Sunday, December 11, 2011

लौ न लौ न (गजल ६७)

लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो
जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो

लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो

के झरेको थियो उता, दुइ बूँद मेरो नाममा
दिल भित्र उर्लिएर यता भने बाढी आयो

फुकी फुकी सल्काएर न्यानो हुन खोज्नेहरू
गुनासो चै किन जब पिरो धुँवा माथी आयो

Monday, October 31, 2011

तिमीलाई सम्झी (गजल ६६)

जानु थियो कतै टाढा फर्कि आएँ तिम्लाइ सम्झी
बाटो छेक्थे जून तारा तर्की आएँ तिम्लाइ सम्झी


कोईला सरी सल्क्यो मन आगो भने पुरानै हो
निभाउन आसुँ केही छर्की आएँ तिम्लाई सम्झी

बोझ सारा लुकाएर बादल भई रम्दै थिएँ
पहाडमा ठोक्के पछि दर्की आएँ तिम्लाइ सम्झी

मायाबाट बच्न भनि बाँचेको थेँ पत्थर बनि
आधा आधा मन गरी चर्की आएँ तिम्लाइ सम्झी

कथा यो मनको (गजल ६५)

पिडा सँगै मुस्काउछ उही कथा जीवनको
मुस्कानमै हराउँछन् दुई धारा नयनको


विछोडमा आँसु झारिन् आँसु सँगै प्रेम भयो
फेरी फेरी बग्दा न्यानो पाउँछु त्यै आँलिगनको


झिल्का काफी कहाँ हुन्छ ज्वालाहरू सल्काउन
गति चर्कै हुनु पर्छ बहकाउने पवनको


भित्ताको त्यो तस्विर हेरी कति बस्नु घर भित्रै
बोलाउँदैछ घरी घरी उषा किरण आँगनको

Sunday, September 18, 2011

मुटु यता फुट्दा खेरी (गजल)

झस्किन्छिन् रे! मलाई सम्झी हिक्का उता छुट्दा खेरी
झंकार उता गुन्जिदिन्छ, मुटु यता फुट्दा खेरी

कहाँ रिस गरे मैले सपनीमा आउँदा खेरी
गुनासो त रहिदियो निदरी यो टुट्दा खेरी

झरी पनि उनी नै हुन्, छाता पनि उनि नै हुन्
ओत मुनि भिज्नु नै छ सम्झनाले चुट्दा खेरी

भिजेका ति आँखामा नै साथी खोज्छ 'सबिन' फेरी
बग्थ्यो होला घाउ पुरै चारा धारा जुट्दा खेरी

Popular Posts