Wednesday, May 1, 2024

अब के?

अब के? व्हाट् नेक्स्ट?

समाजले सफलता भनेर ठहर्‍याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ ।

जिन्दगीमा अगाडी बढ्नुलाई अलि बढी नै क्याजुली लिईएछ । सानै छँदा यसले भविष्यमा केही गर्छ भनेर गुरू, दाइ, दिदी, काका, अङ्कल, अण्टी, छिमेकी, ज्योतिष लगायत समाजका अग्रजहरूले चढाएकै थिए । जिन्दगीमा पक्कै पनि केही गरिन्छ भनेर मख्ख पर्दै अगाडी बढियो ।

पढ्नु भनेको रहर थियो । उत्सुक दिमाग, जे भेट्यो त्यही पढ्यो । अवलोकन गर्न जाँगर थियो । बाटोमा जहिले पनि माथी, दाया बाया  हेरेर हिँड्ने गरिन्थ्यो । आमाले बाट‍ो हेरेर हिँड भनेर धेरै भन्नु हुन्थ्यो । तर भुँइ हेरेर कहिल्यै हिँडिएन । चिउँडोमा अनेकौ पत्र पत्र खत साक्षी छन् । पढियो, जाँच पास गरियो, कहिले फस्ट भइयो, कहिले ड्रप गरियो । जागिर खाइयो, लेखेरै बढुवा भइयो । यसले केही गरिसक्यो भन्ने समाजका अग्रजहरूले अझ्झै यसले केही गर्छ भनेर भन्न छाड्ने त हैनन्? आफूले भने के गर्ने हो मेसो पाउन सकिया छैन ।

कति माथी जाने त? जति माथी गएपनि त्यो माथीभन्दा माथी अरु कोही, अरू केही हुने रहेछ । कति माथी पुगेपछि एक्लो हुने हो? कति माथीसम्म साथीहरू भेटिने हुन् । कति माथी पुगेपछि खुट्टा खान्न छाड्ने हुन्? अब के? व्हाट नेक्स्ट?

यो देशमा सिस्टम छ । सिस्टम मै चलेको छ । रितिथिति भन्दा पनि बेथितिको सिस्टम गज्जबले बलियो गरी चलिराख्या छ । चिन-जान, नाता-ग‍ोता, भन-सुन, हात्ती-बाघ, नेता-चेला सबैको असन्तुलित मिश्रणले काम भन्ने जिनिस चलिराख्या छ । कोकाकोलाको फर्मुला बरू पत्ता लगाउँला यो काम बनाउने फर्मुला चैं क्र्याक गर्न सकिएन ।

अब के? व्हाट नेक्स्ट?

मबाट हुने कामका लागि दु:ख दिन्न । फर्मुला बनाउन्न । सक्ने यत्ति हो । अब के, भन्ने थाहा दिनु जरूरी छ ।


मेरो मुस्कानले खुलोस् तिम्रो हाँसो

मलाइ तिमी, तिमी मलाई यै खाँचो

एउटा दीपले सयौं दीप जलोस्

साँझमा एक आश बिहान सरी बनोस्

Monday, August 21, 2023

गाह्रो छ

 

"गाह्रो छ"
भन्न कति सजिलो छ। सुन्न पनि सजिलो छ ।
भोग्न एकदम गाह्रो हुन्छ । 
 
गाह्रो भइ भोगेको बुझ्न सकिन्न । गाह्रो भएको भोग्नेहरूलाई मात्र थाहा हुन्छ । गाह्रो भएको साँच्चिकै कत्ति गाह्रो हुन्छ ।
 
बा चेन स्मोकर थिए । सानैदेखि अनवरत चुरोट खाएको देखिरहकै थिएँ । किन खाए जस्तो लाग्थ्यो । अलिअलि बुद्धि पलाएपछि मैले सोध्थे, चुरोट किन नछाडेको । उनले भन्थे "टेन्सन भएर" । अनि मेरो सुधो प्रश्न हुन्थ्यो, चुरोटले टेन्सन घटायो कि बढायो त । अनि उनले भन्थे "छाड्न गाह्रो छ" । चुरोट छाड्न गाह्रो भएको हो कि जिन्दगी चलाउने झमेला गाह्रो भएको उनले कहिल्यै बुझाएनन् । 
 
