Tuesday, September 27, 2016

तीन रूपैँया

(नेपालखबर.कममा साउन २२, २०७३ मा प्रकाशित)

टुइटरमार्फत बिहानै थाहा भयो। पेट्रोलको भाउ घटेछ, त्यो पनि दुइ दुइ रुप्पे। मन एकछिन फुरुङ्ग भो। तर त्यो दुई रूप्पे घटेपछि हुने दर सम्झेर एकैछिन मै सुरूप्पै भो। रू उनान्सय बाट रू सन्तानब्बे त हो नि। कत्ति न हो र? कार्यालय जाने समय भइसकेको थियो। सल्लाघारीबाट टेकुसम्मको बाटो समान्यतया मेरा लागि जम्मा बीस मिनेटको हो। तर घरबाट निस्कन अलिकति मात्र पनि ढिलो भयो भने कार्यालयसमयको जाममा परिन्छ। अनि त समय बीस मिनेटबाट डेढ घन्टा लाग्ने भइहाल्छ।

बाइक सुचारू गर्ने बित्तिकै तेलको डाँडी लुत्रुकै तलतिर लागेकोमा आँखा गइगो। अर्थात ट्यांकी खाली छ। भाउ बढ्ने हल्लाले हो कि के हो, हिजो पेट्रोल पम्पमा "छैन"वाला साइनबोर्ड झुन्डिएका थिए।  आज पनि उही त हो पारा। अब बाटैमा पर्ने भरपर्दो पम्पमा नै जानु पर्यो।



ठिमी र सल्लाघारी बीचमा सशस्त्रको गुह्यश्वरी पम्प पर्छ। त्यहाँ बिहानै ८ बजेदेखि लाम लागेको हुन्छ। त्यही लाइन लागियो। लाम धेरै लामो त थिएन। आधा घन्टा लाम जति बसेपछि पालो आयो। हतार हतार ट्याङ्की खोलेँ। पेट्रोल हाल्ने कर्मचारीले सोधे "सर कति?" त्यसपछि पर्स तिर हात गयो। ला! हतारमा पर्स नै छुटेछ। पेन्टको गोजीमा हात हालेँ। एउटो सयको नोट फेला परो। अनि भनेँ "एक लिटर।"  मिटरमा खरर एक दुई तीन गर्दै शून्य देखियो, र एक लिटर पेट्रोल ट्यांकीमा झर्यो। मैले हातको एक सयको नोट तेर्स्याएँ र पैसा लिन बसेको अर्को कर्मचारीले पैसा लिए र भनेँ "सर अगाडी बढाउनुस्।"
"भाइ, फिर्ता नि?" मैले मेरो फिर्ता तीन रूपैँया सम्झिएँ।
"छुट्टा छैन सर" कर्मचारिले झर्केर भने। त्यसै त मैले अलमल गरेकोमा कर्मचारीलाइ झिँझो लागी सकेको थियो।
"खुद्रा छैन भन्न त मिलेन नि भाइ, त्यो त राख्नु पर्यो नि" म फेरी बोलेँ।
"छैन त के गर्ने सर? तपाइँले मिलाएर दिनु न त" यसपाली पेट्रोल भर्ने कर्मचारी बोले।
माथी लाम पछाडीका मान्छे मैले ढिलो गरेकोमा रिसाइसकेका थिए । आखिर हतार सबैलाई नै हुन्छ । पछाडीका मान्छे बोली हाले ।
"छिटो गर न यार, के दुइ तीन रूपैयाका लागि किचकिच गरी'रा?" आखिर हो पनि, के दुइ तीन रूपैयाका लागि कराइराख्नु ? मैले बाइकको किक हानेँ र हुत्तीएँ कार्यालय तिर।

