नयाँ बाइक किने देखि एउटै भूत चढेको छ, यात्राको । साथी विपिन सँग एउटा सल्लाह भएको थियो मौका मिल्ने बित्तिकै हिँडिहाल्ने । शुक्रवार जाने अनि आइतवार विहान फर्किने । शुक्रवार आउन लागेको होस सुद्धा थिएन आफूलाइ भने, बुधवार सोधे विपिनले यसपाली कहाँ जाने भनेर । कहाँ जाने त आफूलाइ पनि थाहा थिएन, कता भन्नु । उनलाई नै जिम्मा दिइयो । नुवाकोट जाउँ भन्ने उनको प्रस्ताव आयो । तर शुक्रवार साँझ नै हाकिम साबको छोराको विहे भोज थियो, भुसुक्कै विर्सिएछ । त्यो झनै छुटाउन नहुने ।
शुक्रवार साँझ सम्म पनि जाने नजाने आफैं दोधारमा थिएँ । तर विपिनलाई भने जसरी पनि जानै पर्छ भनेर कर गर्दै थिएँ । विहानै ६ बजे उठ्ने, अनि साँझ ९ बजेसम्म काठमाडौं फर्किसक्ने योजना बन्यो ।
शनिवार विहान निद्रा खुल्दा ७ बजिसकेको रहेछ । मोबाइल हेरेँ, विपिनको फोन आइसकेको रहेछ । हतार हतार क्यामेरा झोलामा हाल्न खोजेँ, तर क्यामेरामा ब्याट्री एकदम कम रहेछ । अब चार्ज गर्नै पर्यो । चार्जमा राखेर चिया पर्खन थालेँ । अरू बेला विहान उठ्न नपाउँदै चिया खुवाउने घरका मान्छेहरू आजको दिन चै ढिलो गर्दैथिएँ ।
यताउति गर्दा ८ बजिसकेको थियो । विपिनलाइ फोन गरेँ, सुकेधारा भेट्ने कुरा तय भयो । हतार हतार लुगा फेर्न थालेँ, दिदी टुप्लुक्क आइ पुग्नु भयो । वहाँलाइ पनि कमलादी सम्म छोडी दिनु पर्ने भयो । रिसै उठ्छ कैले त, हतार भएकै बेलामा किन काम पर्छ मान्छेहरूलाइ । कमलादी घुमिवरी सुकेधारा पुग्दा ९ बजिसकेको थियो । अब विदुरसम्म जान कुन बाटो जाने भन्ने तय गर्नु थियो । मेरो दिमागमा जाँदा गल्छी हुँदै जाने र फर्किँदा ककनी हुँदै आउने भन्ने थियो । विपिनको सहमती भयो यसमा । यसपछि हाम्रो आतिथ्यता गर्ने साथीलाइ खबर गर्यौं ।
कलंकी कटेपछि नै बाईको ब्रेक थिच्न गाह्रो परेको महशुस भयो । विहान देखिको खाली पेटले ताकत हराएको हो कि ब्रेक नै बिग्रको हो छुट्टयाउन सकिएन । तर शिघ्र नै आफ्नो ईन्धन भर्नुपर्ने अवस्थाको ज्ञात चै भयो । बाइकको ट्यांकी पनि आधा मात्र भरिएको थियो । कलंकी अगाडी पुगेपछि एउटा पम्पमा पेट्रोल बाँड्न लाग्या रैछ । तर बत्ती नआएसम्म नदिने भए, १० मिनेट कुर्न पनि गाह्रो पर्यो मलाई, अगाडी पाइहालिन्छ किन कुर्नु आखिर? तर दुर्भाग्य अगाडी कतै पेट्रोल पाइएन । नौबिसेसमम पुग्दा पनि समस्या यही थियो, बत्ती नभएसम्म पेट्रोल नपाईने । नौबिसे पुगेर हल्का खाजा खाँदै थियौ, रोमाकान्तको फोन आईहाल्यो "कता छौ" भन्दै । अब साथी हामीलाई कुर्दाकुर्दै आत्तीए होलान् भनेर गफ लगाईयो, गल्छी पुगियो भनेर । तर आफ्नो झुटोमा आफै फसियो । साथीहरू त गल्छी पुगेर हामीलाइ कुर्दै रहेछन् । बतास झै कुदियो अनि त । ब्रेक बिग्रेको चिन्ता पनि रहेन । पछाडी बसेका विपिनलाई शायद डर पनि लाग्यो होला त्यती बेला । रोमाकान्तले पहिले नै भनेका रहेछन् "सबिनको कुदाइ हो, गल्छी पुग्न बेर लाग्दैन" अब साथीको कुरा राख्न भएपनि कुदाउन त पर्यो नि...खुला बाटोमा २०० सिसीको एभेन्जर कुदाइयो मज्जाले ।