गाह्रो हुनु भनेको मानसिक अनुभूति मात्र हुने रहेनछ । शारिरीक पनि हुन्छ । हड्डी भाँचेर अस्पताल बसेका, स्ट्रोक भएर शरिर हलचल नभइ ओछ्यान मै बसेका परेका परिवारका सदस्यको शारिरीक पीडा देखेकै हो । उनिहरूको गाह्रोपना अनुभूति भएकोजस्तो लाग्थ्यो, तर शायद उनिहरूको गाह्रोको एकांश पनि मैले बुझ्दैन रहेछु । 
 
गाह्रो भएर आफ्नो अगाडी धर्धती रोएको पनि देखेको छु । रून सक्नेहरू भाग्यमानी हुन् । रोएपछि मन हलुका हुन्छ रे । विज्ञानले पनि भन्छ, रोएपछि केही हर्मोनहरू निस्कन्छन्, जसले मगजमा गाह्रोपना अनुभूती गर्ने भागहरूलाई केही राहत दिन्छन् रे । 
 
रून नसकेर गाह्रो हुँदा कति उकुसमुकुस हुँदो हो । सुनाउन पनि नसकिने, देखाउन पनि नसकिने जिन्दगीका तानाबानाहरूले मनको घाँटी कत्ति अँठ्याउँदो हो । के भएको हो भनि चिच्याउँदै भन्दै, हिक्का छाड्दै रून सकिने हो त गाह्रो नहुँदो हो । 
 
जिन्दगीमा हजार तनाव हुनु पर्ने रहेछ । कैयौं तनावबाट भागेर आराम खोजिरहँदा केवल एक तनावको कारण बाँकी रह्यो भने त्यही तनावले निल्दो रहेछ । खाली दिनरात एकै कुरा किन सोची बस्ने? एउटालाई साइड लगाएर अर्को सँग भिड्ने, त्यसलाइ पनि छाडेर फेरी अर्को सँग भिड्ने । भिडेर जित्न सकिन्न । जितिन्न भन्ने थाहा पाएर पनि भिडिरहने, बिच्चमा छाड्ने र अर्को तिर भिड्ने । भिडिरहने, हारिरहने, बाँचीरहने । बच्चाहरूले घ्वाइँ खेल्याजस्तो एकखुट्टाले बुरुक् बुरुक् उफ्री यो कोठाबाट त्यो कोठा सन्तुलन मिलाउँदै पार लाउनु नै जिन्दगी रहेछ । एउटै तनावको घेरामा बाँच्नु हुन्न, उफ्रि रहनु पर्छ, अघि बढि रहनु पर्छ ।
 
गाह्रो नहोस् भनेर सोचीरहनु पनि एउटा गाह्रो हुनु नै हो । गाह्रो कसैलाई नहोस् । कसैलाई गाह्रो परेको जस्तो लागिरहँदा यो मनले पनि अलिकति त्यो गाह्रो बुझिदिओस् । गाह्रो पार्न पनि नपरोस् । गाह्रो कसैलाई नहोस् ।

Thursday, August 17, 2023

जिन्दगी चल्दो छ

जिन्दगी चल्दो छ । चल्नुको नाम गाडी । चल्नुको नाम जिन्दगी ।

खै कसले पैसा बनायो । बनाउने बेलामा त राम्रै सोचेर बनाएथ्यो होला, तर अहिले पैसाको श्रृजना गर्ने आफैले पनि माथीबाट हेरिरहेको भए,आफ्नो श्रृजनालाई धिक्कार्दै होला । अप्पनहाइमरलाई पनि त परमाणु बम बनाएकोमा खुशि त लागेको रहेनछ । पैसा सबै थोक हैन, तर पैसा धेरै थोक हो । अझ्झ पैसा केही होइन, रूपैँया धेरै थोक हो । रूपैँयाले नै जिन्दगी चलाउने रहेछ । हैन,हैन !रूपैँयाले जिन्दगी चलाउने हैन ।  रूँपैया भएन भने चैं जिन्दगी नचल्ने रहेछ । खुशि, हाँसो, वस्तु, अन्न, मनोरञ्जन सबै विक्री हुन्छन् र ती विक्रीको विनियमयको माध्यम रूपैँया हो ।

