Tuesday, September 21, 2010

गजल लेख

पिडा भए गजल लेख, दुख परे गजल लेख ।
खुशीहरू मनबाट, पर सरे गजल लेख ।।

निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है ।
छल्किएर आखाँ बाट तल झरे गजल लेख ।।

यौवनको आँगनीमा सुख खोज्दै भौंतारिन्छौ
त्यै दैलोमा कुर्दा कुर्दै खुशी मरे गजल लेख ।।

आँखा भरी सजाउँछौ स्वप्न मिठो भविष्यको ।
विपनीमा यथार्थले आँखा तरे गजल लेख ।।

लेखनीमा भाव कुँद्ने हुदोँ रैछ रहर सबको
मनले नै हातलाई बाध्य गरे गजल लेख ।।

Monday, September 20, 2010 at 4:35pm

जोर चलेन

फैल्यो यति धर्ती माथि देह अटेन
माथि सिँगो आकाशले शिर ढाकेन

चौध भुवन त्रिलोक नै विजय गर्यो
आफैँ हारी सक्दा पनि अहं थाकेन

भाग बन्डा कम हुन्छ सोचेर होला
आफन्तकै गला रेट्न पछि परेन

आफैँलाई सजाएर रमायो आफैँ
आफू भन्दा पर कुनै संसार देखेन

मुठ्ठी बन्द गरी जान मन कहाँ थियो?
आखिरमा कालसँग जोर चलेन

Thursday, September 16, 2010 at 1:15pm

आज केही नयाँ हुन्छ

सूर्य हाँस्यो विहानमा आज केही नयाँ हुन्छ
स्वप्न नाच्यो सिरानमा आज केही नयाँ हुन्छ

अँधेरीको काल कट्यो, उजेलीमा बाटो खुल्यो
पिर सुत्यो चिहानमा आज केही नयाँ हुन्छ

पहाड सरी बाधाहरू छेक्न खोज्छन् बाटो मेरो
चिरा पर्यो पखानमा आज केही नयाँ हुन्छ

वर्षा याम विदा गरी मन खुल्यो सगर सरी
आश पलायो चिस्यानमा आज केही नयाँ हुन्छ

नौलो मेरो सुरूवातको सन्देश लिइ चरी गायो
आत्मा जाग्यो आव्हानमा आज केही नयाँ हुन्छ

रचना २०६७ श्रावण १७
परिमार्जन २०६७ भदौ २७

मैने देखा

हथेलियोँ मे लोगों ने अपनी तकदीर देखा
ईन नजरों ने तो सिर्फ उलझती लकिर देखा

उठाई जो उंगलिया गुनाहोँ की हिसाब मे
गुनाहगारों मे खुद की धुँधली सी तस्वीर देखा

सजदा किया रूह मे बसी खुदा के दर पे
हम मे दुनियाँ वालों ने ईक और काफिर देखा

चलने की ख्वाहिस जो कि नयी राहों मे
हम ने तो अपनोँ के ही मोहब्बत मे जन्जिर देखा

सब कुछ लुटा दिया हम ने मोहब्बत की नाम पे
जालिम जहाँ ! तुने इस दिवाने को फकिर देखा


Monday, September 6, 2010 at 5:00pm

माया हो धर्म मेरो

माया नै हो धर्म मेरो माया नै भो जात मेरो।
माया प्रेमको भजनमा बित्छ दिन रात मेरो ॥

भाग्य सँग भिड्न सक्छु आँट मेरो कसले नापोस् ।
डराउँछ आजभोली दशा साढे सात मेरो ॥

अचम्मको नशा रै'छ मन भुल्ने यो बानीमा।
उडाउँदैछ आकाशमा पिरतीको मात मेरो॥

चुपचाप लुकाए थेँ तिम्रो छवि यो मनमा।
नयनले धोका दिँदा खुल्यो खुराफात मेरो॥

साथ हुन्छु जहिले नि सुख दु:ख फरक छैन।
गाँसिएका छन् त्यो तिम्रो हातमा यो हात मेरो॥

मन भित्र वास तिम्रो देउता भन्नु तिमी भयौ।
गर्ला माफ ईश्वरले यस्तो विश्वासघात मेरो॥


Friday, September 3, 2010 at 1:42pm

गजल नै प्यारो मलाई

मुहार मेरो मुस्कानले रंगाउन प्यारो मलाई ।
पिर वेथा कतिकति लुकाउन प्यारो मलाई ।।

सुख दुख सबैलाई बराबरी भन्छु म त ।
खुशी बाँडी दुःख मात्र बचाउन प्यारो मलाई ।।

ऐश्वर्य भन्नु धन दौलत मात्र हैन मेरो लागी ।
अजम्बरी साथी संगी कमाउन प्यारो मलाई ।।

मनको मेरो उडानमा पुग्न सक्छु जहाँ पनि ।
कल्पनाको घोडाहरू दौडाउन प्यारो मलाई ।।

हृदयमा पलाएको भावना यो कलाकारको ।
गजल बनाई अक्षरमा सजाउन प्यारो मलाई ।।

सबिन सिंह
अगस्ट १८, २०१० बुधवार ।

झगडा भो

कुरा कुरा बाझी दियो, हामी बिच झगडा भो ।
कामधाम एकातिर, बेकारको लफडा भो ।।

तेरो मेरो लिने दिने हुन थाल्यो तुलना जो ।
माया प्रेम कुना सर्यो, अंहकार तगडा भो ।।

तिम्रो खुशी तिम्रो इच्छा, काम मेरो अरू छैन ।
गधा जस्तो जुनी मेरो, जीन्दगानी रगडा भो ।।

रिसाउनु रम्नु यहीँ आँसु हाँसो मेल यहीँ ।
सँधै भिड्नु परे पनि प्यारो यही अखडा भो ।।

Wednesday, August 11, 2010 at 3:57pm

फरक फरक

सुख दुख बराबरी हेर्ने आँखा फरक फरक ।
सबैको छ कथा एक भन्ने भाका फरक फरक ।।

सङ्घर्षको मैदानमा खेल अनि झेल दुवै ।
भिड्नु पर्छ सबले यहाँ छेक्ने बाधा फरक फरक ।।

चेतनाले सिचिँएको बोट यौटै ज्ञान फल्ने ।
विष अनि मिठो फल फल्ने हाँगा फरक फरक ।।

सूर्य किरण छाएको छ सबै माथी बराबर
तर पनि ठूलो सानो बन्ने छायाँ फरक फरक ।।

हरेक दिन भर्दै जान्छ, खाली पाना एक एक गर्दै,
किताब यौटै जिन्दगी यो, छोप्ने गाता फरक फरक ।।

