Monday, April 13, 2015

गजल ९२



न त अडाउँछ न त बहाउँछ लहर
घोप्टिएको डुङ्गालाई के छाल के बगर

जुन यात्रीले बाटोलाई अपनाउँछ
पाईला जहाँ रोकिन्छ, त्यही हो घर

समय मै आउनु जोगाउनु मलाई
म्याद हुन्जेल ओखती, गुज्रेमा जहर

Sunday, April 12, 2015

पानीको कथा (कविता)

यो पानी
जति लहर बनी उर्लोस्,
जति बादल बनि उडोस्
धर्तीको गुरूत्व तोडी भाग्न सक्दैन
थोपाथोपामा टुक्रिएर बर्सिन्छ र
ठोकिन्छ यही धर्तीमा


आकाशे पानी र आँखाको पानी
दुवैको कथा उस्तै उस्तै ।

Monday, March 2, 2015

बालुवाको धागो (कविता)


नदी सँगको मायामा 
बगरबाट एक मुठ्ठी बालुवा 
मायाको चिनो भनि लिएर आएको थिएँ
घरसम्म पुग्दा हात त रित्तो भईसकेछ

हातबाट चुहिएको बालुवाको धागोले 
फेरि नदिसम्मै बाटो देखाउने रहेछ

Friday, February 13, 2015

प्रेम र गुलाब (कविता)

प्रेम गर्छु भनि
एउटा भाँच्चिएको गुलाफ
दिएर गयो कसैले
बडो जतनका साथ तिमीले
कपालमा सिङ्गार्यौ
फुलदानीमा सजायौ
ओईलिए पछि
अमर प्रेमकहानी लेखिएका किताबमा राख्यौ
फूल सँगै प्रेम भाँचियो, ओईलियो, सुक्यो, साँचियो
जे होस्!
तिम्रो मनमा प्रेम बाँच्यो

मैले पनि
तिमीलाई देखाउन भनि बँगैचा भरी
सात रङ्गका गुलाब फुलाएको थिएँ
न तिमीलाई निम्तो गर्न सकेँ
न तिमी कहिल्यै आफै आयौ

प्रेम त्यो किताबमा च्यापेको सुकेको गुलाबमा
अनि यो बगैंचामा हाँसेर फुलेको गुलाबमा
बाँचेको छ!
बाँचेको छ!!


Popular Posts