माया किन्न सकिन्न रे । प्रेम रूपैँयाले किन्न सक्दैन रे । खुशि चैं किन्न मिल्छ कि जस्तो लाग्न थालेको छ । संसार भुलेर संगीतमा डुब्ने माध्यम दुइ छन् अहिले मेरा लागि, एक मोबाइल, अर्को हेडफोन, अनि अर्को एउटा बडेमानको ब्लुटुथ स्पीकर । मोबाइल किनेको हो, हेडफोन उमेशले कोसेली दिएको, ब्लुटुथ उमेशले अमेरिकाबाट आउँदा ल्याइदिएको । औहौ, उमेश भन्ने साथीले मेरो स्वाद बुझ्छन् । ती दुइ उमेशहरू फरक हुन् है । एक उमेश सत्याल, अर्को उमेश आचार्य । मनका कुरा बुझ्ने साथीहरू !

जिन्दगी चल्दा चल्दै रूपैँयाको अभाव भयो भने के गर्ने? फ्याट्ट दिमागले भन्छ, बाउ सँग माग्ने । त्यो सहुलियत मसँग छैन । अनि सम्झेँ साथीहरू! मेरा साथीले मसँग पैसा मागे भने त म खल्ती टक्टकाएर दिन्छु । मलाई भयङ्कर अभाव भयो भने साथीलाई नै भन्छु । साथीले पक्कै दिन्छन् । नदिइ सुख । तर केही साथीले मसँग लगेका पनि छन् । परेका बेला एकवचन दायाँबायाँ नसोची, लु जा त भनेर पैसा दिएका साथीहरूले मलाइ कति मान्दा हुन्? मलाई चाहिँदा किड्नी बेचेरै पनि देलान् नि ।

ईस्स! दिएका दियै हुन् । दशौं पटक अनुनय गर्दा पनि पैसा दिँदैनन् । लु मानौं कि छैन होला । तर आफ्नै अगाडी गाडी फेरेको, व्यवसाय बढाएको देख्दा पैसा छैन भनेर कसरी मान्नु? शायद साथीको पैसा तिर्नु उसको प्राथमिकतामा परेन । कि म साथीमा परिन । यि दुवै कुरा हुन सक्छन् । यी दुवै कुरा मध्य कुनै एक भएपनि चित्त दुख्छ । चित्त दुखे त केही छैन, पैसा चैं आउनु पर्ने । चित्त दुखेको त समयले निको पार्ला, तर पैसा नभएको पीर समयले निको पार्दैन, झन् बढाउँछ ।

उधारो, सापटी लिनेको नाम सम्झदैँछु । कोही फिल्म बनाउँदैछन्, फिल्म रिलिज हुने क्रममा छ । शुभकामना भन्नु छ । कसैको फिल्म रिलिज भएर हिट पनि भइसक्यो । भुवन केसीले बक्स अफिस लागू गर्देका छन्, कति कमायो फिल्मले थाहा हुँदैछ । अर्को साथी फिल्म बनाउन सिक्दैछ । अर्को साथी विदेको भिसा कुर्दैछ । अर्को साथी कहिले जिन्दगीको चिठ्ठा पर्ला कि भनेर थरिथरिका चिठ्ठा ट्राइ मार्दैछ । एउटाले इलेक्ट्रिकल साइकल दिन्छु भनेर सापटी लग्यो, बेपत्ता भयो । तुलाचन भनेका थकाली हुन् अरे । थकालीहरू बेइमान् हुन्नन् भनेर एकजना गोर्खाली दाजुले सुनाउँदै थिए । काली बेइमान् हुन्नन्, बाहुन पनि हुन्नन् । ढकाल, पाण्डे, गौतम, कोइराला, थपलिया, अग्रवाल, गुप्ता कोही पनि बेइमान हुन्नन् ।