Wednesday, August 11, 2010 at 1:01pm

मेरो कलम रोयो

आशुँ त्यहाँ बग्यो यहाँ कलम रोयो
घाउ त्यहाँ दुख्यो यहाँ मल्हम रोयो

हाँसे मुस्कान सँगै, पिरमा एक्लै पर्यौ
सदा साथ दिने, मेरो कसम रोयो

पर्खाल बन्यो आज, वैरी दुनिया यो
साथ हिड्न खोज्ने, हाम्रो कदम रोयो

गजलमा बुन्छु, कथा तिम्रो मेरो
तिम्रो मन सँगै, मेरो ईलम रोयो

Tuesday, July 27, 2010 at 9:47am

बन्छु

धर्ती आकाश भुल्छु, बादल बन्छु ।
सुख दुख भुल्छु, पागल बन्छु ।।

पैताला र शिरको भेद भुल्छु ।
चालमा ताल दिन्छु, पायल बन्छु ।।

सोच्छु एक थरी, हुन्छ अर्को ।
सत्य कालो छोप्छु, आँचल बन्छु।।

रहरको चिता, बिसाउँ कहाँ?
आफू भित्रै लिन्छु, खाडल बन्छु ।।

सुख दुख ताल समयको,
थाप दुवै थप्छु,मादल बन्छु ।।

पलाउँछ आशा बाँच्ने फेरी,
मर्नु भन्दा बरू घायल बन्छु ।।

Wednesday, July 21, 2010 at 4:25pm

दिलचोर

छाँतीको जेल कमजोर भयो
आफ्नो मान्छे नै दिलचोर भयो

ओत लाग्नलाई पुगे म जहाँ
त्यहिँ झन् वर्षा घनघोर भयो

बुनेथ्यौं कथा, चुपचाप हाम्ले,
दुनियाँ जल्यो, क्या शोर भयो

बाँधिएर नै खुशी छु आज
बाँध्ने दुई मुटु प्रेम डोर भयो

Thursday, July 15, 2010 at 9:54pm

जाती हुन्थ्यो

मन यौटा मरिदिए, जिन्दगानी जाती हुन्थ्यो
जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो

न त माया प्रेम खोज्थेँ, न कसैको साथ रोज्थेँ
बसन्त र बहार खोज्ने, मेरा लोभी आँखा छोप्थेँ
अँधेरीमै मन रम्थ्यो, दिन पनि राती हुन्थ्यो

जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो


भौतारिन्छु यता उता, जीन्दगीको लक्ष्य खोज्दै
मनकै पछि पछि लाग्दा, हिड्छु म त बाटो फेर्दै
अटेरी भै हिड्न सके, पाईला मेरो आँटी हुन्थ्यो

जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो


Tuesday, July 13, 2010 at 11:15am

लडेपछि उठ्नु

हिड्नु अनि लड्नु, लडेपछि उठ्नु
टुक्रा भएपनि, एक हुन जुट्नु

रेखै रेखा जालो भरिएछ हात
जालो विच किन हासोँ रेखा छुट्नु

आसुँमात्र दिन्छ जमानाले साथी
बलियो भई तिमी हाँसो खुशी लुट्नु

पत्थर हौ तिमी मुटु छामी हेर
प्रहारमा किन काँच सरी फुट्नु


Tuesday, July 13, 2010 at 11:14am

Thursday, July 22, 2010

मेरो मन

हराएको जून खोज्दैछ मेरो मन
पलाएको शीत रोज्दैछ मेरो मन

अँधेरीमा पनि हिड्न जान्नु पर्ने
पाईला मेरो त्यसै रोक्दैछ मेरो मन

सुख दु:ख हुन्छ भन्थे सरोबरी
कुन कम कुन चैं बेसी जोख्दैछ मेरो मन

एक्लो यात्रा सहज हुन्थ्यो हल्का हुँदा
सम्झनाको भारी बोक्दैछ मेरो मन

अँधेरीमै रम्छ उज्यालो खोज्छु भन्दै
आफ्नै मुहार कालो छोप्दैछ मेरो मन

- २०६७ असार १६, बुधवार

जाबुलानीको पिडा – २

आफै भित्र हावा लिएर फुरूंग छु
उमंगले भरिएर उफ्रिन्छु कुद्छु
आकाशै छुने गरी छलाँग मार्छु

तर गुरूत्वाकर्षणलाइ जित्न नसकी
फेरी भुँइमै थचारिन्छु
प्रहारहरूको बिचमा बजारिन्छु

खुट्टाहरूको दम्भको लडाइँमा
यो कुनाबाट त्यो कुना फालिन्छु
चारकुने परिधि भित्र घुमिरहन्छु

कैले प्रहारको अधिकताले बाहिर पुग्छु
तर मायालु हातले उचालिएर
फेरी भित्रयाइन्छु
त्यही क्रुर खुट्टाहरूको माझमा

Tuesday, June 29, 2010

लामखुट्टे महिमा

कोमल मेरो शरिरमा किन गर्छौ छेडखानी
मन परेन मध्यरात जिस्काउने तिम्रो बानी

रातभरी एकान्तमा बज्छ एक हाते ताली
झनै मख्ख भई तिमी, राग तान्छौ गला तानी

सागरबाट एक थोपा लिँदा दुख हुन्न थियो
चोरी गरी पिडा दिन्छौ जातै तिम्रो बेइमानी

घुम्दा घुम्दै संसार यो, कहाँ पियौ अमृत तिम्ले
काललाई छलि सक्यौ, विष पनि भयो पानी

प्रकृतिलाई मात गरी तिमी भयौ सदाबहार
तराई पहाड जतासुकै उस्तै उस्तै भो कहानी

Tuesday, June 22, 2010

जाबुलानीको पिडा

ए! गोलकिपर !!
जब सप्पै खुट्टाहरू मेरो पछि लाग्छन,
हातको फाइदा उठाउँदै लपक्क समात्छौ

अनि सबै टाढा हुन्छन,
बाँकी रहन्छौँ तिमी र म मात्रै,

एक्कासी..
बुङ्ग !!
लात्ताले फालिदिन्छौ,
त्यही क्रूर खुट्टाहरूको खोसाखोस माझमा

Friday, June 18, 2010

तिम्रो बसमा छैन

संसार त्यागी मर्नु अनि बाँच्नु तिम्रो बसमा छैन
पिर भारी बिसाएर हाँस्नु तिम्रो बसमा छैन

पिर अनि खुशीयाली, थुंगा थुंगा छरिएका
एउटै माला बनाएर गाँस्नु तिम्रो बसमा छैन

समयले नचाउँछ सासँ बाँकी रहुन्जेल
तालमा ताल मिलाएर नाँच्नु तिम्रो बसमा छैन

कैले खोल्छ बाटो यही, कैले बन्छ अवरोध
गाँसिएको नाताहरू भाँच्नु तिम्रो बसमा छैन

आँधिबेहरी चल्छ यहाँ वैलाई जान्छ आशको मुना
पलाउँछ फेरी पनि मास्नु तिम्रो बसमा छैन

Thursday, June 17, 2010

एउटा अर्को देवदास (गजल)

