Tuesday, December 10, 2013

जागिर

आजकाल कार्यालयमा म कामहरुबाट 
फुर्सद निकालेर व्यस्त हुने गरेको छु

काम सघाउने बहानामा
आफ्नो काम गर्न उनको टेबल सामु
उभिएको हुन्छु


औंलाहरू टेबलमा छरिएका कागजहरूसँग 
बल्झिँदै-अल्झिँदै गर्दा 
कानको लोतीबाट फुस्किएर 
गाला र ओँठसँग जिस्किदै गरेका 
कपालका रेशाहरूलाई

एक्कै छिनको फुर्सद निकाल्दै 
मुठो पारी उनीले जुरोमा बाँध्दा 
जुरो मै बाँधिएर म पनि 
सगरमाथा उचाँईमा पुगेको हुन्छु 

सुस्ताउँदै, 
तिमीले जुरो खोल्दा
काँधमा फैलिने केश लहर सँगै 
आकाश जस्तै म पनि फैलिएको हुन्छु 

यसरी नै बाँधिएर फुस्किने क्रममा 
यही प्यारो काम सँग  
झन् झनै अल्झिँदैछु 
झन् झनै बाँधिदैछु 


लाग्छ अब यही जागिरलाई जिन्दगी बनाउँ 
न सरुवाको चिन्ता, न बढुवाको धक्धकी 
यो प्यारो काम 
गरिरहुँ ! 
गरिरहुँ !!

2 comments:

Popular Posts