मान्छे बेइमान हुन्छ । ती बेइमानका इमान जाग्ला र कुनै दिन त तिर्लान् भनेर कुर्दैछु ।

मेरो जिन्दगी चलिराछ, रोकिया छैन । रूपैँया नभएर जिन्दगी कठिन भएको छैन, असहज चै छ । दिनेले देलान्, फिर्ता दिनेले देलान् । तर साथीले पक्कै दिन्छन् । नदिने त साथी नै भएन नि ।

Sunday, May 9, 2021

मलाई बिहे मनपर्दैन

मलाई बिहे मनपर्दैन । 
 
मैले यो भन्दा खेरि संसार रिसाओस् मतलब भएन, मेरी श्रीमति रिसाउनु भएन । खासमा मलाई बिहे मन नपरेको हैन । मन नपरेको भए बिहे गर्ने नै थिइन । बडो दुःख गरेर, हतार गरेर गरेको पो त । खासमा मलाई बिहेमा हुने जमघट मनपर्दैन । हैन, हैन । जमघट मननपरेको पनि हैन । बिहेको तडक भडक मन नपरेको हो । हाम्रो समाजले उत्सवका रूपमा मनाउने दुइ युवाको मिलनमा देखाउनैका लागि गरिने तामझाम मनपरेको । मेरो यो मननपराई बाँकी संसार छाडम्, मेरै आफ्नै श्रीमतीलाई पनि मन पर्दैन होला । 
 
२०७६ फागुन ३० गते बिहे गरिएको थियो । अलि पछि बिहेभोज गरुँला जस्तो लागेको थियो । तर कोरोनाले देशलाई छपक्कै छोपेपछि त्यो पनि जुरेन । केही समय रोल्पामा क्वारेन्टाइन लागू गर्दै बित्यो । केही समय काठमाडौंमा लकडाउन मनाउँदै बित्यो । अर्को महिना, अर्को साल भन्दै एक वर्ष बित्यो । स्थिति सामान्य भइसके जस्तो लागेको थियो, एक्कासी नयाँ भेरिएन्ट आइपुग्यो । पुरानो कोरोनाले हाम्रो जीवनशैली नै नयाँ बनाइ दिएको थियो, नयाँ कोरोनाले त्यही नयाँ कै बानी लगाउनू भन्ने आदेश दिएको छ। 
 
यत्रतत्र बिरामी छन् । अलि छेउ मै शुक्रराज अस्पताल छ । संसारले टेकु अस्पताल भनेर चिन्छ । हरेक दिन पाँच छ चोटी कर्कश आवाजमा एम्बुलेन्सको आवाज सुन्न पर्छ । हिजो भर्खर थाहा भयो, त्यो साइरन शववाहनको रहेछ । आफन्त, साथी बिरामी परेर आफू पनि बारम्बार त्यही अस्पताल जानु परेको छ । अक्सिजनको कमी भइसकेको छैन, शय्या र आइसियुका लागि पालो कुर्न पर्छ भन्ने चैं थाहा भयो । आइसियुमा कोही मरेपछि अर्कोले पालो पाउने रहेछन् । कसैको मृत्यु, कसैको जीवन जोगाउने अवसर बनिरहेको छ। 
 
साथीहरूको परिवार पनि बिरामी छन् । धेरैजसोलाई कोरोना सर्नुको कारण भनेको बिहे भोज नै हो भन्ने निर्क्यौल छ । एकजना त डाक्टरै हुन् । कोरोना सङ्क्रमण रोकथाममै काम गर्ने गर्छन् । उहाँकै श्रीमती सङ्क्रमित हुनुहुन्छ । बिहे भोज खान जानु भएको रहेछ । अर्को साथीको घरमै बिहे थियो । वर र वधू दुवै पक्षका परिवार बिरामी छन् रे ।
कार्यालयमा पिसिआर परिक्षण गराउनेहरूको लाम छ । त्यो लाम लागेका मध्य लगभग आधाउधि कोरोना सङ्क्रमित भनेर प्रमाणित हुन्छन् । कतिपय अति बिरामी परेर आएकै पनि हुन्छन् । जोखिम सबैभन्दा बढी यहीँ छ । साथीहरू बारम्बार सम्झाउँछन्, यसरी भीडमा नजानु है, फेसशिल्ड लाउनुस्, ग्लब्स खै? बरू गाउन नै लाएर बस्नुस् । धेरैजसो समय यादै हुन्न । आज साथीले फेसशिल्ड हातैमा ल्याएर राखिदिइन् । मैले उनलाई भगवान मानेँ । तेरो जीवन जोगा है भनेर सम्झाउने भगवानै हुन् । ड्युटी अवधि भर पिपिई, मास्कमा बसेका सहकर्मीहरूको आँखाले मात्र चिन्दो रहेछु । उनिहरूले फेसबुकमा राखेको फोटो हेर्दा ट्वाँ पर्छु । दिउँसो देखेको अनुहार र यो अनुहार एकै मान्छेको हो र भनेर । 
 