विरहको शेर कोर्नु दिनरातको काम भयो
"एउटा अर्को देवदास" आज मेरो नाम भयो

रावण थियो बलवान वा भईन् सीता बेइमान
पुर्पुरोमा हात राखी टोलाउने राम भयो

समयले निको पार्छ भन्थे सबै घाउहरू
बिर्सेका ति चोटहरू सम्झाउने डाम भयो

मन मन्दिर सजाउने देवी भेटे तिमीमा नै,
भाग्य वैरी भएपछि व्यर्थै तामझाम भयो

खुशी बाँड्थे सबै माझ मुस्कान हुन्थ्यो परिचय
किन दुखी "एकतारे"? चर्चा खुले आम भयो

Friday, June 11, 2010

हिसाब छैन

बोल्यो कि गजल मुक्तक हिसाब छैन ।
पोल्यो कि गजल मुक्तक हिसाब छैन ।।

मनमै रुमल्लिएका ब्यथाहरु कती कती ।
खोल्यो कि गजल मुक्तक हिसाब छैन ।।

माया महँगो भो गरीबी यो दुश्मन मेरो ।
मोल्यो कि गजल मुक्तक हिसाब छैन ।।
(जीतेन्द्र मल्ल )

आफ्नो व्यथा एउटा अर्को छ उनको माया ।
तोल्यो कि गजल मुक्तक हिसाब छैन ।।
(दिनेशराज ज्ञवाली)

दुःख अनि मसी दुवैको रंग छ कालो ।
घोल्यो कि गजल मुक्तक हिसाब छैन ।।
(सबिन सिंह)

Friday, June 4, 2010
साथी जीतेन्द्र मल्लद्वारा शुरू गरिएको गजलमा दिनेशराज ज्ञवालीबाट १ शेर थप गर्नुभएपछि पूर्णता दिन मनलाग्यो र पूर्ण भयो गजल

मेरो दिल जाँच्छु तलाईँ म फेरी

खप्न कति सक्छस् ए दिल तँलाई म जाँच्छु फेरि ।
तैले खोजे जस्तै जाली माया अब माग्छु फेरि ।।

तेरो लागि के के गरेँ, बदलामा दु:ख पाएँ ।
आँसु मेरो देखिएला, पिडा लुकाई हाँस्छु फेरि ।।

मनै मार्ने झेल पनि हुदोँ रै'छ पिरतीमा ।
पिरतीमै मर्न भनी एकचोटी बाँच्छु फेरि ।।

अझै पनि रम्दैछस् तँ कल्पनामा दिन रात ।
अपुरा ती स्वप्न तेरा, परेलीमा साँच्छु फेरि ।।

चुडिँए नि पलाउँने आशा नै हो मेरो भर ।
सपनाका गुच्छाहरू एकचोटी गाँस्छु फेरि।।

June 3, 2010

Tuesday, June 1, 2010

मुक्तक

१.
आज फेरी त्यही इतिहास दोहोरियो ।
चोखो मेरो मनको उपहास दोहोरियो ।।
बनेथ्यो प्रेमी एकचोटि फेरी सबिन,
निर्दयी त्यो दिलको अट्टहास दोहोरियो ।।

२.
मुटुमा गडिएको बुझो जस्तो लाग्छ ।
राखुँ बिझाइराछ, फालुँ भेल बग्छ ।।
दिमाग बोल्छ " उखालेरै फालिदे सबिन"
पागल मुट फेरी उही पिडा माग्छ ।।

३.
मुटुको वेथा पाली शरिर ढल्दैछ ।
माया रेट्ने आरी आरामले चल्दैछ ।।
धोखा त पाएको हैन, तर किन होला,
विनासत्ती मन मेरो दनदनी बल्दैछ ।।

नशा

म उसलाई पिउँदै छु, उ मलाई पिउँदै छ
उ एकछिनमा सक्किन्छ, म विस्तारै सक्किन्छु

तिमी भित्रै भुली सकेँ (गजल)

यति डुबे तिमी भित्र साँस फेर्न भुली सकेँ ।
बाँच्छु अब सँधै त्यहीँ मरण पनि टाली सकेँ ।।

मुटुको यो चार कोठा रमाउने संसार मेरो ।
यहिँ भित्र लाग्छ मलाई, स्वर्ग नर्क डुली सकेँ

विश्वास गर ढुक्क भई , छैन बाँकी रहस्य क्यै ।
खुल्ला किताब तिम्रो लागी, पाना पाना खुली सकेँ ।।

खुशी छु म आफ्नै हारमा, तिम्रो जीत चाह मेरो।
आफैँलाई ठूलो ठान्ने अहंकार ढाली सकेँ ।।

सल्कदैछु विस्तारै म योवनको राप सँगै ।
आगोको के खाँचो भयो, स्पर्शले बली सकेँ ।।

नखोजुन् है अब मलाई, कसैले नि संसारमा
कण कणमा हराएर, तिमी सँगै घुली सकेँ ।।

जन्म नाता भन्दा पनि, मन्को नाता प्यारो मलाई ।
मात्र तिम्रै रहेँ अब, बन्धन सारा छली सकेँ ।।


२०६७ जेष्ठ १४ , शुक्रवार

असिनाहरू...

प्रचण्ड तापमा आफैलाइ सुकाएर
शीतल वर्षाको आशामा
बादलको सिर्जना गर्दै
फक्रने आशामा बसेका पालुवाहरू....
उनिहरूलाई
तहस नहस गर्दै
बर्सिदैँ छन् ६०१ टुक्रा असिनाहरू

Friday, May 28, 2010

संयुक्त गजल

((सुरेश खतिवडा, सबिन सिंह, जितेन्द्र मल्ल=== सुसजी। ))

कैले दिक्क कैले ठीक्क, जिन्दगीको चलन साथी ।
ठीक्क भए ठिकै ठान्ने, दिक्क हुँदा ऐठन साथी ।
दु:ख सुख यै हो रीत, बाँच्नै पर्छ यिनै सित,
अमृत नै निस्कन्छ रे, बिष गर्दा मन्थन साथी ।।
आफू माथि भरोसा नै, उपचार ठूलो यहाँ,
गर्छौ किन बेकारमै, खुशीको नै दहन साथी ।।

सम्झाउँ कती आफैँलाइ, आखिर यो मनै न हो,
जती खोज्छु सुल्झाउन, बढ्छ झनै उल्झन साथी ।।
ईच्छा गरे बाटाहरु, दैवले नै खोल्छन् अरे ,
कर्म गरे फल मिल्छ, सुनेको यै कथन साथी ।।
जिजीविषा तिम्रो हाम्रो पूरा गर्न यो जीवनको,
लागौ हामी गर्न आफ्नो जिम्मेवारी बहन साथी ।।

निराशाको बादल फाट्यो, आशा झुल्क्यो देखें कतै,
तोड्छु अब अधेरीँका, यिनै सबै बन्धन साथी ।
आशा ज्योति बाली राखे अधेँरी त हराउँछ नै ,
जग्मगाउँछ झलमल आफै तिम्रो जीवन साथी ।।
डग्मगाए पाइला तिम्रा, काँध थाप्न सधैं भरी,
आउनेछु म तिम्रै लागि, यही मेरो वचन साथी ।

