हिँड्नका लागि कहिल्यै हिँडिएन । गुड्नकै लागि भने धेरै चोटी गुडियो । अरू त के हुनु? लक्ष्य त साथीसँग भेटघाट मात्र थियो । पोखरा जाने कुरा थियो, तारतम्य मिलेन । मान्छे पनि थिए, बाइक पनि थिए, समय पनि थियो । एउटो लाइसेन्स मिलेन ।
हाइवे, हाइवे जस्तो रहेन । ओभरटेक गरम् खाल्डोमा जाकिने डर, नगरम् बाह्र चक्के र टिप्परको चिप्लेकीरे पारामा परिने । धूँवाधुलो मजाले खाइयो । काठमाडौंबासीले धेर गनगन नगरे हुन्छ, हाइवेबासीले उनारू भन्दा कैयौं गुणा बेसि धुँवाले टपिङ गरिएको धूलो खान्छन् ।
गोरखा पुगियो । थाकियो, सुतियो । बिहानै गोरखा दरबार हेर्न जाने कुरा भयो ।
होटलको कोठामा निद्रा लाग्दैन । बिहान ४ बजे निद्रा खुल्दा कता कता पुगेजस्तो हुने । साह्रै सफा ठाउँमा शरिर सुत्न मान्दैन । आफ्नो कोठाको छताछुल्ल वातावरण आँखाले बढी रूचाउँछ । दरबार केमा जाने भन्ने कुरा उठ्यो । जम्मा १ घन्टाको पैदल यात्रा, हिँडेरै जानुपर्छ भनियो । मर्दी बेसक्याम्प पुग्न हिँड्नपर्ने मान्छे, जाबो एक घन्टा नहिँड्ने कुरै भएन । सुशान्त हिँड्न रहर गर्दैन, बाइकमा जाम् भन्दै थियो, मानिएन ।पुरञ्जनले त ठाडो उकालो छ दाइ भनेकै हो । सकिन्छ, हिँड्नुपर्छ भनेरै हिँडियो ।
उकालो त उकालै रहेछ । ठाड्डै । कसले हो भन्थे, गोरखा दरबारको भर्याङ्ग हजार खुड्किले छ भनेर । त्यो मोरोले नि सय दुइ सय गनेपछि अल्छि लागेर ठाडै हजार छ भन्द्या हुन पर्छ । नत्र हजार भन्दा बढी नै छ खुड्किलो । बाटोमा अघिअघि केही थान मोटिभेसन भेटिएर मात्र हो, नत्र उकालो उक्लिन्न थेँ होला । बिचबाटै फर्केर बाइक लेर आउँजस्तो नि भएकै हो, तर इजेतको सवाल छ । उता इशदाइले टुइटरमा मर्दि हाइक्याम्प पुगिस् भनेर जिस्काउँदै थिए, इजेत सम्हाल्नै परो ।
उक्लदाँ उक्लदैँ वाक्वाकी लाग्यो । लेक लाग्यो कि भनेर शङ्का पनि भयो । जाबो ३ हजार फिटमा लेक लाग्दैन, लाग्नु पनि हुँदैन । बिहान खाली पेटमा ठेलेको चिया बिस्कुट हुनपर्छ । त्यही बेला हिजो बेलुकाको सेकुवा र छोयलाले पनि बल गर्यो । पसिना त छुटेकै थियो । शरिर नै बाहिर आउन खोज्छ त बा । कस्तो सकस हो यो उकालोको? अङ्ग्रेजहरू गोरखा हान्न आएका भए उकालो देखि तर्सिएर फेदि मै बस्थे होलान् । अनि कुर्थे होलान् "गोर्खे हो, कहिले त तल झर्न पर्ला नि तिमारूलाई" भन्दै !
गोरखा दरबार चैं भव्य रहेछ तर सानो रहेछ। यैँ दरबार, यैँ मन्दिर, यैँ अर्को मन्दिर । पहाडको टुप्पामा बनाउने ठाउँ पनि त थिएन होला । पृथ्विनारान त्यसै उपत्यका हान्न गएका हैनन् । अहिले ढुङ्गा छापेर टाँसेर आकर्षक बनाएका रहेछन् । बादल फाट्ला र हिमाल हेरम्ला भन्या, बादल खुलेन । अलि तल अर्को मन्दिरको टुँडाल हेर्न थालियो । यो टुँडालमा यौनासन कुँद्ने चलन पक्कै पनि कुनै दबङ्ग राजाले चलाएको हुनुपर्छ । "लु हेर जनता हो, तिम्रा राजा कति बब्बाल छन्" भनेर आफ्नो कीर्ति चारै तिर फैलाउने उद्देश्य हुनुपर्छ । टुँडालमा टोलाइ रहँदा यस्सो बिचार आयो, "हामी फरएभर अलोनहरूले मन्दिर बनाए र त्यसमा टुँडाल राखे भने कस्ता कस्ता एलोनासन हाल्दा हुन्?"
अलि पर शिव पाइला रहेछ, त्यसलाई सीतापाइला भन्ने दुइजना भेटिए । ऊ बेला देखि नै सीतापाइला सुनेको अरे तर बोर्ड चैं शिव पाइला भनेर लेख्या रहेछ । सीतापाइलामा एउटा मूर्ति रहेछ । त्यसमा मान्छेहरूले धूप बाल्दा रहेछन् । धूप त बाल्ने तर धूपको खोल दुइपाइला पर रहेको डस्टबिनमा फाल्न पनि अल्छि लाग्ने रहेछ । अल्छिहरूको कमी छैन जहाँ गएपनि भेटिन्छन् ।
गोरखामा घुम्ने ठाउँ नरैछ । घुमघाम सकियो । १२ बजे गोरखाबाट गुडेको मान्छे ७ बजे कलंकी पुगियो पनि ।
तस्वीर थुप्रै खिँचियो, कामलाग्ने तस्वीर खिँचियो । नत्र गोरखा किन गएको भन्ने प्रश्नको उत्तर आफै सँग नहुने रहेछ । गोरखा नगइ नहुने ठाउँ हैन रहेछ, गए हुने ठाउँ पनि भन्दिन । एकपटक पनि गोरखा नगएको मान्छे भनिएर मर्दा पनि खासै घाटा नहुने रहेछ । त्यो शुक्रबार बरू ठमेलतिर डुलेको भए आज ज्यान दुख्दैन थियो होला...
लैजाऊ घुमाउन मलाई ठमेल बजार
त्यैँ लाउँला चोखो पियार ।
No comments:
Post a Comment