जिन्दगी चलिराख्या छ । यो चलि नै रहने छ ।
 
अस्पतालमा काम गर्नेलाई पनि विस्तारै मृत्यु सामान्य लाग्दै जाला । समाजमा पनि "ए त्यो पनि कोरोनाले थला परेछ" भन्ने बानी पर्ला । बिहेवारी पनि चलि नै रहला । भोजभतेर पनि बन्द कहाँ हुने हो र? सरकारको एकजना मन्त्रीले भेला नगर्नू है भनिरहँदा अर्का ठूला मन्त्रीले एउटा सिमेन्टको ठाँडो उद्घाटनमा भेला आयोजना गरिरहेकै देखिएकै हो । सरकारले केही गरेन भनेर उफ्रिने प्रतिपक्षका पनि जिल्ला भेलाको फुर्ति नदेखिएको कहाँ छ र?
मलाई जमघट मनपर्दैन । अरूलाई मनपर्न पाउँछ ।
 
मलाई जमघट मनपर्दैन । तर म आफै दैनिक ३०० जनाको जमघट व्यवस्थापनमा आफ्नो रूचीले खटिरहेछु ।
मलाई बिहे मनपर्दैन । अरूले त मनपराउन पाउन्छन् नि ।

Saturday, November 28, 2020

साथीले बडो माया गरेर एकथान ब्लुटुथ हेडसेट पठाइ दिए । बडो गजबको चीज भेटिएजस्तो भयो । तार नलाग्ने, कानमा लगाएपछि बाहिरको केही नसुनिने । संसारबाट हराउन यो बाहेक केही नचाहिने!

यो सँग राम्रो दोस्ती चलिराथ्यो । रोल्पा जाने बेला लान भुलेछु । लगभग डेढ महिना बक्सा मै थन्कियो । 

Sunday, April 19, 2020

जन्मिना साथ मरेको एक कृषक

- लक्ष्मण गिरी
(तिलौराकोट, कपिलवस्तु


+२ पढ्ने ताकाको कुरा हो। क्यालेन्डरमा वि.स. २०५९ चैत्र थियो । १० कक्षासम्म कृषि पढेको थिएँ । सामान्य धान, गहुँ लगाउन भन्दा बेमौसमी तरकारी खेती गरे फाईदा हुन्छ भन्ने सोचेर घरकै वरिपरि ४ कठ्ठा खेतमा तरकारी खेती गर्न सुरिएँ । अलिअलि अनुभव, सीप, ज्ञान थियो तर पैसा थिएन । के गर्ने?

Thursday, February 21, 2019

ओ पहाडिन!

ओ पहाडिन!

तोहार हमार कौन कौन चीज मिलत है?
मन मिलत है
सोच मिलत है
भविष्य कय योजना मिलत है
नाहीँ मिलत है तो
खाली ई नाम कय पिछे आय वाला नाम

पिताजी से जब भेट भए रहा
तब बडे सम्मान से हम
"बुवा नमस्ते" किहे रहेन
ऊ कुछ नाहीँ बोलिन् रहेँ
तूँ ही बाद मे बतायो कि
उ गुस्सा होइ गए रहेँ
"किन मधिसे रोजिस्?"
कहत रहेँ