दोहोरी गजल

जिम्मलः
शब्दकोशै रित्तियो कि? पर्नु पीर पर्‍यो साथी ।
यौटा गजल लेख्न पाए हुन्थ्यो होला कति जाती ।।

तुर्रे कविः
तिमीलाई लेख्नलाई चाहिन्छ कि पिर वेथा ।
दिन्छिन् उन्ले, चढाउ भाई मैयालाई फूल पाती ।।

माया, प्रेम, पिडा, खुशी, सपना र विपना त्यो,
कुनैले नि नभए'सि हेर जून तारा राती ।।

जिम्मलः
ब्यथाको के कमी छ र? मुइँया भाकौ अब मैले,
उन्को साथ भन्दा बरु एक्लोपना रै'छ जाती ।

माया पिरिम् जून तारा सपनाका छाडौ कुरा,
खुशी के हो भुलिसकें, दुखिरन्छ देब्रे छाती ।

तुर्रे कविः
पिडा हाम्रो एउटै हो, पिडा दिने मान्छे फरक।
तिम्रो दुखाई हेर्दा लाग्छ शायद् हो कि? जातै घाती ।।

जिम्मलः
माया भए अरु केही चाहिदैन कि त मित्र ?
खोक्नेहरु अझै खोक्छन् सबैभन्दा माया माथी ।

तुर्रे कविः
चाहेकै हो चोखो माया, लिन दिन सबैले नै ।
अल्झिदिन्छन् सम्बन्धमा स्वार्थहरू नाना भाँती ।

नाटक (गजल)

छोटो छोटो नाटकको रास जीन्दगानी
रास भित्र सच्चाईको आस जीन्दगानी

मन्च माझ उज्यालो र हाँसो छ कहिले
पर्दा अघि अँधेरीको बास जीन्दगानी

अनेक पात्र हुन्छन् साथ तर किन होला
आफ्नो मात्र भूमिका छ खास जीन्दगानी

सोचे जस्तो खोजे जस्तो हुन्न यहाँ केही
हर दृश्य विधाताको दास जीन्दगानी

– २०६७ जेष्ठ २, आइतवार

एक्लो जीवन (गीत)

जून-तारा माझ पनि, किन एक्लो हुन्छ धर्ती
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती

झ्याउँकिरी गुन्गुनाउँछे, सङ्गीतमा छैन सुर
पूर्णिमा नि फिक्का लाग्छ, भए पछि तिमी दुर
गाह्रो हुँदो रैछ काट्न, दिन भन्दा अझै राती
तिम्रो साथ नभए नि मर्ने छैन हाम्रो प्रिती

भीड माझ पनि देख्छु, सँधैं तिम्रो मात्र छायाँ
एकान्तमा हुँदा झनै, घुम्छौ मेरो दायाँ-बायाँ
याद मात्र भएको छ, मेरो आज बाँच्ने साथी
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती

– २०६७ वैशाख २७ सोमबार

यो जीवन (गजल)

भोग्दा भोग्दै थाकेँ धेरै, धिक्कारें यो जीवनलाई
सबैलाइ उस्तै रैछ, स्विकारें यो जीवनलाई

लक्ष्य छैन हिड्छु त्यसै छाम्दै मनका रहरहरू
जता तिर लान्छ बाटो बटारें यो जीवनलाई

गर्नु बाँकी धेरै नै छ कोशिश जारी निरन्तर
एकचोटीको उपहार स्याहारें यो जीवनलाई

अन्त नै हो अन्तिम सत्य बुझेँ अन्त पुगेपछि
सजिएको देख्छु चिता पसारेँ यो जीवनलाई


२०६७ वैशाख २४, शुक्रवार

बन्दको फाइदा...(आफुले देख्या केही छ भने थपुँ है)

सकारात्मक सोचले जीवन सफल बनाउँछ भन्छन् । अब देशमा भईरहेको बन्द, हड्तालका पनि सकारात्मक पक्षहरू
हेर्नु पर्ने भएको छ । कति नेता, पार्टी, वाइसिएल, युथफोर्सलाई गाली गर्नु? बन्दका फाइदाहरू पनि छन् नि ।

कसले भन्छ? बन्दले राष्ट्र अशान्त छ भनेर? काठमाडौं अहिले जति शान्त कहिले छ र? गाडीको कोलाहल छैन, धूवाँ धुलो छैन, बाटोमा आनन्दले हिँडन पाइएको छ । गोपीकृष्ण चोकमा स्वयम्भू यातायातको डर नमानि उभिन पाइया छ । शान्त छ राजधानी अहिले । आफ्नो त भक्तपुर सल्लाघारीको बास छ । ६ लेनको बाटो खन्ने डोजरले रातभरी भुइँचालो ल्याएर निद्रा खल्बलाउँथ्यो । ५ रात भयो आनन्दको निद्रा पाईएको छ । म जस्तो अल्छीलाई बन्द जस्तो आराम गर्ने अवसर अर्को कहाँ पाउनु? न घरका मान्छेबाट केही आपत्ती, न हाकिमबाट गयल भएको कारण सोधपुछ! आनन्दले सुत्यो बस!!

गर्मीको मौसम, मलाई काठमाडौका बाटाहरूमा घुम्न साह्रै रमाइलो लाग्छ । summer time र केटीहरूको dressing ! आहा!! क्या बात । तर मोटो र भद्दा ज्यानमा छोटो लुगा देख्दा मन कटक्क हुन्छ । यस्तै बन्द बेला बेलामा भइराखे त सबै केटीहरू Slim! अनि त आहा मेरो न्यूरोड दरबारमार्गको evening walk ले आँखा प्रसन्न हुन्थे । म त भन्छु US तिर पनि हामी नेपालीहरू गएर बेला बेलामा बन्द गरिराख्नुपर्छ । अनि पाउरोटी खाएर मोटाएका अमेरिकी ज्यान ठेकान लाग्थ्यो ।

बन्दको बेला टुँडिखेल, सानो गोचरन, जाउलाखेल जस्ता खेलमैदानमा मारामार हुँदैन । बिच बाटो मै फुटबल, क्रिकेट, ब्याडमिन्टन खेल्यो टेन्सन नै साफ । अलि Xtreme Sports मा रूची छ भने भिडन्त भएको ठाउँमा जाने अनि boxing, Karate, ढुंगा हान्ने, लाठी ठोकाठोक, दौड आदीमा आफ्नो दक्षता परिक्षण गर्न सकिन्छ । खेलकुद क्षेत्रमा बन्दले गरेको योगदान अमूल्य छ ।

प्रशासन सुधारका कुरा खुब पढिन्थ्यो । कमर्चारी कटौति, Right Sizing आदी इत्यादी । यस्तो बन्द हुँदै गरे त ३/४ कर्मचारी विदामा बस्थे । अब सरकारी अड्डाको काम थोरै कर्मचारीले कसरी चलाउने भन्ने अभ्यास राम्ररी हुन्थ्यो । भ्रष्टाचार पनि कम गर्छ बन्दले, सेवाग्राही मालपोत, यातायात, भन्सारमा आउनै सक्दैनन अनि कसले घुस दिने, कसले लिने??

