गर्छ भनेर भन्न छाड्ने त हैनन्? आफूले भने के गर्ने हो मेसो पाउन सकिया छैन ।
कति माथी जाने त? जति माथी गएपनि त्यो माथीभन्दा माथी अरु कोही, अरू केही हुने रहेछ । कति माथी पुगेपछि एक्लो हुने हो? कति माथीसम्म साथीहरू भेटिने हुन् । कति माथी पुगेपछि खुट्टा खान्न छाड्ने हुन्? अब के? व्हाट नेक्स्ट?
यो देशमा सिस्टम छ । सिस्टम मै चलेको छ । रितिथिति भन्दा पनि बेथितिको सिस्टम गज्जबले बलियो गरी चलिराख्या छ । चिन-जान, नाता-गोता, भन-सुन, हात्ती-बाघ, नेता-चेला सबैको असन्तुलित मिश्रणले काम भन्ने जिनिस चलिराख्या छ । कोकाकोलाको फर्मुला बरू पत्ता लगाउँला यो काम बनाउने फर्मुला चैं क्र्याक गर्न सकिएन ।
अब के? व्हाट नेक्स्ट?
मबाट हुने कामका लागि दु:ख दिन्न । फर्मुला बनाउन्न । सक्ने यत्ति हो । अब के, भन्ने थाहा दिनु जरूरी छ ।
मेरो मुस्कानले खुलोस् तिम्रो हाँसो
मलाइ तिमी, तिमी मलाई यै खाँचो
एउटा दीपले सयौं दीप जलोस्
साँझमा एक आश बिहान सरी बनोस्