Friday, May 18, 2018

दाह्रीका कुरा

खै के झोँक चल्यो, दाह्री काटी दिएँ ।

काट्नै पर्ने बाध्यता त थिएन, पाल्ने रहर पनि थिएन । हुन त पालेको हैन, नकाटेको मात्र थियो । काटिदिएँ ।
मायालुले बारम्बार भन्ने गर्छिन्, दाह्री काट्नुस् । 'पैले दाह्री नपाल्दा तपाइँ राम्रो देखिनु हुन्थ्यो, आजकाल त फोहोरी हुनु हुन्छ ।' अब उसलाइ मेरो पारा के थाहा, मान्छे त म सरसफाइ गर्ने हुँदै हैन । कुन दिन उसको आँखा र मन झुक्किएको थियो र मलाइ सफा देखिन्, खै?

भित्री मनको इच्छाले उनीलाइ रिझाउन दाह्री काटेको पनि हुनसक्छ, तर उनीसँग भेटघाट नभएको पनि धेरै भएको छ । आज दाह्री काटेर आजै भेट हुने सम्भावना पनि थिएन । तर जे होस्, यो अनुहार उसैका लागि मात्र पनि त हैन । मेरो चिल्लिएर राम्रो भएको अनुहार अरूलाइ पनि मनपर्न सक्छ नि त ।

Friday, February 9, 2018

मेरो मन तँ पत्थर बन्

"चिया चिसो भो"
सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ ।

बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थाहा, छोरो भर्खरै निँदाएको हो ।
आजकाल निँद्रा हराएको छ । रातभर के के खेल्छ दिमागमा । मलाई आफैंप्रति बडो फूर्ति थियो कि जत्ति सुकै तनाव भएपनि निदाउन सक्छु । हुन पनि जस्तो सुकै तनावपूर्ण अवस्थामा पनि निदाउँथे र आनन्द हुन्थ्यो । तर आजकाल के भएको छ? निद्रा गायब छ । एक शेर लेखिएको थियो गफैगफमा ।

'तिमी आएपछि यी भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथाहरू साँचेर'

भित्ताहरू अब चैं साँच्चिकै बोल्लान् ।

Sunday, January 28, 2018

गुनासो

"नयाँ आउने सरहरू लाइनमा बस्नुस्, लाइन् नमिच्नुस् त"
"यसका लागि नि लाइन बस्न पर्ने हो?"
"हिजो अपरेसन गरेकाहरू लाइनमा बस्न पर्दैन"
"बहिनी एकछिन है, म यहीँ छु"
"टोइलेट कता हो"
 बिसौं मान्छेहरूको भीडमा सयथरि कुराकानी । म भने एकोहोरो मोबाइलमा टुइटर हेरिबसको थेँ ।

"ओइ!"
टाढा कतै सम्बोधन भएको थियो, टाउको एक्कासी उतैतिर घुम्यो । कानले हैन, मनले आवाज चिन्यो । हो उही हो ।
भर्याङ छेउमा उभिएर हाँसिरहेकी थिइन् । मस्त मोटाइछे । कपाल लामो भएछ, रङ्गीन भएछ । तर चिनेँ ।

मैले उसको स्वरूप चिन्ने हैन रहेछ । मेरो मनले उसको उपस्थिती अनुभूति गर्ने रहेछ ।

"के हेरिराख्या? लभ पर्ला फेरि" पहिले पनि मैले एकोहोरो हेरिरहँदा यस्तै भन्थी ।

Thursday, December 21, 2017

Social Media Fever

मान्छेहरू सामाजिक सञ्जालमा आफ्ना बारे धेरै कुरा बाँड्छन् । केहि त यतिविध्न लिप्त हुन्छन् कि, जिन्दगीका हरेक क्रियाकलाप समाजिक सञ्जालमा नराखि बस्नै सक्दैनन् ।