५ दिन भयो बत्ती गएको छैन । अचम्म यो जुक्ती हाम्रा उर्जा मन्त्रीलाई किन फुरेन, उद्योग धन्दा सबै बन्द गरेपछि विद्युत खपत पनि हुँदैन लोडसेडिङ गर्न पनि परेन ।

आन्दोलनमा माउवादीले जिल्ला जिल्लाबाट मान्छे ल्याएका छन् । उनिहरूको लागि राजधानी घुम्न पाउने यो भन्दा राम्रो अवसर कहाँ पाउनु ? फ्रिमा खाने, बस्ने व्यवस्था, अनि भत्ता सहितको यो आनन्दको राजधानी भ्रमण त्यो पनि इष्टमित्र, आफन्त समेत सुनौलो अवसर दिएकै हो गाउँले दाजुभाई, दिदीबहिनीलाई पार्टीले ।

सबैभन्दा ठूलो फाईदा!
राजधानीका नागरिकले अभाव के हो भन्ने बुझ्दैछन् । आलू १५० धार्नी पुग्दा जिब्रो टोक्नेहरूले यो बुझ्छन कि देशका धेरै ठाउँमा खाद्यान्न पनि पुगेका छैन । गाडी नचलेर हिड्नु पर्दा, सराप्नेहरूले बुझ्दैछन कि मोटरबाटो नपुगेका पनि धेरै गाउँठाउँ छन् यो देशमा । खाद्यान्न, ओषधी, खानेपानी नपाएर कसरी मान्छे छट्पटिन्छन यो देशमा सबैले बुझ्दैछन...

Friday, May 7, 2010

विदा मागेँ (गजल)

चाह हैन तर पनि साथ सँग विदा माँगे ।
लाग्यो शायद मैले आफ्नै साँस सँग विदा मागेँ ।।

माग्यौ वाचा विछोडको, नाईँ भन्न कहाँ सकेँ?
विदाईमा उठेका ति हात सँग विदा मागेँ ।।

नपाएको हैन तर, अघाउन सकिएन ,
अपुरा ति मेरा सबै प्यास सँग विदा मागेँ ।।

के थाहा र? खुशीसँगै, ईक्षा पनि जल्दो रैछ ।
रहर पनि सँगै जले, राख सँग विदा मागेँ ।।

जन्मे एक्लै मर्छु एक्लै, बाँच्ने पनि शायद एक्लै ।
तिमीसितै ज्युँने मर्ने आश सँग बिदा मागें ।

Wednesday, April 28, 2010

समानता

धर्म,
देश,
जाती,
वर्ण,
प्रदेश,
जिल्ला,
क्षेत्र,
गाउँ,
पेशा,
तह,
पद,
परिवार,

सबैमा एउटै समानता,
....

यिनले एउटा मानिसलाई अर्को मानिस सँग नजिक ल्याउँछ
अनि अर्को एउटा मानिस सँग टाढा बनाउँछ

-२०६७ वैशाख १२

सरी Sorry

महिनाको २० गते पुगेपछि मलाई लाग्छ म त क्षमाको भण्डार हुँ । जँहा जे गरेपनि, जसलाई बोले पनि सरी मागेर हैरान । अनि म पनि दानवीर कर्णभन्दा कम कँहा छु र? दिइ हाल्छु माफी ।

मलाई सबैभन्दा मिठो लाग्ने माफी मगाई एउटा महिलाको छ । हुन त म वहाँलाई चिन्दिन । दैनिक कुराकानी हुन्छ तर परिचय गर्न पाएको छैन । वँहा नेपाल टेलिकममा काम गर्नु हुन्छ । मैले प्रत्येक पटक फोन गर्ने प्रयास गर्दा कति मिठो आवाजमा बोल्छिन.."माफ गर्नुहोला, तपाईको ब्यालेन्स रकम कम भईसकेको छ..." आहा..कति मिठो भाषामा मेरो गरिबीलाई घोच्छिन तै पनि म त दानवीर....

बालुवाटारको नेपाल राष्ट्र बैंक अगाडीको एटिएम, मेरो प्यारो छ । बाटोमा पनि पर्छ र राष्ट्रिय ढुकुटी अगाडी भएकोले त्यसप्रति विश्वास पनि लाग्छ अलि बढी । तर महिनाको अन्त्यतिर उ पनि ठुस्किन्छे म सँग । कार्ड घुसायो, सबै प्रकिया पुर्यायो, अन्तमा उ पनि भन्छे..."Sorry, Your account balance is Low" अब यँहा पनि माफी दिन परिहाल्यो ।

मेरी प्राणप्रिय, जसलाई संसारले मेरो गर्लफ्रेन्ड भन्छ । तर म चाँही साथीमात्र भन्न रूचाउँछु । अब सम्बन्धमा पनि महिला पुरूष भनेर किटेर भनिराख्न पर्छ र?
कति हार्दिकताका साथ म भेटघाटको प्रस्ताव राख्छु, अनि भन्छु, बाइकमा तेल छैन..आज यसो काठमान्डौको बाटो नापौं न है...उताबाट जवाफ आउँछ...
"सरी है, हेर न मेरो कस्तो खुट्टा दुखिराछ । अनि घरमा काम पनि छ । आज नभेटुँ न है...सरी ल..नरिसाउ न है"
सबै भन्दा प्यारो मान्छेले माफी माग्दा नदिने कोही छ होला? म पनि अपवाद हैन । :P

Wednesday, April 21, 2010

Tuesday, April 20, 2010

सागर नै भेटनी.....(गजल)


सागर नै भेटेपनी दुईधाराको प्यास मलाई
संसार नै जितेपनि त्यै काखको आश मलाई

आफन्तको चोला भिर्ने धेरै भेटे यो शहरमा
तिमि यौटा नहुँदा नि लाग्छ वनवास मलाई

टाढा तिमी बसेपनी हरपल म सँगै छौ
मनभित्र बसेकी छौ, छुन्छौ आसपास मलाई

गुण तिम्रो तिर्न भनि के नै गर्न सकेको छु
भएको छ ऋण सरी फेर्ने हर साँस मलाई

फेरि पनि एकचोटी प्राण देउ आशिषमा
बोक्न गाह्रो भइरहेछ जीउँदो यो लाश मलाई


– १ वैशाख २०६७, मातातिर्थ औंसी
(मेरी आमाको मायामा...जो प्रत्येक पल मेरो बाटो हेरिबसेकी छिन् )

नविन आशा...(गजल)

सिकी पाठ विगतबाट, अघी बढ्ने सोचहरू
यात्रा फेरी थालेको छु पछ्याउँदै डोबहरू

खुला आँखा राखी हिडेँ, सफर लाग्छ अन्तहिन
पर्खिदैछन् होला कतै, मलाई नौलो खोजहरू

मरभूमी झै उराठ त, सँधैभरी हुन्न होला
पलाएको म देख्दैछु आशाका ति बोटहरू

नौलो किरण छर्दै आयो, यौटा अर्को नयाँ साल
अंक सँगै बढेँ अघि, बिसाउँदै बोझहरू



सम्पूर्णमा नँया वर्ष २०६७को शुभकामना..काठमाडौमा त पानीले स्वागत गर्दैछ नँया वर्षले..पानी पर्नु शुभ संकेत हो भन्छन...आशा छ सबैलाइ राम्रो गरोस...

