Tuesday, January 24, 2012

लूटः तपाइँको भविष्य तपाइँकै हातमा छ


"तपाइँको भविष्य तपाइँकै हातमा छ"
यो संवाद लूटमा प्रयोग भएको छ । तर सुन्न पाउनु हुन्न, पढ्न पाउनु हुन्छ कतै । निश्चल बस्नेतको भविष्य पनि उनकै हातमा थियो र उनले भविष्य राम्रै बनाएका छन् ।
प्रोमो अनि पोस्टर हेर्दा पनि विश्वस्त हुन सकिएको थिइएन । प्रोमो राम्रो अनि चलचित्र चै उही पाराको "नेपालीपन" बोकेको हुन सक्ने सम्भावना थियो । तर फेसबुक र ट्विटरमा भएको चर्चा पश्चात विश्वस्त भइयो कि चलचित्रमा दम छ । भिड राम्रै थियो चलचित्र भवनहरूमा, बुकिड्ग गर्दा पनि टिकट लिन ठेलमठेल गर्नु पर्दा खुशी नै लागेको थियो ।

बैंक लूटको कथा नौलो पनि छैन तर प्रस्तुतीकरण र नेपालको सन्दर्भमा भएको Adaptation
चै प्रशंसनीय छ । बैंक लुट्ने कसरी भन्दा पनि बैंक किन लुट्नु पर्यो र कसले लुट्दैछ भन्ने कुरामा कथा केन्द्रीत छ । "म सँग बैंक लुत्ने मास्तर प्लान छ" भन्ने हाकु कालेको मास्टर प्लान कस्तो र कत्तीको प्रभावकारी छ भन्ने चै कथाको अन्त नपुगी बुझ्न नसकिने छ । तर पनि बैंक लूटलाइ बढी ध्यान दिएको भए कथा अझै दमदार हुने थियो ।

लूटको सबैभन्दा सकारात्मक पक्ष भनेको यसको Realistic Approach हो । लूटमा कृत्रिमता वा नाटकियपन झल्केको छैन । अभिनय, संवादले लूटलाइ जिवन्त बनाएको छ । लूटको आत्मा भनेको हाकु काले हो । सौगात मल्लको अभिनय जिवन्त छ, कतै सौगात देखिन्नन्, मात्र हाकु काले देखिन्छ । तर हाकुको नेवारी लवज चै अलि आएन । अर्को सजिव पात्र गोफ्लेको छ । दयाहाङ्ग राइले लूटलाइ रमाइलो बनाइ दिएका छन् । निश्चल, सौगात र दयाहाङ्गको सम्वादमा खोट लगाउने ठाउँ छैन । चरित्र अनुसार स्वभाविक रूपमा संवादहरू बगेका छन् र यसैले नै लूटलाइ बलियो बनाएको छ। बेलाबेलामा आउने "Beep" ले चै अति नै झर्को लाउँछन् ।

चलचित्रको शुरू मै आएको गीतले निराश चै गर्यो । अनि हरेक चोटी गीत बज्दा निराश भएँ, निर्देशक चलचित्रमा गीत चाहिन्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेकोमा । शुरूवाती गीत र सुजिलको गीत बाहेक अन्य गीत, गीतको हिसाबले पनि राम्रा छैनन् र चलचित्रमा उपयुक्त पनि छैनन् । कोचिएका छन् बेकारमा । खासगरी चर्चामा आएको गीत उध्रेको चोली अनावश्यक नै छ । प्रोमोसनल गीतलाइ चलचित्र भित्रै देखाउनै पर्छ भन्ने छैन । पार्श्व संगितले चलचित्रलाइ धेरै नै सहायता गरेको छ । द्वन्द पक्ष सबल नै छ । भक्तपुरका गल्लिहरूमा खिँचिएको लखेटाइ चै गज्जबको छ । केही द्वन्द दृश्य चै अनावश्यक रूपमा तन्काइएका जस्तो भान पर्छ ।


छायाँकन राम्रो छ तर नयाँ कुरा मैले देखिन । नेपाली चलचित्रका लागि नौलो भए पनि रामगोपाल वर्माका चलचित्रहरूमा देखिरहेको क्यामेरा वर्क लूटमा देखेँ । खासगरी 360 Vertical Rotation, Back View mirror shot RGV को चलचित्रमा प्रयोग भइरहन्छन् ।

समग्रमा भन्दा लूटले नेपाली मूलधारको चलचित्रमा नयाँ आयाम थपेको छ । वर्षौ पछि कुनै नेपाली चलचित्र अपेक्षा गरे अनुसार बनेको छ । लूटको व्यापारिक सफलताले यो प्रमाणित गरिसकेको छ । आगामी चलचित्रहरूका लागि लूट एउटा चुनौती बनेको छ । लूटले पनि सिक्वेलका लागि ठाउँ राखेको छ र स्वयं लूटको टिमलाइ ठूलो चुनौती हुनेछ ।

(तस्विर साभारः https://www.facebook.com/LOOTNEPALIFILM)

2 comments:

  1. completely agree with you broda!

    ReplyDelete
  2. Damn idiots, Few guys are showing five shows if this movie and none is scheduled on SATURDAY! Foolish big foos. Except the premiere on Sunday (22nd Jan) rest of the shows are on weekdays and top of that at 6:30 pm. Poor me, I workds at that time. DVD wait garnu parla. Natra Vuze ZindaabaaD!!

    ReplyDelete

Popular Posts