उदाहरणका लागिः कुनै दिन रमाइलोका लागि रेस्टुरेन्टमा गए भने त्यहाँ जानु अघि लुगा छान्ने, लुगा लगाएपछि, जाँदैगर्दा बाटोको, पुगेपछि मेनुको, खानाको, पेयपदार्थको, त्यहाँको वातावरणको, सङ्गीत बजाइरहेको, त्यसमा झुमिरहेको फोटो यत्रतत्र हाल्छन् । फेसबुक, फेसबुक स्टोरी, इन्स्टाग्राम, इन्स्टा स्टोरी, व्हाट्सएप स्टेटस, टुइटर, स्न्यापच्याट आदिइत्यादी सबैठाउँमा उनिहरू के गरिराखेका छन् भन्ने कुराको पलपल खबर पाइन्छ । उनिहरू कतै घुम्न जाँदैछन् भनेपनि यस्तै पलपलका खबर पाइन्छ । प्याकिङ गर्दा देखि गन्तव्यमा पुगुञ्जेलसम्म, यात्रा शुरू गरेदेखि घर नफर्किएसम्मका हरेक क्षणका तस्वीर जताततै पोखिरहेका हुन्छन् । कुनै सामाजिक अवसर जस्तै विवाहमा सहभागि भएका छन् भने त कुरै नगरौं । त्यो समारोह सकिएको हप्तौंसम्म त्यसका तस्वीर बाँडिएका हुन्छन् । हेरिसाध्य छन् र? 

Tuesday, December 19, 2017

सपनाका कुरा

फोटो र ब्लगको कुनै सम्बन्ध छैन
अस्ती देखेको सपनाका कुरा गर्छु ।

ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ । मेरो पछाडी एउटा भव्य भवन पनि थियो । अनुजको कलेजको भवन हुनुपर्छ । त्यो अनुजकै कलेज हो भनेर भन्न चैं सक्दिन किनकी मैले उसको कलेज देखेको छैन । त्यो ठाउँ अमेरिकै हो भनेर ठोकुवा पनि गर्दिन, किनकी अमेरिका पनि मैले देखेको छैन । मैले चिनेको अनुज र अभि हो र उनिहरू अहिले अमेरिकामा छन् । 
अनुजको डेट जानुपर्ने भएकोले म घर फर्किने सुरसारमा थिएँ । ठ्याक्क कलेज पारी ठूलो फ्लाइओभर थियो । म घर जाने बाटो त्यही फ्लाइओभर हुँदै जानुपर्ने थियो । अनि मेरो घर चैं त्यो कलेज भवनबाट नजिकै देखिने गाउँमा थियो । यसो बिचार गरियो । फ्लाइओभर उक्लिएर गाडी चढ्नु भन्दा लखर लखर हिँडेर घरजाँदा बेस हुन्छ । समस्या के भने घर र कलेज बीचमा खेतै खेत छ । म हिँड्न रूचाउन्न, सबैलाई थाहा छ । तर सपनामा भने हिँड्न तम्सिएँ । 

Sunday, December 10, 2017

बिहानी

आजकाल राती चाँडो निद्रा लाग्छ । चाँडो सुतेपछि चाँडै उठिन्छ । म पछिल्लो केही महिनादेखि सूर्यभन्दा पहिले उदाउँछु । उदाउँछु नै त भन्न नमिल्ला, उठ्छु । तर आज भने म सूर्यभन्दा पहिले उदाएँ ।

बिहान ६ बजे नै स्कुटर लिएर घर बाहिर निस्किएँ । काठमाण्डुबाट अझैपनि हिमाल देखिँदो रहेछ । भलै तुँवालो, धूलोले आकाश धमिलो होस्, हिमाल भनेको हिमालै रहेछ । कालो ढुङ्गाको थुप्रोमाथि सेतो हिमालको ढिस्कोको आफ्नो अस्तित्व देखाएर हामीलाइ हाम्रो हैसियत सम्झाउन छाडेको रहेनछ ।

Monday, December 4, 2017

गफ

हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो ।

रमाइलो कुरा के भने, अन्तरवार्तामा चैं 'म बोल्न लजाउँछु' भन्दो रैछु । गफाडी भइएछ । निर्धक्क बोल्दैछु, फेरि 'बोल्न अप्ठेरो लाग्छ' भन्दै रहेछु । आफ्नो गफाडीपन चिन्दैछु बल्ल । मेरा वरिपरी हुनेलाइ थाहा होला, म कति बकबक गर्छु भनेर । मलाइ आजकाल चुप लागेर बस्न गाह्रो हुन्छ, कोही अगाडि पर्यो भने फतरफतर बोल्न मात्र मनलाग्छ ।