भैदिन्छु म ...(गजल)

यो गजल विशेष उनीलाई....शंकाले गाँजेको उनको सोच प्रस्ट्याउनै पर्ने भयो, अनि उत्तम माध्यम भनेको गजल ....)

तिम्रो रूप सजाउने कालो गाँजल भैदिन्छु म
आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म

पाईला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै
चालमा तिम्रो ताल मिलाई, बज्ने पायल भैदिन्छु म

रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि
ढुक्क सँग हिँड्नु तिमी छेक्ने बादल भैदिन्छु म

साथ तिम्रो हुनेछु म, जता तिमी लागे पनि
सही गलत थाहा छैन, मुर्ख, पागल भैदिन्छु म

गहभित्र सागर छ, छेक्न गाह्रो पर्ला कतै
परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म

दु:ख सबै लिन्छु आँफै, सुख जति तिमीलाई,
तिमी खुशी, भई नाच, बज्ने मादल् भैदिन्छु म

Tuesday, April 6, 2010

ए ससुरा !!! (गजल)

सिऊँदोमा रातो धर्सा, सिमाना त्यो कोरी देउ ।
ए ससुरा! अरुलाई नै तिम्री प्यारी छोरी देउ॥

मन हेर्ने छैन सुद्दी धन खोज्ने तिम्रो बुद्दी ।
मन मेरो मार्छु अब झुण्ड्याउन डोरी देउ ॥

माया मेरो नगन्नेलाई खानदान हेर्नेलाई।
तेस्लाई ज्वाई घोरी देउ, घमण्ड त्यो फोरी देउ॥

वाचा कसम भाँची दिईन्, दोधारमा बाँची दिईन्।
आँखाबाट पोखी दिएँ, माया मेरो सोरी देउ॥

दिएनन् याँ गरीखान हिडेँ धन कमाउन।
ए खैरे हो! बाँच्ने साथी, योटी भे'नी गोरी देउ॥

श्रद्धासुमन..लोकतन्त्रका योद्धालाई

झुके अग्ला डाँडा काडा, सुस्ताए ति उग्र खोला ।
गयौ तिमी अस्ताएर, ज्योती छर्ने को छ होला ?

जीवन यो घामपानी, एकदिन मरी जानु पर्ने ।
अमर मानव बन्यौ तिमी, धन्य तिम्रो मानव चोला ।।

मानव हौ तिमि पनि, भूलचूक सबै बिर्स्यौँ ।
सम्झी तिम्रा असल गुण, संसार नै साथ रोला ।।

तिम्रा गुण पछ्याउंदै अडिग बने विचारमा ।
महान नेता उही होला जस्लाई तिम्रो गुनले छोला ।।

तिम्रो छवी फैलिरहोस, बिर्सी अन्जान गल्तिहरू,
त्यै छविले बिधमान, देशको सारा मैलो धोला ।।

कर्म गर...(गजल)

एसएलसी दिनेवित्तिकै छुट्टीमा मैले सुखसागर पुरा पढी भ्याएको थिएँ । त्यसले त मलाई पुरै नास्तिक बनायो, तर जीवन बुझ्ने तरिका पनि सिकायो । अहिले सम्म मैले बुझेको जीन्दगी यही हो ।)


कर्म गर फलको आशा नगर भन्थे ।
हात छन् ति तेरा भरमा नपर भन्थे ।।

चुनौती र बाधा कति आउँछ यहाँ ।
मुटु तेरो कमाई पर नसर भन्थे ।।

बेमौसमी फुल्ने सुन्दर् फुल तँ नै होस् ।
मुर्झाएर त्यसै भुइँ नझर भन्थे ।।

प्रकृतिले बनाएकी सबैलाई राम्रो ।
फरक देख्ने दोषी तेरो नजर भन्थे ।।

शरिर त्यो विलाई बाँकी रहन्न केही ।
दुनियाँलाई केही नदिई नमर भन्थे ।।


२०६६ चैत्र ७, शनिवार

बेईमान मन (गजल)

निरस छ प्रेमगीत, जिस्काउँछ रातो गुलाफ
के नै लाग्छ भएपछि आफ्नो मन आफ्नै खिलाफ

ढुकढुकी ताल रहित साँस चल्छ लय विना
प्रेम विना चल्ने किन? पागल मुटु खोज्छ जवाफ

यथार्थ चै बेग्लै तर एक्लै बाँच्ने फुर्ती हेर
हाँसो उठ्छ त्यसै त्यसै, देखी आफ्नो खोक्रो रवाफ

कति पायो कति दियो हिसाब राख्ने छैन चलन
दोष सारा विर्सीएर आफै खोजी हिड्छ निसाफ


२०६६ फाल्गुन २८, शुक्रवार

Saturday, March 13, 2010

गजल

भावना बग्दैन, छैन कि सरिता ।
लेखिन्न गजल, फुर्दैन कविता ।।

अक्षर मातिए, शब्द यी नर्तकी ।
श्रृजना शून्य भै, हेर्दै छु रमिता ।।

विचारको अभावमा मर्दैछ यो मन ।
साँस यो चल्दैछ, तयार छ चिता ।।

भागदौड जीवन, फुर्सद छ कसलाई?
सुस्ताई सुन्छन् की, वचन् यी विनिता ।।

गन्तव्य नपुग्दै, अडिएँ अनि हराएँ म ।
सुस्त म बटुवा, सबै छन् छरिता ।।

विरूप यो खोलभित्र चियाई त हेर ।
सजिएकी देख्नेछौ, हृदय ललिता ।।

तगारो तेर्सिए नि, रोकिन्न यो सफर ।
विद्रोही यो मन, कठोर संहिता ।।

मोन प्रेम

कति मिठो हुन्थ्यो सफर् हिड्न पाए हात् समाती ।
दिन् त कट्यो जसो तसो कसो गरी काटु राती ।।

बोली सुक्छ हात काम्छ तिमी सामु परेपछि ।
उफ्रिन्छ खै किन होला, बेस्सरी यो देब्रे छाँती ।।

