Tuesday, July 30, 2013

नयाँ ठाउँ, नयाँ वर्ष र नेपाली अनुभूति

नयाँ वर्षको पहिलो दिन, त्यो पनि विदेशमा । देशमा हुँदो हुँ त क्यालेन्डर, रेडियो, टिभी, सुनसान बाटोघाटो आदि-ईत्यादीले चिच्याई चिच्याई नयाँवर्ष र विदाको घोषणा गर्दो हो । तर यो देशमा नयाँवर्षको चहलपहल कहाँ र किन पाउनू? फेसबुकमा नेपाली राजदूतावासका कर्मचारीहरूले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए, जाउँ कि जस्तो लागेको थियो । त्यसै पनि बीसवटा देशका मान्छेसँग कनिकुथी अँग्रेजी बोल्दा बोल्दै वाक्क भईसकेको थिएँ । राम्रै जमघट होला नेपालीहरूको, केही नभए पनि नेपाली त बोल्न पाईन्छ नि भन्ने सोचियो । अरू युनिभर्सिटीमा पढी रहेका साथीहरू पनि जाने भएपछि, जाने जाँगर चल्यो । फेरी हिजो भर्खर किनेको नयाँ क्यामेरामा नेपालीहरूको फोटो खिँचेर नै उद्घाटन गरुँ कि जस्तो लागेर आयो । 

साथीहरू सँग साँझ दूतावास नजिकको स्टेसन बाहिर भेला हुने सल्लाह भयो । दूतावास भर्खरै नयाँ भवनमा सरेको रहेछ, कसैले देखेको चैं रहेनछ । दिइएको ठेगाना पहिले नै गुगल नक्सामा हेरेको चै थिएँ तर नक्सामा हेर्नु र ठाउँमै पुगेर हेर्नुमा आकाश जमिनको फरक हुन्छ । त्यसमाथि कसैको पनि मोबाईलमा ईन्टरनेट नचल्ने, कसरी जाने भन्ने समस्या पर्यो । एकजना साथीले दूतावासमा फोन गरेर बाटो सोध्नु भयो,
अलिकति आइडिया चैं भयो कसरी पुग्ने भनेर, साथै बाटो देखाउन ठाउँठाउँमा दिशानिर्देश टाँसिएको छ भन्ने पनि जानकारी आयो । हामी लुखुरलुखुर अगाडी लाग्यौं । अलि अगाडी गएपछि फेरी दोधार भयो, एउटा स्कुल अगाडी पुगेर दायाँ लाग्नु पर्ने,  कुन मोडबाट दायाँ लाग्ने भन्ने भयो । एकजना साथीको आँखा चैं बाटो पारी टाँसिएको एउटा कागजमा पर्यो । वारीबाट हेर्दा स्पष्ट भएन अनि नजिकै गएर हेरियो । दूतावास तर्फ एउटा पातलो धर्को तेर्साएर बाटो देखाइएको रहेछ । अनुमान गर्दै अगाडी लाग्यौ । केही चौबाटोहरू काटे पछि दूतावास भवन देखियो । दूतावासको यस्तो काम गराईले अप्ठेरो नै पार्यो । त्यही A4 कागजमा अलि ठूलो अक्षरमा स्पष्ट देखिने गरी छापेर टाँस्या भए नि त हुन्थ्यो नि ?

भवन सुनसान थियो । ढोका खोलेर भित्र पसेपछि कर्मचारीहरू देखिए । अभिवादन साटासाट भयो अनि हामी नयाँ दूतावास हेर्न तिर लाग्यौं । कार्यक्रम ७ बजे शुरू हुने भनिएको थियो, हामी त्यहाँ पुग्दा नै लगभग ७ बजिसकेको थियो । विस्तारै मान्छे भेला हुन शुरू भयो । नयाँ मित्रहरूसँग चिनाजान पनि भयो यही मौकामा । त्यहाँ उपस्थित अधिकांश कोरियामा अध्यनरत विद्यार्थीहरू थिए ।  कार्यक्रम समय भन्दा केही ढिलै शुरु भयो । महामहिम पनि उपस्थित हुने अपेक्षा थियो, तर आउनु भएन । किन आउनु भएन मैले चासो पनि दिईन ।



दूतावास भवनमा पस्ने बित्तिकै नेपाल पुगेको आभाष भईसकेको थियो मलाई । हाम्रो देशमा पाईलै पिच्छे भोग्ने बेथिति त्यहाँ पनि देखिँदै थियो । सियोलमा वायरलेस नभएको ठाउँ भेटिन  गाह्रो पर्छ भन्थे, त्यहि गाह्रो ठाउँमा पुगिएको रहेछ । भर्खर मात्र सरेको हुँदा दूतावासले वायरलेस सेटअप गर्न भ्याएको रहेनछ, एउटा सित्तैमा चल्ने वाईफाई त समात्थ्यो, तर त्यो चलेन । कार्यक्रमस्थलबाटै लाईभ फोटो र टुईट अपडेट गर्ने धोको पनि मर्यो त्यही बेला । त्यही बेला चिया खाने मौका जुर्यो । चिया भन्ने बित्तिकै त्यसै मन हुरुक्क !! कागजको कपमा मिठो चिया सुरुप्पै पारियो । कप फाल्नुपर्यो भनेर डस्टबिन खोज्छु, भेटिँदैन । भान्छामा एकजना कारिन्दा रहेछन् । उनैलाई सोधेँ डस्टबिन कता छ भनेर, बडो रूखो बोलीमा निधार खुम्च्याएर तिनले भने "उता कतै राख्देको छ, खोज्नू नि" । कोरियामा पसेपछि केही सोध्दा यसरी रूखो बोली सुन्न परेको पहिलो पटक थियो, क्या नेपाल झल्झल्ती अनुभूती भएर मन गदगद भो कि कुरै नगरुम् ।