Sunday, November 19, 2017

सुनौं

सबै भेद विभेद भन्दा पर बसेर
आऊ हामी सुनौं एकअर्कालाई

न तिमीलाई म बुझ्ने कर होस्
न मलाई तिमी बुझ्ने कर रहोस्

बस्,
तिमी सुनाउ म सुन्छु
म सुनाउँ तिमी सुन्नु

हामी खुलौं एकअर्का सँग

आउ एकछिन सँगसँगै हिँडौं

मिसाउँ हाम्रा बाटाहरू
र मेटाउँ दोबाटो

Friday, November 3, 2017

त्यो भोली आयो

हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनुपर्ने हो तर झनै पहिलेको पीडा सम्झेर मन तर्सिदिने । सम्हाल्नै गाह्रो । धन्न निद्रा चैं लाग्छ र त सुतुन्जेल आनन्द हुन्छ ।

बिहानै झिसमिसेमा निद्रा खुल्नेगर्छ । पूरै जागा हुनुभन्दा पहिलेका केही घन्टा बडो तनावपूर्ण हुन्छ । मन छटपटी रहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । के यथार्थ हो, के भ्रम हो छुट्ट्याउन नसकिने । तर बिहान भएपछि धेरै कुरा ठीक हुन्छ । घाममा जादू छ । अँध्यारो हटाउँछ । हुन त घाम नहुनु नै अँध्यारो हो । अँध्यारोमा घाम देख्न सक्नु पर्ने रहेछ । आराम हुन्छ । 

Friday, October 6, 2017

गजल १०७

बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो
ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो

त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर
"मन सागर हो" त्यसमा लेखिएको थियो

गजल १०६

एक हातमा फूल अर्कोमा छुरी छ
ऊ सँग नै अँगालिन मञ्जुरी छ

टाढा हुँदा माया हुन्छ त्यसैले त
सँगै हिँड्दा छुटिन कै आतुरी छ

Monday, October 2, 2017

त्यैँ लाउँला चोखो पियार - ५

दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो ।

काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै उडिसक्या छैन । आज पानी परेपछि भएको हिलोले भोली बिहान धुलाम्य बनाउने चैं पक्का छ ।

सदा झैं दशैं मनाइएन । नमनाउने खासै केही कारण छैन । बच्चै देखि मनाइएन,  ठूलो भएपछि झन् मनाउने कारण पनि चाहिएन । मामाघरमा दक्षिणा दिने चलन छैन । पैसा नआउने दशैं बच्चालाई के स्वाद? अँ मासु टन्नै खान पाइन्थ्यो । तर नेवारको घरमा मासु नभएको अवसर विरलै हुन्थ्यो ।

Saturday, September 23, 2017

त्यैँ लाउँला चोखो पियार - ४

हिँड्नका लागि कहिल्यै हिँडिएन । गुड्नकै लागि भने धेरै चोटी गुडियो । अरू त के हुनु? लक्ष्य त साथीसँग भेटघाट मात्र थियो । पोखरा जाने कुरा थियो, तारतम्य मिलेन । मान्छे पनि थिए, बाइक पनि थिए, समय पनि थियो । एउटो लाइसेन्स मिलेन ।

हाइवे, हाइवे जस्तो रहेन । ओभरटेक गरम् खाल्डोमा जाकिने डर, नगरम् बाह्र चक्के र टिप्परको चिप्लेकीरे पारामा परिने । धूँवाधुलो मजाले खाइयो । काठमाडौंबासीले धेर गनगन नगरे हुन्छ, हाइवेबासीले उनारू भन्दा कैयौं गुणा बेसि धुँवाले टपिङ गरिएको धूलो खान्छन् ।

गोरखा पुगियो । थाकियो, सुतियो । बिहानै गोरखा दरबार हेर्न जाने कुरा भयो ।

Popular Posts