कल्पनामै दुल्हा राजा बनी खुबै रमाएथें,
एक्लो पाएँ आँफैलाई, बिपना यो कस्तो घाती ।

हाँस्छौ, बोल्छौ पराई सँग, धुँवा उठ्या कँहा देख्यौ ।
मन मेरो जल्छ यँहा, कुरा खेल्छन नाना भाँती ।।

घाम छाँया दोधारे भो जीवन यो पिङ सरी ।
झुल्नै परे गलाको त्यो पोते बनी झुल्नु जाती ।।

१४ फाल्गुन, २०६६

बल्झिएको रोग

तिमि,
रूघाखोकी हो र?
केही दिन सताएर,
साथ छाडी जाने,
अरूमै रमाएर
कहिल्यै नफर्किने |

तिमि,
म भित्रै सिर्जित क्यान्सर,
छैन कुनै उपचार,
पलपल कणकणमा फैलिदैँछौ,
छैनौ कुनै छेकवार|

तिमि,
मेरो रगतमा रमाएकी
HIV AIDS ,
लागेपछि ज्यानै लिन्छौ,
तर,
नमरुन्जेल साथ पनि त हुन्छौ|

Tuesday, February 16, 2010

पल्केको मन...गजल

आज कुनै भौतिक वस्तुको आश गरेको थियौ होला तर ...यही कोसेली तिमीलाई..तिम्रो पाषाण छाति भित्र मायाको संचार गर्ने कमलो मुटु छ, यसले पक्कै पनि यी भावहरू बुझ्नेछ । उसैको लागी यो प्रणय दिवसको कोसेली...:)

माया मिठो पाएरै हो, पल्केको यो मन ।
फर्किफर्कि त्यतै तिर, ढल्केको यो मन ।।

शरमले हो कि किन चिम्लेकी छौ आखाँ ।
तिम्रै माया ओढी होला, टल्केको यो मन ।।

विछोडको कथा बुनि झस्किन्छु म कैले ।
विनासित्ती कल्पनामै, सल्केको यो मन ।।

फुर्ती बेग्लै देख्दैछु म चंचले यो मनको ।
मायालु यी रानी पाई, झल्केको यो मन ।।

साथ अनि समर्पण पाई धन्य भएँ ।
खुशीहरू आँखाभरि, छल्केको यो मन ।।

– फागुन २, २०६६, प्रणय दिवस

(धन्यवाद चुमजी, जितेन्द्रजी तथा अविरलजीलाई र विशेष धन्यवाद दिपक कथितजीलाई....)

Thursday, February 11, 2010

मै हुँ राम्रो

भिड अघि उभ्भिएर,
बाटो खन्छु भन्ने मान्छे,
भिडलाइ नै भुलेर,
अरूको अवगुण गाउँदै भन्छ
" म हुँ विजयी..मै हुँ उत्तम..."

ममताले जेलिएर थला परेर,
अग्लो कदको मान्छे,
लाज पचाउँदै प्रवक्ता मार्फत भन्छ,
"म के भन्छु भने...मै हुँ राम्रो"

अग्लो कुर्सीमा बसेको,
होचो कदको मान्छे,
छोटो जुगाँले सुन्निएको नाक मुसार्दै भन्छ,
"वर्तमान परिप्रेक्ष्यमा...मै हु राम्रो"
"किनकी म सँग कुर्सी छ..."

माया

जहाँ लाएँ माया ।
कहाँ पाएँ माया?

सुन्ने कोही छैन ।
किन गाएँ माया ?

साथ दिने छ क्वै?
सधैँ धाएँ माया ।।

आश अरू छैन ।
फेरी दाएँ माया ।।

जहाँ पीर झरी ।
त्यहीँ छाएँ माया ।।

Friday, January 29, 2010

गजल

मानापाथी भरि हेरेँ, किलोधार्नी जोखी हेरेँ ।
सुखभन्दा दुखै बढी, आखाँबाट पोखी हेरेँ ।।

कैले सँगै बगी हेरेँ, कैले तर्किएर बसेँ ।
आवेगको बाढी आयो, बाँध छेकी रोकी हेरेँ ।।

सुरलय विना पनि, सुसाउँछ प्रेम गीत ।
बेतालको बाजा मेरो, सयौं चोटी ठोकी हेरेँ ।।

अनेकन चाहनाले तपाउँछ मनलाई ।
बेतुकका चाह मेरा, दहनमा झोंकी हेरेँ ।।

यँहा थपे, त्यहाँ थपे, वहिखाता भर्दै गएँ ।
बेहोशीको चाल मेरो, पीर भारी बोकी हेरेँ ।।

- २०६६ पुस १४
(विशेष धन्यवाद राजनजी र आवाजजी लाई )

Tuesday, January 26, 2010

हार हो की जीत..गजल

तिमीसँग रमाउने, जीन्दगीको सार भयो ।
धेरै धेरै जीत अनि, अलिकति हार भयो ।।

मुस्कान छ प्यारो तिम्रो, रूपरँग नै मोहनी ।
हेर्नलाई आफ्नै आँखा, विच मारामार भयो ।।

कुडिएको मुटु मेरो, सम्हालेर राख्या थिँए ।
माया बोली तीर सरी, छाती वार पार भयो ।।

भावनाका छालहरू, कति रोकेँ कति छेकेँ ।
मदहोश भई गल्ती, मिठो बारबार भयो ।।

मनभरी राज्य तिम्रो, दुःख रम्ने ठाउँ छैन ।
खुशीमात्र बस्ने भए, आँसु अब भार भयो ।।

पूर्णे जून अस्ताएर, औंसी रात छायो किन?
हराएको मुस्कान त्यो, मुटु रेट्ने धार भयो ।।

Thursday, January 14, 2010

आशा...गजल

अल्झेको जीवन , पछि हेरेँ माकुरा म नै हुँ ।
सफलता चुम्ने, सपना ती अपुरा म नै हुँ ।।

उकाली ओराली, सुस्ताउँदै आराम त गरेँ ।
यात्रा अप्ठेरो, बाटो छेक्ने टाकुरा म नै हुँ ।।

दौड रे जीवन, साथी सँगी सबै बढे अघी ।
सगैँ रमाएको, कहानी ती अधुरा म नै हुँ ।।

विगतका सबै पलहरू, सम्झना मिठो छ ।
आश ब्युँताउने, तस्विर ती मधुरा म नै हुँ ।।

निरस जीवन, मरभूमी झै भए, के भो र?
शीत विनापनी, पलाउने आकुँरा म नै हुँ ।।

Sunday, January 10, 2010

आज देखिएका जनावरहरू

सडकमा,
एक हुल भेडाहरू,
गन्तव्यतिर लम्कदैछन,
कुनै भावना, कुनै आक्रोश नराखी
चुपचाप लाम लाग्दैछन ।

चोकमा,
एक हुल चमेराहरू
बाटो छेकी बसेका छन्
चिच्याउँदै, उफ्रिँदै, विद्रोहको आगो बाली
राप तापी रहेका छन् ।