कार्यक्रममा उपस्थिती हलुका नै भएकोले होला कार्यक्रम सञ्चालकले सबैजनालाई पालैपालो मञ्चमा आएर आफ्नो छोटो परिचय दिँदै शुभकामना दिने अवसर दिईन् । तर वहाँले शायद अनुमान लगाउनु भएको थिएन होला, "छोटो"को परिभाषा मान्छे र परिस्थिती अनुसार फरक हुन्छ । धेरै जसोले आफ्नो कुराकानी छोटो समय मै सकाए, तर बोल्न रुचाउने मान्छेहरू यहाँ पनि नहुने त कुरै भएन । त्यस्ता मान्छेको बोल्न थालेपछि घडी हेर्ने चलन हुँदैन, न त अगाडीका श्रोता झुपुझुपु भएको देख्छन् । नववर्षको शुभकामना आदानप्रदान कार्यक्रममा कोरियाको कामदारहरूका समस्या, गैरकानूनी बसोवास गर्नेहरूको समस्या देखि लिएर नेपालमा नेताहरूको अकर्मण्यता, आसन्न संविधानसभाको सम्भाव्यता सम्मका कुरा गर्न भ्याए मान्छेहरूले ।

यही बिचमा एकजना भाईको पालो आयो । शायद मञ्चमा पहिलो पल्ट बोलेको हुनुपर्छ, सातो पुत्लो उडेछ । बोली नफुट्ने भएर अड्की अड्की बोल्दै थिए । तर उनलाई आफूलाई परेको दुःख नसुनाई पनि भएको थिएन । कार्यक्रम सञ्चालिकाले उत्साहवर्धन गर्दागर्दै उनले कुरा त टुंग्याए तर समय सर्लक्कै खाईदिए । बिचमा रोए कि हाँसे क्यारे, मैले त्यो अभिव्यक्ति खुट्याउन सकेको थिईन । उनको दुःख पीडाका बारे कतिले चासो राखे थाहा भएन, उनी केहीका लागि हाँसोका पात्र बने, केहीका लागि विचरा पात्र बने ।

कार्यक्रमको अन्तमा खाजाको व्यवस्था रहेछ । खानाको मामिलामा म चैं साह्रो लोभी प्राणी, ठूलै अपेक्षा राखेको थिएँ । तर हलुका खाजा मात्रै रहेछ । सेलरोटी, चनाआलू र अचारको व्यवस्था रहेछ । क्याम्पस पढ्दाको समयमा एकोहोरो खाएको खाजाले यता पनि पिण्ड छोडेन । एकचोटी त पेटको उक्साहटमा दिमागमा झोंक नै चल्यो । दिनभरीको भोको, नेपाली जमघट, नेपाली दूतावासमा राम्रै अपेक्षा गर्नुमा मेरो के दोष? अझ रेस्टुरेन्टका कारिन्दाले चिस्सो सेल पस्किँदा त मुखै खोलेर भनुँ जस्तो लाग्यो । खाना तातो राख्ने व्यवस्था पनि गर्न नसकेका अल्छीहरूले?? तर त्यही बेला आफूले मञ्च अगाडी गएर भनेको कुरा याद आयो ।

"देश संक्रमणकालमा छ । केही कुरा सही हुँदैछन्, केही गलत हुँदैछन् । अरूले गरेको गलत काममा गाली गर्नु भएन । बरु आलोचनात्मक सहयोग गर्दै राम्रो कार्य गर्न सहकार्य गर्नुपर्छ । देश बनाउने हामीले हो, सबै कुरा नराम्रो हेर्न थाल्यौं भने सधैँ नराम्रो मात्र देखिन्छ । बादलको घेरा पछाडी उज्यालो हुन्छ भन्ने हामीले हेक्का राखेर सकारात्मक सोच राख्नु पर्छ ।"

थालभरी आलूचना र सेल थुपारेर साथीहरू सँग गफगाफमा व्यस्त हुँदै खाना खाएपछि कार्यक्रम सम्पन्न भयो ।  

2 comments:

  1. भाषण कडा गएछ ।
    खाजाले निराश बनाए पनि नयाँ वर्षमा आयोजित एउटा सानो कार्यक्रमको बयानले धेरै कुरा बोल्यो । खासगरी नेपाल र नेपालीबारे ।

    ReplyDelete
  2. After all those bitter experiences you end up with brilliant views upon positive thinking, and kept your cool. We don't have any choices rather than re-use our less efficient resources (leaders), do we? Those who have not understood this, may not agree with you. But you did good mate.

    ReplyDelete

Popular Posts