पम्पमा मन मारेर तीन रूपैँया त छाडियो तर त्यो तीन रूपैँयाको लोभ मार्न सकिएन। आखिर तिर्नुपर्ने सन्तानब्बेमात्र थियो, बेकारमा सय किन तिरेँ? ठगी हो यो त। फेरी एकचोटीको हैन, सँधै सँधैको ठगी हो। मजस्तैबाट उठाएको तीन रूपैँया थुप्रियो भने कति हुँदो हो? दैनिक तीनसय पचास बाइकले मात्र तीन सय दिए भने त हजारभन्दा बढी उठ्छ। एक महिनामा तीस हजार हुन्छ । त्यो तीस हजार भन्या त आफ्नो एक महिनाको तलब पो त। एउटा पम्पको कर्मचारीले बसी-बसी मेरो तलब बराबर कमाउँदो रहेछ। तनाव भो!
अनि झल्यास्स सरकार याद आए । बजारमा सरकारले तोके भन्दा बढी मूल्य लिइएको पाए कारबाही हुनेछ भनेर बारम्बार सुनिएको हो । बारम्बार पम्पहरूमा छड्के हुँदा पेट्रोलको मात्रा कम दिएको, मिसावट गरिएको, खुद्रा पैसा नदिएकोले कारबाही गरिएको खबर पनि सुनिएकै हो । टुइटरमा हेलो सरकारलाई मेन्सन गरियो पनि । "हरेक पम्पमा रू १/२ का सिक्काको व्यवस्था गरी अनुगमन गरौं कि त दर ५ को गुणनमा दर कायम गरौं । ९९ होस् कि ९७, पम्पले लिने १०० नै हो"

 


हेलो सरकारले कारवाहीका लागि लेख्लान् नलेख्लान् तर जवाफ दिन्छन् भन्ने विश्वास चैं छ। जवाफ आयो पनि, "खुद्रा पैसा लिएर जानु ग्राहकको पनि जिम्म्वारी हुन्छ।" कुरा ठिकै हो । लेनदेनमा रकमको व्यवस्थापन गर्नु दुवै पक्षको जिम्मेवारी नै हो । तर पैसा कमाउने उद्देश्यले बसेको व्यापारीले खुद्रा नभएकै बहानामा बढि पैसा लिन पाउनू पनि त भएन । पेट्रोल किन्ने मान्छेले आज खुद्रा भएन ३ रूपैया कम लिनुस् भन्दा हुन्छ भन्ने त मैले कैले सुनेको छैन है।

कुरै कुरामा थप जवाफ आयो "३ लिटर तेल हाली फिर्ता पैसा नभएमा ३००।–को तेल हाल्न सकिन्छ नि। खुद्रा पैसा पनि छोड्न पर्दैन। धन्यवाद"
 
हेलो सरकारको सुझाव मनन योग्य नै हो। तेलको मात्र नै मिलाएर लियो भने यो झन्झटै हुन्न नि। रू तीन सयमा सन्तानब्बेको दरले आउने तीन दशमलब शून्य नौ तीन लिटर पेट्रोल हाल्न पनि त सकिन्छ नि। ठिकै छ पम्पले ठ्याक्कै तीन दशमलब शून्य नौ तीन लिटर नाप्न नसक्ला तीन दशमलब एक लिटर नै दिए समस्या भएन। तर दिएन भने के गर्ने त?

विदेशको बसाइ याद आयो । त्यहाँ त किराना पसल, बस कन्डक्टर जहाँ जहाँ कारोबार हुन्छ, त्यहाँ टन्नै खुद्रा पैसाको व्यवस्था गरेका हुन्थे। हाम्रोमा कहाँ यस्तो हुनु? सरकारले भने जस्तै म पनि खुद्रा पैसाको व्यवस्था गर्थेँ होला। टक्सारको भुइँचालोले भत्केको घर झल्झल्ती आँखा अगाडी नाच्यो। किराना पसलमा जाउँ सिक्काका सट्टा चकलेट दिन्छन्। सरकारले जतिसुकै बस भाडा तोके पनि न्यूनतम भाडा पन्ध्र रूपैँया नै हो। बैंकमा जाउँ, त्यहाँ पनि सिक्का दिँदैनन्। राष्ट्र बैंकमा जाउँ भने लामो लाम अनि टाढा। खुद्रा पैसा व्यवस्था कसरी गर्नु?
बडो माथापच्ची भो, साथीहरूले जाबो सानोतिनो कुरामा सरकारलाई गुनासो नगर पनि भने। ठिक हो कुरा त। कति ल्याङ्ल्याङ गर्नू? हेर्नुस् सरकार महोदय, बरू पेट्रोलको भाउ १०० नै कायम गरिदिनुहोस् । जाबो दुइ तीन रूप्पेका लागि मन सानो पारिन्न । पम्पवाला ठग ब्यापारीहरूलाई फोकटिया तीन रूपैँया दिनु भन्दा त म सरकारलाई नै दिन्छु । कमसेकम आयल निगम राम्रो नाफामा जान्छ। तेल आयात सुचारू हुन्थ्यो, कर्मचारीहरूले बोनस बढी खान्थे। व्यापारीले ठगेको भन्दा त सरकारले लुटेकोमा कम दुःख हुन्थ्यो नि।

No comments:

Post a Comment

Popular Posts