अनि सेतो दुलोमा,
अलि सानो हुल स्यालहरू
आराम फर्माउँदैछन्,
सिनो कुरेर, ढोकामा चुकुल मारी
सुख सुविधामा रमाउँदैछन ।

रातो खोपीमा,
एउटा म परेवा
सानो झ्यालबाट यी हुलहरू चियाउँदै बसेको छ,
साँझ गुँडसम्म कसरी पुग्ने भनी
चिन्ता गर्दै योजनामा डुबीरहेको छ ।

पुष २६, २०६६ आइतवार (नेपाल बन्द)

Monday, January 4, 2010

त्यागको घोषणापत्र

जाडोको मौसम, रापिलो घाम तापिरहेको हामी जोडी । मिठा वात हुँदै थिए, वात कतिबेला वादविवादमा परिणत भयो, होसै भएन । एक्कासी उनी उठिन र घोषणा गरिन करिमा स्टाइलमा " अब देखी म तिमीलाइ कहिल्यै भेट्दिन, I don't want to see you anymore"। आकाश खस्यो, धरती भास्सियो । कुरा बुझ्नै सकिन मैले, चित्त दुखाउने म रिसाउने उनि? कँहाको न्याय हो यो? " म गएँ .... " मेरो मौनताले झन आगोमा घिउ थाप्ने काम गर्यो ।

" I swear to god, i'll never meet you"
"I've no concern With you..."
"I don't need you at all ..."
"You know more than me, ..."

धाराप्रवाह आरोप र त्यागको घोषणा हुँदैथियो । आसुँले आँखा धमिलियो, चित्त भास्सियो । विना गल्तिको कत्रो सजाय । मुखमा ताल्चा लागेको थियो । "you don't understand me at all...." उताबाट थप घोषणा हुँदै थिए । म भने पिडा सागरमा निस्सासिँदै थिएँ । जवाफमा बोली फुरेन, नोटबुक उठाएँ, उनको सबै घोषणालाइ लिपिवद्ध गरेँ र ५ बुँदे घोषणापत्र तयार गरेँ । उनको अघि तेर्साएँ । झम्टेर लिइन उनले र सहिछाप ठोकिन त्यसमा ।

मलाइ घर पुर्याइदेउ । आदेश आयो । चुपचाप उठेँ र पछि लागे । चोकमा छुटिँयौ र आआफ्नो कोठा तिर लाग्यौ ।
कोठामा पुगेको मात्र थिँए । मोबाइलमा एसएमएस आयो ।

"Sory, sory, sorrryyyyyyyy"
अलि साँस आयो, हुदय गती मत्थर भयो, निर बाढी रोकियो । फोन बज्यो ।
"रिसाएको?" प्रश्न आयो, हरे प्रभु म बबुराको के आँट रिसाउने?
"छैन"
"सरी"
"ठिकै छ"
"मैले साँच्चिकै भनेको होला त? घोषणा नै गरेको त हैन नि"
"के थाहा"
"सरी"
"साँच्चिकै नभनेको भए, नभनि दिए हुन्थ्यो नि"
"रिस उठ्यो नि, के गर्नु त?"
अब चै मैले माफ माग्नु पर्ने भयो, मैले बुझेँ, अनि मुटुमाथी ढुंगा राखेर बोले
"Sorry, i'm really sorry"
"हिहिहिहिहिह....ल अब नरिसाउ है, भोली फेरी घाम ताप्न जानु पर्छ"

हरे इमोशनल अत्याचार !!!! घाम भन्दा त उनको रिसनै तातो होला, मैले ताप्ने त त्यही रिस पो हो । डायरी उठाएँ र एउटा कविता कोरेँ । शायद भोली फेरी अर्को लेख्ने "प्रेरणा" मिल्नेछ ;)

"ढुंगा हान्यो, पहाड बनी खस्यो मनमा ।
आगो बाल्दै, नयन तीर धँस्यो मनमा ।।
हेर्दा हेर्दै, पाइला मोडी फर्की हिँड्यौ ।
एकान्त यो, नासुर भइ फस्यो मनमा ।।"

Sunday, January 3, 2010

गजल

जति डुब्यो, त्यती गहिरो
जता तान्यो, त्यहीँ पहिरो

पाइला चल्यो, धर्ती भास्सिन्छ
भाग्य पापी, खन्छ खोइरो

उडन खोजेँ, खोलेँ पखेटा
जता हेर्यो, त्यतै कुहिरो

सनइ धुन, कति सुरिलो
नसुन्ने म, छु कि बहिरो ?

बाटो विच देख्छु तगारो
पछि हेरेँ , खेद्ने धुइरो


२०६६ पुष ८, बुधवार, विहान ८३०

म आत्महत्या गर्दैछु

म आत्महत्या गर्दैछु
किनकी,यो बचाई कठिन बन्दैछ
रहर र खुशी विहिन बन्दैछ
पिडामा दुखी हुन छाडिसकेँ
पिडामै रम्ने बानी पालीसकेँ
यस्तो त हैन जीवन
हुनु पनि हुँदैन जीवन
त्यसैले
म आत्महत्या गर्दैछु

म बाँचेर आत्माको हत्या गर्दैछु
किनकी,
मेरो जीन्दगीले
भावशून्य बनी यान्त्रिकता रोज्दैछ
सखदुख नभोगी एकोहोरो बन्दैछ
परिभाषाभन्दा बाहिर गई,
मेशीनमा परिणत हुँदैछ
खिया लागेको थोत्रो शरिर बिसाउँदैछु
म आत्महत्या गर्दैछु

म अन्तिम पत्र लेख्दैछु
मनको कालो कागजमा पोत्दैछु
असन्तुष्टि र चित्त दुखाइ पोख्दैछु
त्याग्ने संघारमा पुग्दा पनि
मौन भइ चिस्सिनु पर्नेमा
आफ्नो महत्व जोख्दैछु
स्वार्थसँग टाँस्सिएर,
देह त्याग गर्दैछु
म आत्महत्या गर्दैछु ।

२०६६ पुस २, शुक्रवार

पाप गर्न मन लाग्यो

देखेर यौवन तिम्रो, एउटा पाप गर्न मनलाग्यो ।
आफ्नै बनाई, अधरमा सहिछाप गर्न मनलाग्यो ।।

बसन्तको पर्खाईमा उजाड भएको होला रन वन ।
मायालुको पर्खाईमा मुर्झाइ गएको होला तन मन ।।
ब्यूताउन त्यो मन, मायाको राप सार्न मनलाग्यो ।
आफ्नै बनाई, अधरमा सहिछाप गर्न मनलाग्यो ।।

योवनको भोको ठानी रिसाउने पो हो कि ।
साथ दिने वाचा, यतिमै बिसाउने पो हो कि ।।
सात जुनी दास हुने, सराप पाउन मन लाग्यो ।
अग्नी साक्षी राखी योवन वलिदान गर्न मनलाग्यो ।।

Monday, December 14, 2009 at 2:02pm

Popular Posts